कोरोना संक्रमणका हिसाबले नेपालमा केहि साता चुनौतीपूर्ण

 

 

नेपालमा पहिलो पटक कोभिड- १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड- १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन्। बन्दाबन्दी ‘लकडाउन’ को आज १२औँ दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड- १९ देखिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो।

आज एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण देखिएको छ। मुम्बाइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा देखिएको हो। महिला भने यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कम्युनिटी ट्रान्समिसनलाई सङ्क्रमणको दोस्रो चरण बताएको छ। पहिलो चरण सङ्क्रमितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको कोभिड- १९ परीक्षण गर्नुपर्ने बताउछन्। ‘पहिले हामी पहिलो चरणमा रहेका थियौँ। नेपालमा नै रहेका व्यक्तिमा कोभिड- १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ’, उनले भने, ‘विदेशबाट आएका मानिसमा मात्र होइन। अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ।’

उनले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा सङ्क्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले विदेश र भारतबाट प्रवेश गरेका सबैको को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने बताए।

Facebook Comments