प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन, लकडाउन अपरिहार्य कदम भएको जानकारी ।

नेपालमा कोरोनाभाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै तीन सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका हुन्।

उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन्।

उनले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गरे।

उनले सुरक्षाकर्मी तथा जनप्रतिनिधि तथा स्वयंसेवीहरूको कामको प्रशंसा गरे।ओलीले यतिखेर क्वारन्टीनमा ९,१६१ जना रहे पनि देशभरि ३०,५६७ लाई राख्न सकिने क्षमता रहेको बताए।त्यसैगरी ३,२०५ जना आइसोलेशन शय्या भएकोमा अहिलेसम्म त्यसमा ९५ जना रहेको बताए।

कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न आग्रह गरे।सीमामा रोकिएका नेपालीहरूबारे सरकारले ‘उचित कदम’ चालेको भन्दै उचित समयमा पुन: जाँच गरेर नेपाल भित्र्याइने उनले बताए।

आगामी दुई साता ‘थप चुनौतीपूर्ण’ भएको बताउँदै उनले र्‍यापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना सुनाए।सम्बोधनका क्रममा ओलीले क्वारन्टीन अवधि पूरा गरेका व्यक्तिको पुन: परीक्षण गरिने जनाए।

यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने उनको भनाइ थियो।

ओलीले सामान्य वा असामान्य अवस्थामा सरकारका काम विधिसम्मत हुनुपर्ने बताए। तर काम नै गर्न नसक्ने अवस्थाको सिर्जना सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्न नहुने बताए।

Facebook Comments