/प्रदेश ५ मा कोरोनासम्बन्धी सूचनाका लागि एकीकृत प्रणाली

प्रदेश ५ मा कोरोनासम्बन्धी सूचनाका लागि एकीकृत प्रणाली

 

 

प्रदेश ५ सरकारले १ सय ९ वटा स्थानीय तहसँग कोरोना भाइरस (कोभिड–१९) सँग सम्बन्धित विवरणको एकीकृत संकलन अभियान थालेको छ।

प्रदेश ५ कोभिड-१९ स्थानीय तह विवरण संकलन प्रणालीमा आफूसँगै विदेशबाट आएका व्यक्तिहरूको संख्या, क्वारेनटाइनमा बसे नबसेको विवरण, लकडाउनका कारण हाल बेरोजगार तथा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरूको संख्या लगायतको तथ्यांक भर्ने व्यवस्था गरिएको छ। यसले कोरोना नियन्त्रण तथा राहत व्यवस्थापनका योजना बनाउन सहज हुने सरकारले विश्वास लिएको छ।

मुख्यमन्त्री कार्यालयले मंगलबार एक प्रेस वक्तव्य जारी गरी स्थानीय तहलाई यो सूचना प्रणालीमा सामेल हुन आह्वान गरेको छ। सञ्चार प्रविधिको प्रयोगले स्थानीय तहहरूबाट प्राप्त विभिन्न सूचनाको प्रदेशस्तरबाट विश्लेषण गर्ने प्रणालीको निर्माण गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

सूचना प्रणालीलाई प्रदेशभित्रका सबै स्थानीय तहहरूले ‘पी–फाइभ रिपोर्ट डटकम’मा गएर विवरण पेश गर्न सक्नेछन्। जसका लागि सबै स्थानीय तहहरूलाई युजरनेम र पासवर्ड उपलव्ध गराइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यस प्रणालीबाट स्थानीय तहमा क्वारेन्टाइन बेड संख्या, आइसोलेसन बेड तथा त्यहाँ रहेका व्यक्तिहरुको बारेमा सूचना पठाउन सकिनेछ। बिक्री नभएर खेर जाने स्थिति भएका दैनिक उपभोग्य वस्तुको विवरण समेत पठाउन सकिने व्यवस्था मिलाइएको छ। यसले किसानको मर्कालाई पनि सम्बोधन गर्न सकिने प्रदेश सरकारको अपेक्षा छ।

Facebook Comments