विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेला नेपालमा भने यसको प्रकोप खासै देखिएको छैन।
सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात एकान्तमा राखेर उपचार गरिदैँछ।
बुधवार साँझसम्मको विवरण अनुसार सङ्क्रमणको आशंकामा थप १ सय ३४ जनालाई आइसोलेशनमा राखिएको छ।
उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ।
नेपालमा भेटिएका सङ्क्रमितमध्ये ८ जना विदेशबाट आएका छन् भने एकजना विदेशबाट आएका व्यक्तिकी आफन्त रहेकी छन्।
नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूका लागि बन्देज नलगाएको कारण देखाउँदै कतिपयले नेपालमा थप सङ्क्रमित हुनसक्ने बताउने गरेका छन्।
त्यस्तो अनुमानलाई खण्डन गर्नेहरूले चाहिँ नेपालमा हालसम्म कुनै पनि एक स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिसहरू बिरामी भएको वा मृत्यु भएको नदेखिनुले त्यस्तो अनुमानलाई झूटो सावित गरिदिएको बताउछन्।
विज्ञहरूले चाहिँ नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनु वा कम फैलिनुमा विभिन्न कारणहरूले भूमिका खेलेको हुनसक्ने बताएका छन्।
१. नेपालीको जीवनशैली
कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुनसक्ने तर्क गर्ने गरेका छन्।
तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिदैँन।
त्यस्तै दाबी गर्नेमध्येका एकजना चिकित्सक हुन्-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन।

उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलने सञ्जालहरू भत्किएको हुनसक्ने उल्लेख गरेका छन्।
बीबीसीसँग कुराकानी गर्दै उनले भने, “हामीले धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलनबाट रोकेको हुनसक्छ।”
उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नेपालमा नदेखिएको स्मरण गर्दै अन्यत्रको हेरी भारतमा पनि सङ्क्रमणको फैलावट दर कम भएको बताए।
पुनले भने, “हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलने साङ्गलोलाई कतै न कतै चुडाँइरहेको छ भन्ने एउटा दरिलो तर्क हो।
“अब यसमा विस्तृत अध्ययन हुन जरुरी छ।”
२. नेपालीको प्रतिरक्षा प्रणाली ‘बलियो‘हुनु
विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरसको फैलावट कम भएको हुनसक्ने बताउँछन्।
परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।
उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुनसक्छन्।
डा. मरासिनी भन्छन्, “कतिपय रोगसँग लड्ने क्षमता जाति अनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।”
“अर्को उदाहरण हेर्ने हो भने थाइल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिदैन। त्यहाँका मानिसहरूले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ।”
डा. पुन चाहिँ हाल नेपालमा भेटिएका ९ जना सङ्क्रमितमा एकदमै सामान्य खालका लक्षणहरू मात्र देखिनुलाई त्यसको गतिलो प्रमाण मान्छन्।

उनी भन्छन्, “नेपालमा देखिएका ९ जनामै किन माइल्ड (कम) लक्षणहरू मात्र देखियो त? अहिले टेकुमै हामीले उपचार गरिरहेका बिरामीहरूलाई पनि हामीले राख्नैपर्ने भएकाले मात्र राखेका हौँ। अन्य रोग लागेको थियो भने उहाँहरूलाई घरै पठाइसक्थ्यौँ। कसैमा पनि कुनै गम्भीर लक्षण नै देखिएको छैन।”
तर यसमा नेपालीहरूको प्रतिरक्षा प्रणालीले कति भूमिका खेलेको छ भन्ने चाहिँ अनुसन्धानकै विषय भएको उनले बताए।
पुनका अनुसार नेपालीका लागि कोरोनाभाइरस नौलो पनि होइन। किनकी कोरोनाभाइरस एउटा प्रजाति हो र अहिलेको भाइरस सातौँ नम्बरको हो।
सातमध्ये मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मेर्स) अर्थात् मेर्स-सीओभी पनि कोरोनाभाइरसकै कारण लाग्ने गर्छ।
पुन उक्त भाइरस मध्यपूर्वमा मात्र धेरै फैलिएकाले त्यहाँ काम गर्ने धेरै नेपालीमार्फत् उक्त भाइरस नेपाल आएको हुनसक्ने ठान्छन्।
तर त्यसको परीक्षण नगरिँदा नेपालमा नभेटिएको र नेपालीले उक्त भाइरसलाई पचाएको हुनसक्ने उनको अनुमान छ।
त्यस्तै सार्सका बेलामा पनि नेपालमा नआएको देखिएको छ। त्यसबेला पनि परीक्षण कम हुँदा नदेखिएको हुनसक्ने उनी बताउँछन्।
त्यस बाहेकका ह्युमन कोरोनाभाइरस भनिने चारवटा कोरोनाभाइरस रहेका छन्।
पुनले भने “नेपालमा ह्युमन कोरोनाभाइरसहरू जन्मदेखि ६ महिनासम्मका शिशुहरूमध्ये ८ प्रतिशतमा देखिको एउटा अनुसन्धानले देखाएको थियो। त्यसले मलाई कतै हाम्रोमा एन्टीबडीको काम गर्यो कि जस्तो लाग्छ।”
३. बीसीजी खोपको प्रभाव
क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ।
कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।
बीबीसी विश्व सेवाका अनुसार हालैको एउटा समिक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको देखाएको छ।

नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ।
त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।
मरासिनी भन्छन्, “यो विषय त अहिले सबैतिर चर्चामा आयो। खासगरी युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरू पनि लगाउन चलन कम छ। नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौँ। त्यसको प्रभाव पनि हुनसक्छ।”
४. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
विशेषगरि कम विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन मद्दत गर्ने खालका शहरी पूर्वाधारकै कमी हुनसक्ने पनि चिकित्सकहरूको तर्क छ।

विकसित देशहरूमा जमिनमुनी सब वे र मेट्रो रेललगायतका यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि बनेका छन्।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021