सरकार तिमी जनताको लागि राज्यकोष खर्च गर्दा सम्पुर्ण ढुकुटी सकिन्छ जस्तो नसोच। “मनोज घिमिरे”

मनोज घिमिरे,
चितवन, चैत्र २० । विज्ञान तथा सूचना प्रविधिको विकास सँगै सिङ्गो विश्व अत्याधुनिक युगमा मस्त थियो। विश्वको महाशक्तिशाली राष्ट्र बन्ने दौडमा फरक फरक देशबीच शीतयुद्ध नै चलिरहेको थियो। सोही अवस्थामा एक्कासी प्रवेश हुन्छ आँखाले पनि देख्न नसकिने सूक्ष्म भाईरसको। सन २०१९ डिसेम्बर ३१ तारिकका दिन पहिलो पटक सो भाइरसको केस फेला पर्छ। केही हजार मानिसको शरीरमा प्रवेश गरिसकेपछि उक्त भाईरसको न्वारन गरिन्छ नोभेल कोरोना भाईरस। सो भाइरसको संक्रमणका कारण कोभिड १९ रोग लाग्ने वैज्ञानिकको टोलीले निक्र्योल गर्छन्।

चीनको वुहान शहरबाट आफ्नो राक्षसी अवतारमा सिङ्गो मानवजाति माथि धावा बोल्दै आक्रमण सुरु गरेको कोरोना भाईरसका कारण आज विश्व स्तब्ध छ। हिजो वुहानमा कोरोना भाईरसको कारण त्यहाँका नागरिक नाटकीय रूपमा संक्रमित हुँदा अमेरिका लगायत युरोपेली देशहरू चाईनिज भाईरस भन्दै हाँसोको खित्का छोडन पनि पछि परेनन। उनीहरू चीनसँगको भौगोलिक दूरी भएकै कारण आफूलाई पूर्ण सुरक्षित महसूस गरिरहेका थिए। सूचना, सञ्चार र प्रविधिका कारण सानो ग्लोबल भिलेज साबित २१ औं शताब्दीको विश्व कोरोना भाईरसलाई पनि निकै छोटो समयमा ग्लोबल भिलेज नै बन्यो। हिजो जिस्किएका शक्तिशाली राष्ट्रहरु आज उही सूक्ष्म भाईरसका कारण लडाइँको मैदानमा आत्मसमर्पण गरेको सिपाही जस्तै विवश बनेका छन्।

 

हरेक देशहरू आफ्ना नागरिकको ज्यान बचाउन हर सम्भव प्रयास गरिरहेका छन्। यो लेख तयार पारुञ्जेल विश्वमा नौ लाख पैंतिस हजार नौ सय सन्ताउन्न जना मानिस कोरोना भाईरसबाट संक्रमित बनिसकेका छन् भने सत्चालिस हजार दुई सय पैंतालिस जनाले ज्यान गुमाइसकेका छन्। ह्वाइट हाउसले भर्खरै गरेको प्रक्ष्येपण अनुसार भाईरसलाई नियन्त्रण गर्न नसके अमेरिकामा मात्रै दुई लाख चालिस हजार बढी मानिस सो रोगको संक्रमणका कारण हताहत हुन सक्ने अनुमान गरेको छ। यो भाईरस विरुद्धको लडाइँलाई जित्न विश्वका एक से एक वैज्ञानिकहरू भाइरस प्रतिरोधी खोप बनाउन दिन रात नभनी लागिरहेका छन् तर पनि नतिजा शून्य छ।

 

वैज्ञानिकहरूले मानिसमा सो रोगको प्रतिरक्षा प्रणाली विकास हुन अझै कमसेकम पनि दुई वर्ष लाग्न सक्ने अनुमान पनि गरेका छन्। यता, अलजजिराका अनुसार विश्व को करिब एक तिहाइ जनसंख्या हाल लकडाउनमा छन्। यहि लकडाउन मात्र विश्वभरका मानव समुदायलाई महामारीबाट बचाउन सक्ने एक मात्र उपाय बनेको छ। सम्पन्न देशहरूले यस असहज परिस्थितिको मध्यनजर गर्दै आफ्ना नागरिकका लागि विभिन्न राहतका प्याकेजको घोषण गरिरहेका छन्। अमेरिकाले मात्र २ ट्रिलियन अथार्त बीस खर्ब डलर राहत प्याकेज घोषणा गरेको छ।

 

नेपालमा पनि हालसम्म ५ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ। संक्रमण धेरैमा नफैलियोस भनेर सरकारले लकडाउन गरेको छ। तर हामीमध्ये केहीले लकडाउन पालना गरिरहेका छैनौं। सरकारले गरेको लकडाउनका कारण दैनिकी निकै असहज पनि बन्दै गएको छ।

जनताले सामना गर्नुपरेको असहज परिस्थितिलाई सम्बोधन गर्न नेपाल सरकारले पनि केही राहतका कार्यक्रम ल्याएको छ। घरबेटीले घर भाडा मिनाहा गर्नु पर्ने, निजि विद्यालयले चैत्र महिनाको शूल्क लिन नहुने, यस्तै यस्तै। सरकार तिमी मलाई उत्तर देऊ, म मेरो घरमा बस्नेसँग घर भाडा लिन्नँ । ठिक छ तर के उनिहरूलाई त्यतिले पुग्छ? अनि तिमी उनीहरूको खालि पेटलाई कसरी र कहिले सम्बोधन गर्छौ ? सरकारले चाहीँ जनतालाई के दिने नि? हाम्रो देश सानो छ अनि हामि गरीब छौ। ठिकै छ। सरकार यो पनि मान्छौं। मलाई बजारमा अत्यावश्यक सामग्री उपलब्धताको लागि सहजीकरण कसले गर्ने हो ? अनि उपचार त राम्रो पाउन पर्यो नि। आज ज्वरो आएका बिरामीले उपचार नपाउने? अलिकति जोरो आउने बित्तिकै क्वारेनटिनमा राख्ने अनि उपचारको अभावले सामान्य बिरामीले ज्यान गुमाउन पर्ने। यो कस्तो विडम्बना ? के कोरोना भाईरसको संक्रमण भए उपचार त पाहिन्छ ? उस्तै परे अन्य कारणले ज्योरो आए पनि जाँच्न जान डर भैसक्यो। कतै त्यसै आइसोलेसन वार्डमा राखिदिएर उपचार बिना ज्यान गुमाउन पर्ने त होइन भनेर। सरकारको विरोध होईन यो। जनताले खोजेको सरकारको उत्तरदायित्व हो। सरकार तिमी जनताको लागि राज्यले खर्च गर्दा सम्पुर्ण ढुकुटी सकिन्छ जस्तो नसोच। उपचार भरपर्दो बनाऊ। सिङ्गो देशको बजेट खर्च गर। जनता बचाऊ। जनता बाँचे पो देश रहन्छ अनि देश रहे एक दिन जनताले आफ्नो देशको विकासका लागि पुनः योगदान गर्नेछन्।

 

अनि हामी जनता, हामी पनि कहाँ असल छौं र। हुन त अभिभावक जो गलत दिशामा छ भनेर हामी पन्छने प्रयास गरौंला तर सधैं सरकारलाई गलत देखाएर हामी यो असहज परिस्थितिमा चोखो रहन सक्दैनौं। आज ज्यालादारी गरी आफ्नो भोको पेट पाल्ने गरीब जनतामाथि के तपाई हामीले न्याय गरिरहेका छौं ? तपाई हाम्रो समाजमा रहेका कति दुःखी परिवारलाई हामीले दुई छाक खाना सहयोग गरेका छौं ? सहयोग त अझ परै जाओस उस्तै परे कसैले राहत वितरण गर्दा कुदेर अग्गिलो लाईनमा हामी नै पुग्यौं होला। हो, कोहि कसैले केही राहत वितरण गरेपनि त्यो पलमा ती दिन दुःखीलाई अझ दुःखी देखाउदै सेल्फी खिचेर सामाजिक सञ्जालको भित्ता नै रंगिन बनाउछौं। सहयोग होइन हामी उनीहरूको विवशताको भद्दा मजाक गरिरहेका छौं। अन्तिममा मलाई सामाजिक सञ्जालमा एक आदरणीय व्यक्ति कृष्ण तिवारीले लेख्नुभएको स्टाटस याद आयो, ‘मानसिक दरिद्रहरुको लागि जनहितमा जारी, कृपया सरकारी राहत थाप्न जादा घाँटीमा झुण्डिएको सिक्री खोलेर जानु होला।”

Facebook Comments