लकडाउन लम्बिने सङ्‍केत देखिएसँगै बैंकमा नगद झिक्नेको चाप बढ्यो

 

लकडाउन लम्बिने सङ्केत देखिएसँगै अत्यावश्यक वस्तु खरिद गर्न थालेपछि बैंकमा नगद मागको चाप बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्गलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा आगामी दुई साता थप चुनौतीपूर्ण हुने बताएसँगै बैंकमा नगद माग बढेको हो।

शनिबार मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा पनि प्रधानमन्त्री ओलीले लकडाउन बढ्नसक्ने भन्दै आवश्यक तयारी गर्न निर्देशन दिएका थिए।

सरकारले लकडाउन सुरु गरेलगतै घरमा भएको रकम सुरक्षित राख्नका लागि बैंकमा राख्न जानेको चाप थियो भने लकडाउन लब्बिने सङ्केत देखिएसँगै अहिले बैंकबाट नगद झिक्ने बढी रहेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए। ‘लडाउन सुरुका दिन अर्थात् चैत ११ पछिको पहिलो साता पैसा डिपोजिट गर्न आउनेको चाप थियो,’ उनले भने, ‘तर, अहिले रकम झिक्नेको चाप बढेको छ।’

लकडाउनपछिका सुरुका दिन सीमित बैंकिङ सेवामात्र खुल्ने भएपछि नगद झिक्नेको चाप हुने अनुमान बैंकका कर्मचारीले गरेका थिए। तर, त्यसबेला अन्य सामान्य दिनको जस्तै अर्थात् त्यो भन्दा पनि कम चाप नगद झिक्नेको भएको थियो। त्यस समयमा नगद माग बढी होला कि भनेर बैंकहरूले नगदको बढी जोहो गरेका थिए। लकडाउनको सुरुमा उनीहरूले सोचेजस्तो नगदको माग भएन। तर, लकडाउन सम्बिएसँगै नगदको माग बढिरहेको बैंकरहरू बताउँछन्।

नागरिकले दैनिक उपभोग्य वस्तु खरिदका लागि इन्टरनेट बैंकिङ, एटिएम र चेकबाटसमेत नगद झिकिरहेका छन्। जुनसुकै बेला इन्टरनेट बैंकिङ सेवा, एटिएमबाट जतिबेला पनि खुल्ने भए पनि बैंकबाट नगद झिक्नेको चाप केही दिनयता बढेको पौडेलले बताए।

लकडाउनका कारण ऋण प्रवाह भने ठप्प रहेको उनले बताए। बैंकका शाखा निकै कम र न्यून कर्मचारीबाट सञ्चालित छन्। धेरैजसो ग्राहक नजिकको बैंक शाखामा पुगेर नगद झिकिरहेका छन्।

नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म बुझाउनुपर्ने साँवा र ब्याज असारसम्म बुझाए पनि हुने व्यवस्था गरे पनि साँवा र ब्याज बुझाउन आउने क्रमसमेत जारी रहको पौडेलले बताए। ‘असारसम्म बुझाए हुने ब्याज पनि अहिले नै बुझाइरहेका छन्,’ उनले भने, ‘अहिले नजिकको शाखामा पुगेर नगद झिक्ने र साँवा ब्याज बुझाउने पनि केही बढेका छन्।’

सरकारी स्वामित्वका कृषि विकास बैंक, नेपाल बैंकका धेरै शाखा सञ्चालनमा छन्। निजी बैंक भने जिल्लामा एक दुईवटा मात्र खुलेका छन्।

केही बैंकले सबै शाखा कार्यालयको सम्पर्क व्यक्ति तोकेका छन्। उनीहरूको सम्पर्क नम्बर पनि दिएका छन्। ग्राहकले त्यस्ता सम्पर्क व्यक्तिलाई फोन गरेर आफ्नो नजिकको कुन शाखा खुल्छ, कतिबेला खुल्छ र के–के सुविधा पाइन्छ भन्ने सुझाव लिने गरेका छन्।

प्रत्येक शाखाको मूल ढोकामा त्यस शाखाबाट प्रदान हुने सेवाको विवरण लेखेर सूचना टाँसिएको छ। त्यो शाखा नखुल्ने हो भने नजिकको कुन शाखा खुल्छ भन्ने पनि उल्लेख गरिएको छ।

लकडाउनमा खटिने कर्मचारीलाई सुविधा दिने विषयमा द्विविधा

लकडाउन लम्बिएसँगै खटिएका बैंकका कर्मचारीलाई विशेष सुविधा दिने वा नदिने भन्नेबारेमा द्विविधा देखिएको छ। लकडाउन छोटो समयका लागि हुने र त्यति अवधिसम्मका लागि खटिएका कर्मचारीलाई विशेष सुविधा दिने भनिएको थियो।

तर, लकडाउन लम्बिएसँगै त्यसरी विशेष सुविधा दिँदा बैंकलाई आर्थिक व्यायभार थपिने भएपछि लकडाउनमा खटिने कर्मचारीलाई त्यस्तो सुविधा दिने कि नदिने भन्ने विषयमा धेरै बैंकले निर्णय गरिसकेका छ्रैनन्। विशेष सुविधा दिन नसकिने भएपछि केही बैंकले आलोपालो गरेर काम गराइरहेका छन्।

लकडाउनको सुरुमा काममा खटिएका बैंकका कर्मचारीले विशेष सुविधा पाउने आश्वासन दिइएको थियो।

तर, अहिले पनि केही बैंकले विशेष सुविधा दिने भने पनि धेरैजसो बैंक त्यस्तो सुविधा दिने÷नदिनेबारे अन्योलमा छन्। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संस्था नेपाल बैंकर्स संघले सबै बंैकलाई लकडाउनमा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरेको थियो।

लकडाउनको सुरुका दिनमा संघका अध्यक्ष भुवन दाहालले विशेष सुविधाअन्तर्गत तालिममा पठाउने, प्रोत्साहन भत्ता दिनेलगायतको व्यवस्था गरिने बताएका थिए। ‘निर्देशन दिएका छैनौँ, आग्रह र सुझावमात्र दिएका छौं, सबै बैंकले पालना गरुन् भन्ने हाम्रो चाहना हो,’ उनले भने।

सबै ठाउँमा बैंकको शाखा नखुल्ने भएकाले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलाई प्राथमिकता दिन बैंकहरूले ग्राहकलाई भनिरहेका छन्। नेपाल राष्ट्र बैंकले एटिएममार्फत् नगद प्रवाहको व्यवस्था मिलाउन भनेको छ।

२७ वाणिज्य बैंकमा ४० हजार कर्मचारी

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ४० हजारलाई रोजगारी दिइरहेको बैंकर्स संघको भनाइ छ।

मुलुकमा सञ्चालनमा रहेका विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्तले पनि ठूलो मात्रामा रोजगारी दिएका छन्। त्यसलाई भने बैंकर्स संघले आफ्नो गणनामा राखेको छैन।

अहिले २७ वाणिज्य बैंकबाहेक २४ विकास बैंक, २२ फाइनान्स कम्पनी, ९० लघुवित्त संस्था र १ इन्फास्ट्रक्चर बैंक सञ्चालनमा छन्। यसका साथै बिमा कम्पनी, सहकारीले पनि ठूलो सङ्ख्यामा रोजगारी दिएका छन्।

विदेशी मुलुकमा औद्योगिक क्षेत्रले ठूलो सङ्ख्यामा रोजगारी दिए पनि नेपालमा भने पर्याप्त मात्रामा औद्योगिक क्षेत्रको स्थापना हुन नसक्दा रोजगारी दिन सकिएको छैन। औद्योगिक क्षेत्रले रोजगारी दिन नसके पनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, बिमा, सहकारीले रोजगारी दिने काम गरेका छन्। नेपालको कूल पौने तीन लाख जनसङ्ख्यामा उक्त क्षेत्रले धेरै रोजगारी दिएको छ।

बैंक तथा वित्तीय संस्था ग्रामीण क्षेत्रमा विस्तारको क्रमसँगै प्रत्येक नागरिकको घरआँगनमा पुग्न थालेका छन्। त्यसक्षेत्रमासमेत ती संस्थाले रोजगारी दिँदै आएका छन्।

राष्ट्र बैंकका अनुसार मुलुकमा बैंकिड पहुँच ६०.९ प्रतिशत जनसङ्ख्यामा पुगेको छ। यसमा लघुवित्त र सहकारीले पु¥याएको योगदान समावेश गरिएको छैन। त्यसलाई समेट्ने हो भने बैंकिङ पहुँच अझ बढ्ने केन्द्रीय बैंकको भनाइ छ।

Facebook Comments