/प्रकृतिको चित्कार- कोरोना ” सिम्रन क्षेत्री “

प्रकृतिको चित्कार- कोरोना ” सिम्रन क्षेत्री “

 

 

प्रकृतिको चित्कार- कोरोना

सिम्रन क्षेत्री
नारायणगढ-१,
दियालो रोड, चितवन

यतिबेला सिङ्गो भूगोल अनि सारा मानव बस्ति त्राइत्राइमा बाँचेको छ ।
हिजोसम्म म मान्छे सङ्ग डराउने गर्थे , मानिसले बनाएका कृत्रिम हात-हतियार, बमबारुद, चमत्कारी सामग्रीहरु तथा जालझेलहरु , लाग्थ्यो सिङ्गो पृथ्वी नै मानिसको बसमा चल्छ । जब म टिभी हेर्थे, सोच्थेँ , मान्छे जे पनि गर्न सक्छ । उत्तिखेरै दर्किने पानी पार्न सक्छ, परेको पानी लाई रोक्न पनि सक्छ । मान्छे उडाउने हावाहुन्नरी बनाउथ्यो मान्छे फेरि रोक्नका लागि खै के के प्रयोग गर्थे । सत्य युगको भगवान पनि आफै बन्थे मान्छे अनि आकाशमा उड्थे । के मात्रै गरेको थिएन र मान्छे ले !! अस्ति सम्म भगवान भनेर पूजा गर्ने चन्द्रमा मा शुद्ध मान्छे पुगिसक्यो अझ भन्दै छ अर्को चन्द्रमा पनि बनाउँछु ।बेलाबेलामा नासा फुकिराख्छ ” अन्तरिक्षमा मानव सभ्यता सम्भव छ” । आकाश पाताल सबै घुमेर सकिसक्यो मानव । त्यसैले त म आफैं मानिस भएर पनि मानिस देखेर नै डराउँथे । यसकारण पनि भन्न सक्छु” मलाई प्रकृति प्रति मोह थियो, हरीयाली मा रमाउने मान्छे, म प्रकृति लाई मायाँ गर्थे, प्रकृति सङ्ग जोडिएका हरेक जीवन सङ्ग मेरो साईनो थियो ।तर मलाई के थाहा प्रकृति ले पनि यति ठूलो हलचल मच्याउने छ भनेर । सम्झिन्छु म , ७२ सालको भुईचालो ले मानव जीवन नै तहसनहस बनायो। प्रकृतिले हामीलाई घर बाट टाढा टाढा भाग्नको लागी बाध्य बनाईन् , कैयौं दिन , रात खुल्ला आकाशमुनि ओत लाग्यौं, प्रकृति सङ्गै अङ्कमाल गरेर जीवन कटायौं। आज ४\५ वर्ष को अन्तरालमा फेरि एउटा महामारी ले हामीलाई घरभित्र थुनिदिएको छ। जसरी हामीले आफ्नो विलासिताको लागि वनको चरीलाई, वनका जीवजन्तु लाई पिन्जडामा कैद गर्दै आएका थियौं , ठिक त्यसरी नै प्रकृतिले पनि हामीलाई घर घरमा कैद गरिदिएकी छिन् । मानिस यति सम्म स्वार्थी भइसकेको थियो कि उसको जीवन सङ्गै गासिएको प्राकृतिक तत्व उसले बिर्सिसकेको थियो । जुन हावा पानी विना जीवन असम्भव छ भन्ने कुरा हामी भुलेर हावा, पानी दुषित गरिरहेका थियौं । सुखी जीवन यापनका लागि मानव सम्रचना यति धेरै बनायौ कि हामीले प्रकृतिको अस्थित्व नै लुटिदियौं। सृष्टिकर्ता ले मानिसलाई शाकाहारी बनाएर सृष्टी गर्यो तर मानिस मांसाहारी को नक्कल गरी मासु खान सिक्यो । अनि बिस्तारै मांसाहारी बन्यो। यति सम्म मांसाहारी बन्यो कि बाघ, भालुले जस्तो काँचै लुछ्न थाल्यो । लुछ्दालुछदै के लुछ्दै छु भन्ने कुरा को पनि पत्तो पाउनै छाड्यो र हरेक जीवजन्तुको हत्या गरेर खान थाल्यो । प्रकृतिको इको सिस्टममा ब्यालेन्स मिलेन र प्रकृति मानिसहरू माथि नै जाइ लाग्न थाल्यो र आज दशा झेलिरहेका छौँ ।


एउटा सानो कुनाबाट फैलिएको भाइरसले विश्व नै आतङ्कित बनाइरहेको छ । सबैभन्दा शक्तिशाली भनेर चिनिने अमेरिका पनि यस दयनीय घडीबाट गुज्रिरहेको छ । सायद अहिले सम्झिदो हो, वास्तवमा पृथ्वी नै एउटा सिङ्गो घर हो , जुन मानवसभ्यता विना शुन्य छ।
हिजो सम्म मानिस बाँच्नका लागि खान्थ्यो, तर आज मानिस खानका लागि बाँच्छ । त्यसैले त यि सबै जुटाउनका लागि हर दिन रात नभनिकन पैसाको पछि कुदिरहेका छन् । यति सम्म कुद्न थाले कि आयु छोटो छ भन्ने नै बिर्सिए, बाँच्नै बिर्सिए, माया साँच्नै बिर्सिए घर , परिवार, इष्टमित्र, साथिभाई सबै सबै बिर्सिए मानौ कमाएका धन पोल्टाभरी भरेर लैजान्छु झै गरी दौडिरहे मानिसहरू आफ्नो अस्तित्व नै बिर्सिएर । हरेक कुराको सीमा हुन्छ त्यसैले आज हामी सबै परिवार सङ्ग छौँ । हरेक विहान परिवार बाट सुरु भइ परिवार मै गएर टुङ्गिन्छ । त्यसैले हामी चेतनशील प्राणी भएर हामी आफ्नो सीमा, आफ्नो अस्तित्व भुल्दै थियौं र प्रकृति ले हामीलाई परिवार सङ्ग थुनेर आफ्नो अस्तित्व सम्झाइरहेकी छिन् र सारा जगतको परिक्षा लिइरहेकि छिन् । कामना गरौं अब परीक्षा को घडी छिट्टै नै समाप्त होस् र यो महामारीबाट छिट्टै नै मुक्ति मिलोस् । अनि हामी मानव जाती साच्चैको मानिस भएर बाँच्ने छौँ, र चेतनशील प्राणी भएर रहने छौँ ।

सिम्रन क्षेत्री
नारायणगढ-१,
दियालो रोड, चितवन

Facebook Comments