“पुरानो साइकल गाथा”साइकल जुनबेला आबस्यकता थियो तर अहिले देखाउनको लागि “मित्रलाल सापकोटा”

 

 

पुरानो साइकल गाथा
मित्रलाल सापकोटा
आजभन्दा सत्ताइस बर्ष पहिलाको नेपालको यात्रा आजको जस्तो सहज थिएन । त्यो बेलासम्म त कर्णालीमा पनि पुल बनेको थिएन । नेपालगञ्जबाट गुलरिया बुङबुङ धुलो उडाउँदै गाडी चल्थ्यो तर एक्का दुक्का । खजुरासम्म त्यहि टमटम अर्था टाँगाको यात्रा नै मस्त मात्रै होइन व्यस्त पनि थियो ।

मैले आफ्नो अध्ययनको शिलसिलामा भारतको राजधानी दिल्लीमा रहँदा पत्रकारितामा निकै चासो बढेकोले त्यसको पढाई गर्ने निधो गरें । नेपालमा भर्खर भर्खर बहुदलीय प्रजातन्त्र आएकोले नीजि क्षेत्रबाट ब्रोडगेजको कान्तिपुर दैनिक प्रकाशन शुरु भएको थियो । मैले नेपालका खबरहरु भारतीय संञ्चार माध्यम पत्रपत्रिकामा पढ्ने निकै चाहना हुँदा पनि त्यति कभरेज गरेको पाईदैनथ्यो । कहिले कहिँ मात्रै कुनै निकै ठूलै काण्ड या घटना मात्रै त्यो पनि सानो कुनै कर्नरमा लेखिन्थ्यो । पत्रकार युवराज घिमिरेले इण्डिया टुडे म्यागजीनमा लेखेका केहि लेखमा नेपालका कुराहरु परेको भेटथें । यस्तो अवस्थामा मैले नेपालमा भारतीय पत्रपत्रिकाहरुको नेपालमा के कस्तो बोलबाला छ र भारतीय खबरहरुलाई नेपाली मिडियाले कत्तिको स्थान दिन्छन भन्ने बारेमा केहि अध्ययन गर्ने सोंच बनाई नेपालको पोखरा, काठमाण्डौतिर घुम्नेक्रममा बुटवल पाल्पा सडकखण्डको डुम्रे नजिकमा एकजना व्यक्ति साइकलमा राष्ट्रिय झण्डा टाँगी आफ्ना झोलाहरु साइकलमा कसेर पसिना काढदै साइकल पेल्दै गरेको देखें ।

मलाई जान्ने उत्सुकता भयो र आफु चढेको गाडी छोडि उत्रें । अनि उनको यात्राको बारेमा सानो भलाकुसारी गरें जुन कुरा २३ नवम्बर १९९३ मा दिल्लीको टाइम्स गु्रपको सान्ध्य टाइम्स दैनिकमा छापिएको थियो ।


उनी आज ती व्यक्ति थिए ध्रुव राज पन्त । उनको भनाइ अनुसार महाराष्ट्र भारतको पुणेमा पढाई गर्दै गर्दा जब खाडी मुलुक इराकमा युद्ध भयो त्यहि बेला भारत नेपालमा भयानक रोग एडस्को निकै चर्चा चलेको थियो । दुनियाँमा यो रोगको बारेमा जुन जागरुकताको आवश्यकता थियो त्यस्तो नेपाल र भारतमा थिएन त्यसैले यसको खतरा बारे सचेतना गराउने उद्देश्य सहित १० अक्टुबर १९९२ का दिन काठमाण्डौंबाट आफ्नो यात्रा प्रारम्भ गरि नेपाल भारतमा गरि ८० हजार किलोमीटर साइकल यात्रा गरेको र साथ पाएमा संसार घुम्ने चाहना गरेका थिए । त्यसको केहि समयपछि उनलाई दिल्लीमा नै त्यस्तै अवस्थामा साइकल यात्रा गरेको भेटेको थिए । उनी आफ्नो उहि अभियानमा रहेको बताएका उनीे फेरि कति घुमे संसार घुम्ने उनको इच्छा कहाँ पुग्योे या फेरि कतै घुमे या घुमेनन् , आज कता छन् ? थाह छैन । साइकल आजपनि चलाउछन् या चलाउँदैन ? उनी साइकिलिङ क्लबका साथी छन् या छैनन् थाह छैन । तर त्यो बेला उनको त्यो साहस देखेर म भने दङ्ग भएको जस्तो लाग्छ ।


उ बेला साइकल तराइमा आवश्यकताको सवारी साधन मात्रै थिएन साइकल राख्नेहरु पनि सम्पन्न जस्तो मानिन्थे । साइकल भएपछि त मानौं बाँके बर्दिया त कुनै टाढा लाग्दैनथ्यो । त्यस समयको सवारीको शाही बाहन सरी त्यो साइकलको आज महत्व त्यहि रुपमा त रहेन तर आजकल खाना पचाउन, बच्चा भुलाउन, भुँडी घटाउन र यस्तो साइकल किनें र यति साइकल चलाएँ र उति चलाएँ भनेर फोटो खिचाउनको लागि पनि प्रयोग भएको छ भने यसको मोल पनि ताई न तुईंको लाखौंमा पुगेको छ । यसको वास्तविक मूल्य के हो खरिदकर्ता कसैलाई थाह छैन । कालाबजारी भो भनेर रोइलो गर्नेहरुले यसको मूल्य थाह गर्नु पनि आवश्यता मानिँदैन किन कि यो अब त विलासिताको या फेरि पैसावालको कथा पो भएको जस्तो छ ।

अहिले चलिरहेको स्बन्दाबन्दी (लकडाउन) को अवस्थामा मैले आफ्ना अतितका केहि पान्नाहरु पल्टाउने फुर्सद पाएँ । यसै क्रममा उनको अन्र्तवार्ताको त्यो फोटो र उनको अन्र्तवाता छापिएको कपिको अवशेष भेट्दा उनलाई अहिले सम्झन मन लाग्यो र सोंचे यो पुरानो साइकल गाथा पनि आजको साइकल गाथामा एउटा नयाँ अध्यायको रुपमा गाँसिदै उनको पनि कुनै अनुभव कतै यो गाथामा समावेस पो छ कि या छैन भने गाँसियोस भन्ने आशा गरुँ जस्तो लाग्यो ।

Facebook Comments