अनिकालमा घरभित्र भाँडा बज्न थाल्छन् : प्रधानमन्त्री ओली

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्ने भएकाले त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुने बताएका छन्।

भिडिओ मार्फत् नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन्। तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ’, ओलीले भने, ‘मन आत्तिएको बेला गर्नेले गरेन कि भन्ने आशंका मनमा पैदा हुन सक्छ। गरेको पुगेन की भन्ने लाग्न सक्छ। अझ छिटो अझ राम्रो र तत्काल परिणाम आउने गरि काम गरिदए हुन्थ्यो भन्ने लाग्न सक्छ।‘

नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभ-कामना भिडिओः

प्रधानमन्त्री ओलीले भने – ‘तर अन्योल र भ्रममा पर्ने होइन मन बलियो बनाउनु आवश्यक छ।‘

प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामनासँगै कोरोना परिक्षणको दायरा बढाउने उल्लेख गरेका छन्। त्यस्तै सांसद विकास कोषको बजेट रकमान्तर गर्न आइरहेको सुझावबारे ध्यान गएको उल्लेख गरेका छन्।

उनले सरकारले गरेका काम आफ्सेआफ र संयोगले भएको भनेर नसोच्न आग्रह गरेका छन्।

‘यतिसम्म पनि नभनौँ सिमित कमी कमोजोरी र हुन बाँकी रहेका काम सरकारको अकर्मण्डयताको परिणाम हुन्’, ओलीले भने, ‘हामी यति त संवेदनशिल बनौँ। हाल भइरहेका कामहरु दिनरात खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र संबद्ध श्रमिकको मिहिनेतको परिणाम हुन्। सिमित स्रोत-साधनका बाबजूद हामीले गरिरहेका कामहरु सकरात्मक छन्।‘

नयाँ वर्षको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले मुलुक कोरोना भाइरसका कारण अफ्ठ्यारो अवस्थामा रहेको बताए।

कोरोनाका कारण देशको उत्पादन र उत्पादन प्रणालीमा परेको असरलाई सरकारले आफू मताहतका निकायहरूबाट अध्ययन भइरहेको र त्यसको निष्कर्ष आएपछि नीति तथा कार्यक्रममार्फत बजेटमा मार्फत सार्वजनिक गर्ने बताएका छन्।

ओलीले यतिखेर सरकारको सारा ध्यान कोरोना भाइरसले निम्त्याएको विपद्सँग लड्नमा रहेको स्पष्ट पारेका छन्।

 

‘हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिक्ता नागरिकहरूको स्वास्थ्य सुविधा र सुरक्षा हो। यतिबेलाको सबैभन्दा महत्वपुर्ण विकाश निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने हो’, सम्बोधनमा उनले भने ‘त्यसैले अहिले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरूको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित गरेका छौं। जतिबेला हामीले यस महामारीको ग्राफलाई सिधा पार्छौं त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीव्रता दिन लगानी, लगानी अनि फेरी लगानीको नीति अपनाउने छौं।’

Facebook Comments