छन्द-साधना पुरस्कार माहाकाव्यकार न्यौपानेलाई

काठमाडौं : छन्द-तरङ्ग’ले २०७६ देखि हरेक वर्ष छन्द कविताका एक  विशिष्ट साधकलाई प्रदान गरिँदै आएको ‘छन्दसाधना पुरस्कार–२०७७’ नेपाली छन्दकविताका अथक साधक महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली काव्यको इतिहासमा नै शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशनका साथै १० महाकाव्य, १० खण्डकाव्य, सयौँ फुटकर कविताको प्रकाशन र प्राथमिककालदेखि हालसम्मका समग्र छन्दोबद्ध कृतिको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ।

रु  २५ हजार  र प्रमाणपत्र रहेको उक्त पुरस्कार वातावरण सहज हुनासाथ प्रदान गरिने संस्थाका संस्थापक तथा संयोजकद्वय रामप्रसाद ज्ञवाली र देवी नेपालले जानकारी दिए। नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित ज्ञवाली र नेपालको सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेका अवसरमा २०७५ भदौ २२ गतेदेखि शुरु गरिएको ‘छन्द–तरङ्ग’ले आफ्नो दुईवर्षे यात्रा पूरा गरेको छ। हरेक महिनाको तेस्रो शुक्रबार फरक फरक पुस्ताका तीन कविका पाँचपाँच कविता प्रस्तुत गर्दै आएको छ।

Facebook Comments