एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेला नेपाली सेलिब्रेटीहरुको भर्चुअल मेला हुने

  • 11
    Shares

लन्डन । लण्डन काठमाडौँ सम्बाददाता

नेपलिज ब्रिटिश कम्युनिटी यूकेले आउंदो मार्च ६ शनिबार स्थापनाको ११ औं वार्षिकोत्सव  भर्चुअल प्लेटफर्म जुममा  मनाउने भएको छ । कोरोना महामारीका कारण बेलायत लकडाउनमा रहेकाले ‘भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउन लागिएको हो ।

संस्थाको वार्षिकोत्सवबारे जानकारी दिन शनिबार आयोजना  गरेको भर्चुअल पत्रकार सम्मेलनमा संस्थाका संयोजक राज ओझाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै कार्यक्रमलाई ‘विशेष मनोरन्जन २०२१’ नामाकरण गरेको कुरा बताए। नेपालका चर्चित सेलिब्रेटीहरुले प्रस्तुति रहने उक्त  कार्यक्रम बेलायतको समय अनुसार दिउसो २ देखि ४ बजेसम्म हुने  छ  भने कार्यक्रममा लोकप्रिय गायक-गायिकाहरु राज सिग्देल, एलिना चौहान, संगीतकार गायक वसन्त सापकोटा, कवि नवराज पराजुली, हांस्यकलाकारहरु मनोज गजुरेल र जितु नेपाल लगायतले प्रस्तुति दिने तय भएको छ ।

करिब दुई घण्टा हुने कार्यक्रममा संस्थाकै आयोजनामा तीन वर्ष अगाडि लन्डनमा भएको पहिलो कविता कन्सर्टमा सहभागी  श्रष्ठाहरु नृपेश उप्रेती, रमेश कायस्थ, मन्जु भण्डारी, फडिन्द्र भट्टराई, नारायण गाउंले तथा कलाकारहरु आशिषराज र दीपक थापाको पनि जोडदार प्रस्तुति रहने  छ ।

कोरोना कहरले सबैजना आक्रान्त भएका बेला बेलायतवासी नेपाली समुदायका साथै देश विदेशमा छरिएर रहेका समस्त नेपालीहरुको मुहारमा थोरै हांसो ल्याउने उद्देश्यले मनोरन्जनात्मक कार्यक्रमको परिकल्पना गरिएको कुरा संस्थाका संयोजक राज ओझाले बताए ।

संस्थाका सांस्कृतिक संयोजक किरण अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने संस्थाका सचिव रविन्द्र अधिकारीले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । संस्थाका न्यूज एण्ड मिडिया संयोजक जगन कार्कीले प्रश्नोत्तर कार्यक्रमको मध्यस्तता गरेका थिए ।

बेलायतमा दर्ता भएको उक्त च्यारिटी संस्था एनबीसी यूकेले नेपाल तथा बेलायतमा विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments