स्वास्थ्य सामग्री खरिदमा अख्तियारले थाल्यो छानबिन

 

 

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । बिहीबारदेखि उजुरीमाथि छानबिन थालेको अख्तियारले दिउँसो श्रेष्ठसँग अनौपचारिक रुपमा बयान लिएको हो ।

‘यो उजुरीमाथिको प्रारम्भिक छानबिन हो, त्यसैले बयान भन्ने शब्द प्रयोग नगरौं, हामीले उहाँसँग सोधपुछ गरेको हो’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘उहाँले आफ्ना कुरा बताउनुभयो। हामीले सुन्यौं। उजुरीका साथ प्राप्त प्रमाण हेछौं। मन्त्रालयबाट पनि केही कागजात पाइसकेका छौं।’

श्रेष्ठले अख्तियारमा उपस्थित भएर बयान दिएको विषयलाई अख्तियारको सुरक्षास्रोतले पनि पुष्टि गर्‍यो। सुरक्षास्रोतका अनुसार विभागको गाडीमा अख्तियार पुगेका उनी केही घण्टा बसेर बाहिरिएका थिए। उक्त स्रोतले पनि उजुरी प्रारम्भिक चरणमै भएको पुष्टि गर्‍यो। उसले भन्यो, ‘स्वास्थ्य मन्त्रालय हेर्ने अख्तियारको महाशाखाले नै छानबिन अघि बढाएकाले यो विषय प्रारम्भिक हो भन्ने बुझ्नुपर्छ।’

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले अनुसन्धानको चरणमा रहेको विषय प्रवक्ताको जानकारीमा नहुने भन्दै केही प्रतिक्रिया दिन नमिल्ने बताए। ‘अख्तियारको नियमित काम रोकिएको छैन, अनुसन्धानको विषय मलाई नै थाह छैन, कसरी तपाईंलाई भन्नु’उनले भने, ‘त्यसमाथि म आज दिनभर बाहिरतिर थिएँ।’

 

Facebook Comments