लकडाउन र यसबाट हाम्रो घरवरिपरी रहेका कुकुरहरुलाइ पारेको प्रभाब अनि हाम्रो कर्तब्य। “श्रद्धा अधिकारी”

 

लकडाउन र यसबाट हाम्रो घरवरिपरी रहेका कुकुरहरुलाइ पारेको प्रभाब अनि हाम्रो कर्तब्य।

श्रद्धा अधिकारी
बिध्यार्थी ,
सामाजिक अभियन्ता तथा पशु प्रेमी

कोभिड-१९ को त्रास झनै बढे सँगै लक-डाउन पनि लम्बिदै छ। बढ्दो कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले आज फेरि लक-डाउन लार्इ लम्ब्याउँदै वैशाख ३ गते सम्म पुर्याएको छ। यस्तो लक-डाउन ले दिन दिनै काम गरेर ज्यालामा बाँच्ने मजदुर र उसको परिवारलाई हम्मे हम्मे बनाएको छ। यद्यपी, स्थानीय सरकार सँगै केही सहयोगी मनहरुले गरीब तथा विपन्न परिवार माझमा सक्दो राहत लैजाने प्रयत्नहरु गरिरहेका छन्। हुन त यस्तो बेला मान्छेलाई आफ्नो हात मुख जोड्न धौ धौ परिरहेको छ र धेरैको ध्यान यो समस्या तर्फ केन्द्रित भएको पनि छ तर यस्ता समस्या तर्फ मात्रै ध्यान मोडिदा हामी मानवहरुले आफ्नो सबैभन्दा ठूलो साथीलाई भने फिटिक्कै विर्सिरहेका छौँ। मानव संरक्षण सधैँ पहिला हुनु पर्छ र हुन्छ पनि तर त्यसमा ध्यान केन्द्रित हुँदा पशु संरक्षणका कुराहरुलाई कदापी बिर्सनु हुँदैन। सकिन्छ भने दुवैको संरक्षणलाई उत्तिकै महत्वका साथ लिनु पर्छ। कुकुर भनेको मान्छेको सबै भन्दा वफादार साथी भनेर सानै देखि पढ्दै आइरहेका छौँ। राम्रो सँग हेरविचार गरी माया र स्नेह दिन सके सडकमा आश्रित हुने हाम्रा लोकल नेपाली जातका कुकुर हरु पनि अत्यन्तै राम्रो हुन सक्छ। मात्र, मान्छेको हेर्ने र विदेशी जातको कुकुरहरु सँग भिन्नता गर्ने दृष्टिकोण हटाउन जरुरी छ।

हाल चितवनको भरतपुर महानगरपालिका मा बस्दै आइरहनु भएका श्रद्धा अधिकारी पशु प्रेमी हुनुहुन्छ। दिउँसो लक-डाउन को कडा चेक-जाँच को कारणले गर्दा वहाँ बिहान सबेरै उठेर बाहिर निस्कनु हुन्छ। मुखमा मास्क र दुई हातमा सेतो पञ्जा लगाई कोभिड-१९ को संभावित संक्रमणबाट छल्दै नारायणगढको नारायणी तीर हुँदै राजमार्ग छेउछाउ क्षेत्र सँगै भित्री क्षेत्रहरुमा गई त्यहाँ रहेका सडक कुकुरहरुलाई ख्वाउने गर्नु हुन्छ। आज लगभग लक-डाउन को १४ औं दिन चलिरहँदा वहाँ भने दिन दिनै सडक कुकुरहरुलाई ख्वाइरहनु भएको छ। अहिले त नयाँ समुदायको मानिसहरुले पनि वहाँलाई चिन्न थालिसकेको छ। नारायणीको तीर जाँदा कुकुरलाई ख्वाउन अर्कै साथी हुन्छ भने कुनै अर्कै समुदायमा जाँदा उक्त समुदायबाटै एक-दुई जना सहायताको लागि आइदिनु हुन्छ। तर यत्तिका कुकुरहरुको खाने र पिउने व्यवस्थाको गर्न भने त्यत्ति सहज नभएको बताउनु हुन्छ वहाँ। “नजिकका केही साथी भाईहरू द्वारा गरिएको केही सहयोगका साथै आफ्नो जागिरबाट आएको तलबको केही अंश सडकका कुकुरहरुको भोक मेटाउन उपयोग गरेको छु।”, श्रद्धा भन्नु हुन्छ, “भरतपुर महानगरपालिकाले यस्ता क्षेत्रहरुमा खास्सै ध्यान दिन नसक्नु आफैँमा दुःखको कुरा हो।” यो लक-डाउन को समयमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले जस्तो चितवनका नगरपालिकाहरुले समाजको यो क्षेत्रमा खास्सै चासो नदिएको गुनासो पोख्नु हुन्छ। श्रद्धा अधिकारी अहिले चितवनमा जागरुक रुपमा पशु कल्याणको लागि काम गरिरहेको संस्था एनिमल राइट्स क्लब (आर्क) मा पनि आवद्ध हुनुहुन्छ। आर्क ले हाल लक-डाउन अवधिभर भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका सडक कुकुरहरुलाई ख्वाउने कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।

अहिले लक-डाउन को बेला हामी धेरै समय कवाराइन्टाइन मा आफ्नै घर भित्र छौँ तर हाम्रो घर वरिपरी हिँड्ने अनि हाम्रो समुदायलाई बाहिरी मान्छेहरुबाट रातदिन संरक्षण गर्ने गरिरहेका हाम्रा समुदायका कुकुरहरुलाई भने हामीले वेवास्ता गरिरहेका हुन सक्छौँ। घर वरिपरीको मासु पसल, अन्य खाद्यान्न पसल तथा दाताहरुको सहयोगमा अहिले सम्म आश्रय लिइरहेका सडकका कुकुरहरुलाई यस लक-डाउन ले अत्यन्तै गाह्रो बनाइदिएको अवस्था छ। न खानलाई केही हुन्छ न यस्तो गर्मीमा पिउनलाई पानी पाइन्छ। यस्तो समयमा हामीले आफ्नो घर छेउछाउ रहेको कुकुरहरुलाई आफूले सक्दो खाने कुरा दिएर मानव हुनुको सानो जिम्मेवारी पूरा गर्न सक्छौँ।

Facebook Comments