कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका पाँच प्रमाणित रणनीति

 

 

 

सारा विश्वमा त्रास उत्पन्न गर्दै कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएको छ। हरेक दिन हजारौँ नयाँ सङ्क्रमित फेला परिरहेका छन् र सयौँको मृत्यु भएको घोषणा गरिन्छ।

कैयौँ सहरहरू र देशहरू पूरै लकडाउनमा छन्। उडान, अन्तर्राष्ट्रिय कार्यक्रमहरू र वार्षिक समारोहहरू रद्द गरिएका छन्।

रोगको नयाँ केन्द्रविन्दु युरोप बनेको छ। ल्याटीन अमेरिका, मध्यपूर्व र अमेरिकामा दिनहुँ सङ्क्रमणको दर बढ्दो छ।

तर केही देशहरू कोरोनाभाइरसको अप्रत्याशित विस्तार रोकथाम गर्न सफल देखिएका छन्।

रोग सुरु भएको चीनसँग भौगोलिक रूपमा नजिक भए पनि केही एशियाली देशहरूले कोभिड-१९ को सङ्क्रमण दरलाई नियन्त्रणमा लिने कामको अगुवाइ गरिरहेका छन्।

अमेरिकास्थित जोन्स हप्किन्स् विश्वविद्यालयका सङ्क्रमण रोग विज्ञ टोल्बर्ट न्यानस्वाहले प्रकोप नियन्त्रण गर्न सफल उपायहरू अपनाएका देशहरू रहेको र उनीहरूबाट सिक्नुपर्ने बताएका छन्।

उनले भने, “मैले चीनको मात्र कुरा गरिरहेको छैन, जहाँ आक्रामक उपायहरू अवलम्बन गर्दा सङ्क्रमितको सङ्ख्या घट्यो, जुन अन्य प्रजातान्त्रिक देशहरूलाई लागु गर्न सजिलो रहेन।”

“अन्य देशहरूले सफलतापूर्वक फरक कदम रोजे जुन अहिले पनि प्रभावकारी छ।”

ताइवान

उदाहरणका निम्ति चीनको छिमेकी ताइवान हो। करिब दुई करोड ३६ लाख जनसङ्ख्या रहेको उक्त देशमा ३८२ जना सङ्क्रमित भएका छन् भने छजनाको मृत्यु भएको छ।

त्यस्तै ७५ लाख जनसङ्ख्या रहेको हङ्‌कङमा हालसम्म ९९० जनामा सङ्क्रमण र चारजनाको मृत्यु भएको तथ्याङ्क थियो।

नजिकै १२ करोड जनसङ्ख्या रहेको जापानमा हालसम्म ५,५३० जना सङ्क्रमित भेटिएका छन् जबकी दक्षिण कोरियामा त्यो सङ्ख्या १०,४५० पुगेको छ। तर दुवै मुलुकमा पछिल्ला साता सङ्क्रमण र मृत्युको दर घटेको छ।

न्यानस्वाहका अनुसार यी देशहरू कोरोनाभाइरसको बिस्तारलाई नियन्त्रणमा सफल भएका छन् किन कि उनीहरूले मौलिक प्रभावकारी उपायहरू तीव्र गतिमा लागु गरेका हुन्।

यी हुन् अति प्रभावकारी कदमहरू:

१.परीक्षण, परीक्षण र फेरि पनि परीक्षण

बीबीसीले परामर्श लिएका विज्ञहरू र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ सुरुमै पहिचान गर्नु नै प्रकोप बिस्तारलाई नियन्त्रणमा लिने आधारभूत उपाए भएकोमा सहमत छन्।

न्यानस्वाह भन्छन्, “कति मानिस प्रभावित छन् भन्ने कुरा जानकारी नहुँदासम्म भाइरसको वास्तविक प्रभाव थाहा पाउन वा आवश्यक कदम उठाउन सकिन्न।”

अमेरिकाको टेम्पल विश्वविद्यालयमा सङ्क्रमण रोगका प्राध्यापक क्रिस जोनसन सहमत छिन्।

परीक्षण

न्यास्वाहका अनुसार जुन देशहरू परीक्षणमा भर परे, त्यहाँ नयाँ सङ्क्रमितको सङ्ख्या तल झरेको देखिएको छ, र जुन देशहरू परीक्षणको विधिमा जोड दिएनन् त्यहाँ सङ्क्रमितको सङ्ख्या निकै बढेको देखिन्छ।

उनले बीबीसीलाई भने, “दक्षिण कोरियाले दैनिक १०,००० नमुना परीक्षण गरेको छ। त्यसको अर्थ सुरुमा अमेरिकाले महिनाभरीमा गरेको परीक्षणभन्दा बढी उसले दुई दिनमा गरेको थियो।”

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस प्रकोपको ‘विस्तार रोक्ने अचुक उपाय’ लक्षण भएकाहरूको परीक्षण भएको बताउँछन्।

“हाम्रो साधारण सन्देश सबै देशलाई – परीक्षण, परीक्षण, परीक्षण”, उनले हालै पत्रकार सम्मेलनमा भनेका थिए, “सबै देशहरूले सबै शङ्कास्पद व्यक्तिको परीक्षण गर्न सक्नुपर्छ, उनीहरू आँखा चिम्लिएर महामारीसँग लड्न सक्दैनन्।”

उनले अति गम्भीर लक्षण भएकाहरूको मात्र परीक्षण गरिने विषयमा चेतावनी दिँदै त्यसबाट आउने तथ्याङ्क अविश्वसनीय हुने र त्यो अभ्यासले सामान्य लक्षण भएकाहरूबाट भाइरसको लगातार विस्तार हुने कुरालाई बल दिने बताए।

Facebook Comments