/हावाको पछाडि दौडिने नेपालीको बानी “रुक्मिनी सापकोटा”

हावाको पछाडि दौडिने नेपालीको बानी “रुक्मिनी सापकोटा”

 

रुक्मिनी सापकोटा
स्मल हेभन मोडेल स्कुलकी शिक्षिका
                  एबम
साइकल तथा सरसफाइ अभियन्ता।

हावाको पछाडि दौडिने नेपालीको बानी र यसमा                      सोसल मिडियाको भूमिका

 

विश्व अहिले कोरोना भाइरसबाट त्राही त्राही भएको बेला नेपाल सरकारले पनि आफ्नो जनताको जीवन बचाउन देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ । तर यहाँका केही मानिसहरु अनेकौ बहाना गरेर बाहिर निस्कने घुम्ने गरिरहेका छन् । मानौं हामी अन्य बेलामा पार्टीहरुले गरेको विरोध कार्यक्रमलाई अवज्ञा गरेजस्तै गरी । सुरक्षाकर्मीले देखेसम्म त्यस्तालाई नियन्त्रणमा लिने पनि गरेको छ । विश्वमा नै यो भाइरसबाट वच्न एक मात्र उपाय भनेको लकडाउन हो । लकडाउनको अर्थ कमभन्दा कम मानिस यसको संक्रमणमा परुन् भन्ने हो । किनकि आजको मितिसम्म यसको औषधि बनेको छैन । हाम्रो जस्तो अल्पकविकसित मुलुक जहाँ स्वास्थ्य सेवा अझै पूर्ण रुपमा जनताको पहुँच बाहिर छ । यहाँ रोग पैmलियो भने जुन विकराल रुप लिन्छ । त्यसको कल्पनासम्म पनि गर्न सकिदैन ।

अहिले कोरोना भाइरसबाट सबै नेपालीलाई कसरी बचाउने भन्दा पनि केही उद्दण्ड ब्यक्तिहरु राजनिती गर्न र अनावश्यक हल्ला गर्न ब्यस्त देखिन्छन् । नेपाल सरकार आफ्नो पहँुचले भ्याएसम्म आफ्नो नागरिकलाई बचाउन लागि परेको छ तर त्यहिँ उद्दण्ड ब्यक्तिहरुले सरकारको आलोचना मात्रै गरिरहेका छन् । त्यो आलोचना पनि हल्लाको भरमा केहि नबुझी ।


अहिले यो बिपतको बेलामा राज्यलाई साथ दिनुको सट्टा कसैले मध्यावधि चुनावको माग गरेको देखिन्छ । सम्पूर्ण विश्व नै शताब्दीकै सबैभन्दा कठिन स्थितिबाट गुज्रिरहेको बेला यसलाई अवसरको रुपमा लिन खोज्ने हाम्रो देशको राजनीतिक पार्टी देख्दा अचम्म भन्दा पनि लज्जाको अनुभूति हुन्छ । हातमा हात मिलाएर सरकारभन्दा एक कदम अगाडि बढेर यो विषम परिस्थितिको सामना गरे भने स्वतः अर्को चुनावमा जनताले अवसर दिइ हाल्छन् । तर त्यति समय पनि कुर्न सक्ने क्षमता हाम्रा राजनीतिक पार्टीहरुमा देखिएन । सरकारमै रहेका केहि पदाधिकारीहरुले पनि गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहेका छन् । सम्बन्धित विज्ञहरुको सल्लाह र सुझाव लिई त्यसै अनुरुप चलिरहेको विश्वका अन्य देशहरुको परिवेशमा हाम्रा मन्त्री तथा सचिवहरु चाहिँ अनुमानका भरमा वक्तव्यबाजी गर्नमै व्यस्त छन् । किट सामग्री, पिपिइ, भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीहरु कसरी छिटो जोहो गर्ने भन्दा पनि हचुवाका भरमा आइसोलेसन सेन्टर खडा गर्नमा व्यस्त छन् । यसले रोग नियन्त्रण होइन बरु फैलाउनमा भूमिका खेल्छ ।


नेपाल सरकारले सबै बिपन्न नागरिकहरुलाई राहत एक द्वार प्रणालीबाट बाँडिने निर्णय गर्दागर्दै पनि केहि धनाड्यहरु आफुहरु कथित समाजसेवी हो भन्ने देखाउन आफू खुसी राहत बाँड्दै हिँडेका छन् । अझ सोसल मिडियामा कसरी आफूलाई देखाउने भन्नेमा नै प्रतिस्पर्धा चलिरहेको छ । मानौं यो समय भनेको आफूलाई कसरी विज्ञापन गर्ने भन्नेमा व्यस्त छन् । अहिले जसलाई राहत आवश्यक परेको छ । जो यसको हकदार छन् । उनीहरु सोझै मिडियामा देखिन चाहँदैनन् । किनकि उनीहरु श्रमिक भए पनि, मजदुर भए पनि आफूले माग्दै गरेको तस्बिर सोसल मिडियामा देखिन चाहँदैनन् । किन यो उनीहरुको बाध्यात्मक अवस्था हो । राहत दिन विज्ञापन नै गर्नु पर्दैन । सम्बन्धित ठाउँमा गएर पनि दिन सकिन्छ । यो रहर होइन बाध्यता हो ।


अहिलेको यो महामारीबाट आफ्ना नागरिकलाई बचाउने काम सरकारको मात्र होइन भन्ने पनि सबै राजनीति दलले बुझ्नु पर्ने हुन्छ तर नेताहरु दुलो भित्र पसि राजनीति गर्ने चारो जनतालाई फालिरहेका छन् । आफू पनि नगर्ने र सरकारले गर्न खोज्दा पनि गर्न नदिने भालुको प्रवृत्ति निभाउँदै छन् । घरमा बसेर राजनीति गर्नु भन्दा ती नेताहरु बाहिर आएर गरे जनताको जीवन केही मात्रामा भए पनि सहज हुनसक्थ्यो होला ।


हामी नेपालीको बानी कस्तो छ भने कान नछामी कागको पछाडी डौडिने प्रवृत्तिको छ । हिजो दिपावाली गर्ने भनेर एउटा भ्रामक समाचार फेसबुक मार्फत भाइरल भयो । हामी त्यहि नेपाली हौं जसको बास्तविकता नबुझी दिपावाली गर्न ब्यस्त भयौं । कसैले मानिसको भिडभाड कम भएको कारण सौराहामा हरिण मृग बजारमा भनेर विदेशको फोटो पोष्ट गर्दा अधिकांश नागरिकले त्यो फोटो कहाँको हो भन्ने बुझ्दै नबुझी आ–आफ्नो फेसबुकमा सेयर गर्न ब्यस्त भए । हाँसो लाग्छ आफुलाई नेपालको बुद्धिजिवी भन्नेले पनि सो फोटो सेयर गरिएको देखियो । यसबाट के प्रष्ट हुन्छ भने हाम्रो सोसल मिडिया कतिसम्म बेलगाम घोडा भइसकेको छ । यहाँ हरेक मान्छे डाक्टर देख्न पाइन्छ । हरेक मान्छे स्वास्थ्य विज्ञ, मन्त्री देख्न पाइन्छ । यतिधेरै भ्रामक र अपुष्ट समाचारहरु शेयर हुन्छ जसले गर्दा साँचो र आवश्यक सूचना लगभग मानिसले पाउनै छाडिसके । कुन सहि र कुन गलत भन्ने छुट्याउन नै गाह्रो भइसक्यो । भर्खरै पोष्ट भएको इटालीमा पैसा फालिएको एउटा फोटो जुन केहि वर्ष अगाडिको हो । तर यसलाई हालसालैको घटनासँग जोडेर पोष्ट गरिएको छ । यसैबाट स्पष्ट हुन्छ नेपालीहरु हल्लाको पछाडी दौडिन्छन् र यसलाई मलजल गर्ने काम सोसल मिडियाले गरिरेको छ भनेर र अहिले भएको सरकारबिरोधी काम पनि तेस्तै हल्ला पछाडी दौडिए जस्तै हो ।


पछिल्लो समय विकसित भइरहेको अनलाइन मिडिया, इलेक्ट्रोनिक मिडियाले केहि मात्रामा नेपालीलाई भ्रामिक बनाउने काम गराउँदैछन् । कोरोना नभएको मानिसलाई कोरोना भएको छ भन्दै प्रचारबाजी गर्ने राष्ट्रीय टेलिभिजन पनि यहि छ र सहि समाचार दिने भन्दा पनि कसले पहिले दिने भन्ने होडबाजीमा गलत समाचार प्रसारण र प्रकाशन हुने क्रम बढ्दो छ ।


सरकारको विश्वास गरौँ । यदि तपाईँसँग सरकारले गलत गरेको छ भन्ने सहि सूचना छ, प्रमाण छ भने विरोध गरौँ तर बुझ्दै नबुझी हल्लाको भरमा कान खोज्न कागको पछाडी नदौडौं । सहयोग गरौं तर फोटो खिच्नको लागि होइन वास्तविक समाजसेवी बन्नको लागि ।

Facebook Comments