कुमार केसी
एकाबिहानै उठें

यसो पर्दा उघारी बाहिर हेरें
झिसमिसे अँध्यारो छ
झमझम पानी परिरहेको छ
सडक सुनसान
नउघ्रिएको गजधुम्मे आकाश
लाग्यो प्रकृति देबी आज त्यति खुसी छैनन
पोलमा बिजुली बत्ती एकनास बलिरहेको छ
पोलको टाउकोमा काग बसेको रहेछ
कागले मलाई र मैले कागलाई हेराहेर गर्यौं
ऊ भुर्र उडेर अर्को दिशातिर हानियो
आखिर मान्छेको मन न हो
काग देखेर मेरो मन
काग तिहार हुँदै भाइ तिहारसम्म पुग्यो
बाल्यकालको तिहार याद आयो
पहाड घरमा मनाएको भाइटिका सम्झायो
तराइको देउसी भैलो र साथीभाइ सम्झायो
एकाएक मलाई मेरी दिदीको याद आयो
दिदीको आफ्नै हातले मेरो लागी ऊनेको
आफ्नै फूलबारीको
पहेलपुर सयपत्री मालाहरु याद आयो
आमा र दिदीले मामा र मेरो लागी
पकाएको सेलरोटीको उही बासना महशुश भयो
दिदीले बिहानै पँधेरामा नुहाएर
गाग्रीमा पानी बोकेर ल्याएको अनि घर लिपेर
मूलढोकामा तोरीको तेल र सप्तरंगी रंगले
सुन्दर धर्को कोरेको सम्झनामा पुरै डुबें
मलाइ छिट्टै नुहाएर आइज
टिका लाउने बेला भयो भनेको
उही माया मिसिएको आवाज कानमा गुन्जियो
परालको नयाँ गुन्द्रीमा टाटेपाटे कम्बल बिछ्याएर
वरिपरी तेल र पानीको रेखा बनाउदै
मेरो परिपरि घुमेको याद आयो
मेरा भाइका शत्रुनाश हुन भनेर
ढोकामा घजम्म ओखर फुटाएको सम्झें
पहिला दुवै कानमा तोरीको तेल लगाएको
बाल मिलाईदिदै निधारमा मुसारेको
अनि तीन धर्के दयो माथी
सप्तरंगी अबिरले रंगीन बनाएको
एक एक चित्र मनमा
चलचित्रको दृश्य बनेर आए
दिदीले ठुला ठुला थुंगा भएका सयपत्री माला
आहा! एउटा देब्रेतिर फर्काएर
अर्को दाहिने फर्काएर
अनि, एउटा सीधा घाँटी बाट छातीसम्म लर्केको
निधारमा सप्तरंगी टिका
गलामा माला
शिरमा ढाकाटोपी
थालीहरुमा अनेक खानेकुरा
अनि, दिदीको खुट्टामा
पुरै झुकेर ढोग गरेको त्यो क्षण
यी सबै सबै
पहाडदेखि तराइ झर्दासम्मका
बच्चादेखि एक दशक पहिलेसम्मका
दिदि सयपत्री र मेरो साइनो
अब केवल सम्झनामा कैद छन
सयपत्री फुल देख्दा तपाइको
यादले भक्कानिन्छु
तपाईको हात र मेरो निधार भेट नहुँदा
के ती सबै मैले नै मनाएका तिहार हुन त जस्तो लाग्छ
तपाई यस धर्तीमा नहुँदा पनि
मेरा लागी,
केवल तपाई र सयपत्रीका सम्झनाहरु यादगार छन
यीनै सम्झना मेरा अहिलेका तिहार हुन दिदी
यीनै सम्झनाहरु !!
गोबर्धन पुजा, १५ नोभेम्बर २०२०
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021