बेलायतको जनगणना २०२१ : नेपालीको अवस्था र संघ संस्थाको भूमिका

  • 350
    Shares

यादब कुमार श्रेष्ठ

जनगणना एक सर्वेक्षण हो जसमा कुनै देश वा क्षेत्र विशेषको मानिसहरू तथा घर परिवारको सङ्ख्या सङ्कलन  र प्रकाशन गरिन्छ ।  त्यस क्षेत्रका जनतालाई  आवश्यक पर्ने यातायात, शिक्षा तथा स्वास्थ्य लगायतका सेवाहरूको व्यवस्था गर्न, र कल कारखाना उद्योग इत्यादि स्थापनाका लागि रणनैतीक योजाना बनाउन सरकार , अनुसन्धानकर्ताहरू, स्थानीय  निकायदेखि परोपकारी संघ संस्थासम्मका सबैले जनगणनाका नतिजाहरूको उपयोग गर्छन् । त्यसैले वर्तमानमा वा भविष्यमा यस्ता सेवा सुविधा पाउनका लागि जनगणनामा सहभागी हुनु सबै नागरिकको कर्तव्य हुन्छ ।

हरेक दश वर्षमा जनगणना गरिने विश्वव्यापी मान्यताअनुसार बेलायतमा पनि आगामी २१ मार्च २०२१ मा तीनवटा राज्य इङ्गल्यान्ड, वेल्स र नदर्न आयरल्यान्डमा जनगणना हुन गइरहेको छ । स्कट्ल्याण्डमा भने २०२२ मा हुने बताइएको  छ।  

बेलायतबासी नेपालीहरूले पनि यस् पटकको जनगणनालाई ज्यादै महत्वका साथ हेरेका छन् । बिगतदेखि नै रोजगारी  तथा  अध्यायनको सिलसिलामा नेपालीहरू बेलायत आई बसोबास गरेता पनि सन् २००४ तथा २००९ मा बेलायती सरकारले पूर्व ब्रिटिश गोर्खा सैनिकहरू तथा तिनका परिवारलाई बेलायतमा बसोबास गर्न दिने नीति अनुरूप ठूलै सङ्ख्यामा नेपालीहरू बेलायत भित्रिएका छन् । जसका  कारण नेपालीहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । 

बेलायतको विद्यमान जातीय समूहमा अन्य एसियन मुलुकहरू :- भारत , पकिस्तान , बङ्ग्गलादेशजस्तो नेपालको छुट्टै व्यवस्थित पहिचान छैन। यदि नेपालीहरू पनि सूचिकृत हुन सकेमा नेपालीहरूको छुट्टै पहिचान हुन सक्ने र अस्पताल, स्थानीय सरकारी संस्थाहरूमा नेपाली भाषामा पनि सूचना सामग्रीहरू उपलब्ध हुन सक्ने, आवश्यकता अनुसार सहयोग परियोजनाहरूको प्रावधान हुन सक्ने, प्रतिनिधित्व बढ्न सक्ने आदिका कारण यस पटकको जनगणनामा नेपालीहरूको पनि उत्साह र महत्वका साथ सहभागिताको लागि तयारी भइरहेको छ । यस सन्दर्भमा सन् २००६ देखि नै बेलायतमा नेपालीहरूको बारेमा थिंक ट्यांकको रूपमा स्थापित तथा ज्ञान अभिवृद्धिमा लागेको सेन्टर फर नेपाल स्टडिज् युके (सीएनएसयुके) ले निरन्तर अभियान चलाई रहेको छ । गैर  आवासीय नेपाली संघ (एनआरएनए) युकेले विगतका दिनदेखि नै सीएनएसयुकेसँग हातेमालो गर्दै आएको देखिन्छ । यसपटक एनआरएनए युकेले इङ्गल्यान्ड राज्य समितिहरूलाई नेपाली समुदायमा जनगणना सम्बन्धी सचेतना अभिवृद्धि गर्न समन्वय गर्ने जिम्मा दिएकोछ । सो समिती ले विभिन्न क्षेत्रमा कार्यरत संघ  संस्थाहरूसँग सहकार्य गर्दै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिरहको छ । त्यस्तै यहाँ रहेका विभिन्न प्रतिनिधिमूलक संघसंस्थाहरूले पनि विशेष चासो दिएर सबै नेपालीहरूलाई यस पटकको जनगणनामा सहभागी गराउन आआफ्नो क्षमता र सुविधाअनुसार प्रचारात्मक कार्यक्रम गरिरहेका छन् ।

बेलायतमा रहेका नेपालीहरूमा पूर्व ब्रिटिश गोर्खा सैनिक र उनका परिवारको सङ्ख्या अत्याधिक छ र यस समूहमा धेरैजसो वृद्धवृद्धाहरू छन् । अंग्रेजी भाषामा समस्या तथा ईन्टरनेट कम्प्युटरको सरल र सुलभ पहुँच नहुँदा यी समूहका नेपालीहरू जनगणनामा छुट्न सक्ने सम्भाबना प्रबल छ  । त्यसैले यी समूहलाई समेट्न प्राथमिकताका साथ विशेष कार्यक्रम ल्याउनु पर्ने देखिन्छ । बेलायतमा धेरै सङ्ख्यामा प्रतिनिधिमुलक समाजसेवी संघ संस्थाहरू छन् र प्राय नेपालीहरू कुनै न कुनै संस्थामा आवद्ध छन् । त्यसैले यस जनगणनामा नेपालीहरूको सहभागीता बढाउन यस्ता संघ संस्थाहरूको अहम्म भूमिका रहन्छ।  

बेलायतको जन गणनामा जातीय समूह :

बेलायतको जनगणनाको इतिहास सन् १८०१ बाट सुरु भएको र दोस्रो विश्वयुद्धको समयमा बाहेक हरेक १० वर्षमा यो गणना हुँदै आएको छ  । तर जातीय समूह सम्बन्धी प्रश्नावली भने सन् १९९१ को जनगणनाबाट मात्र  समावेश गरेको देखिन्छ । विभिन्न कालखण्डमा चरण चरणमा यहाँ धेरै मुलुकबाट आप्रवासीहरूको आगमन भएको पाइन्छ। सुरुका दिनमा आप्रवासीहरूले विभिन्न विभेदहरू बेहोर्नु परेको भएता पनि समयक्रममा  अवसरको समानता र विभेद विरुद्धको नीतिल्याएर सरकारले जातीय समूहलाई पनि विभिन्न क्षेत्रमा समावेश तथा मान्यता दिने कोसिस गरिरहेको छ । २००१ को जनगणना पश्चात राष्ट्रियता (बहुराष्ट्रियता) का विषयले पनि प्रवेश र चर्चा पाएसँगै २०११ को जनगणनामा बेलायत बाहेक अन्य राष्ट्रियताको पनि प्रश्नावलीमा समावेश गरेको पाइन्छ ।

२०११ को जनगणनाको प्रतिवेदनमा उल्लेख भएअनुसार हाल बेलायतमा देहायका तालिकामा देखाइए बमोजिम पाँचवटा समूहमा १८ वटा जातीय समूहहरू र तिनी हरूको सङ्ख्या यस प्रकार थिए ।  

हाम्रो जनसङ्ख्या जातीय समूहमा सुचीवद्ध हुने प्रयास :

अहिलेसम्म बेलायतको जनगणना तथा सरकारी अभिलेखमा भारतीय, पाकिस्तानी , बङ्गलादेशी, चाइनिज जस्ता नेपालका छिमेकी देशका मानिसको राष्ट्रिय पहिचान उल्लेख भएको भएता पनि आधिकारिक  रूपमा नेपाली को छुट्टै पहिचान खुल्ने गरी कुनै टिक बक्सको प्रावधान रहेको छैन । हालसम्म नेपालीहरूले ‘Any other Asian background’ मा आफूलाई समावेश गर्दै आएका छन् ।

२०११ को जनगणना अनुसार बेलायतको इङ्गल्यान्ड वेल्सको कुल जनसङ्ख्या ५करोड ६० लाख ७५ हजार ९१२ मा एसियनको सङ्ख्या ४२ लाख १३ हजार ५३१ (.%) रहेको छ । जसमा इन्डियन १४ लाख १२ हजार ९५८ (.%), पाकिस्तानी ११ लाख २४ हजार ५११ (%), बंगलादेशी ४ लाख ४७ हजार २०१ (.%), चाइनिज ३ लाख ९३ हजार १४१ (.%) र अन्य एसियन क्याटेगोरीमा ८ लाख ३५ हजार ७२० (.%) रहेको छ । 

यहाँ प्रश्न उठ्न सक्छ की के बेलायतमा नेपालीहरूको जनसङ्ख्या छुट्टै पहिचान स्थापित गर्न प्रयाप्त छ ?

बेलायतको तथ्याङ्क सम्बन्धी  आधिकारिक संस्था अफिस अफ नेशनल स्टाटिस्टिक (ONS) का अनुसार सन् २००१ को जनगणनामा नेपालीको सङ्ख्या ५ हजार ९४३ रहेको थियो भने २०११ मा इङ्ग्ल्याण्ड र वेल्स गरी ६० हजार २०२ र स्कटल्यान्डमा १२९८ रहेको देखाएको छ ।

नेपालीहरूको बारेमा लामो समयदेखि अध्ययन गर्दै आएको संस्था सेन्टर फर नेपाल स्टडिज युके (CNSUK) ले सन् २००८ मा नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्ने क्रममा करिब ७२ हजारको जनसङ्ख्या आधिकारिक रूपमा पुष्टि गरेको थियो । यसमा पनि धेरै छुटेको हुन सक्ने र यो दश वर्षको अवधिमा पूर्व ब्रिटिस आर्मि (गोर्खा) हरूको आगमन भएको छ ।  २००८ देखि २०१२ सम्म विद्यार्थीहरूको लागि खुकुलो नीतिका कारण बेलायतमा बसोवास गर्ने नेपालीहरूको सङ्ख्या अत्यधिक मात्रामा बढेको थियो यद्यपि धेरै विद्यार्थी उनका परिवारहरू पछि फिर्ता हुनु पर्यो । अहिले बेलायतमा धेरै नेपाली बालबच्चाको पनि जन्म भएको छ । यदि सबै नेपाली यस जनगणनामा सहभागी हुन सकेमा नेपालीको सङ्ख्या उल्लेख्य मत्रामा वृद्धि हुन सक्ने सम्भावना छ ।  

हुन त जातीय समूहमा छुट्टै पहिचान सहित सुचिकृत हुन चाहिने जनसङ्ख्या एवम् आवश्यक मापदण्डको बारेमा केही उल्लेख गरेको पाईदैन । २००१ को जनगणनामा चाईनिजको सङ्ख्या २ लाख ४७ हजार ४०३ कुल जनसङ्ख्याको ०.% थियो , त्यस्तै २०११ को जनगणनामा ३ लाख ९३ हजार १४१ (.%) थियो र चाईना  सुरु (सन् १९९१) देखि नै छुट्टै पहिचान साहित् सुचिकृत छ। त्यसरी नै सन २०११ को जनगणनामा  छुट्टै पहिचान साहित सुचिकृत भएका समूहहरूमा अरबीयनको २ लाख ३० हजार ६०० (0.%) र जिप्सी ५७ हजार ८६० (0 .%) जनसङ्ख्या छ । 

यस् परिप्रेक्ष्यमा यदि सबै नेपालीले यस जनगणनामा सहभागी भई उल्लेख्य सङ्ख्या पुर्‍याउने र दुताबास, गैर आवासीय नेपाली संघ, भूतपूर्व गोर्खा संघसंस्थाहरूले सम्बन्धित निकायमा पहल गरेमा नेपालीको छुट्टै पहिचान पाउने प्रवल सम्भावना देखिन्छ ।

यिनै कारणले गर्दा २०२१ को जनगणनामा सबैको सहभागिता हुनु जरुरी छ । जनगणनामा भाग लिँदा ध्यान दिनु पर्ने केही कुराहरू तलको खण्डमा प्रस्तुत गरिएको छ ।

फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू: 

  1. कानूनतः सबै नागरिक जनगणनामा सहभागी हुनै पर्छ। यदि सहभागि  नभएमा वा  गलत विवरण दिएमा  £ १००० सम्म जरिवाना हुन सक्छ ।
  2. एउटै ठेगानामा बस्ने व्यक्तिहरूको समूह (नाता सम्बन्ध नभए पनि) वा जनगणनाको रात घरमा भएका पाहुना पनि समावेश हुनु पर्दछ।
  3. प्रकाशित कार्यक्रमअनुसार प्रत्येक घरले मार्च   ३ देखि १२ सम्ममा १६ डिजिटको एक्सिस कोड प्राप्त गर्ने छ । सो कोडको माध्यमबाट अनलाइन फाराम भर्न सकिने छ । अनलाइन फारामको विकल्पमा कागजी फाराम पनि मगाउन सकिने छ ।
  4. जनगणनामा कोही पनि नछुटुन् भनेर विशेष गोप्यताको व्यवस्था हुने भएकोले गैरकानूनी बसोवास गरेका, भत्ता वा सुविधा पाइरहेका, कर तिर्न बाँकी, बैंकक्रप्ट सबै खाले नागरिकहरू समावेश हुन पाउने छन् ।जनगणनामा सम्बन्धी व्यक्तिगत सुचनाहरू प्रकाशन हुँदैन र ONS ले  तथ्यांक १०० बर्ष सम्म सरकार लगायत कसैलाई पनि नदिने भएकोले  सबै खाले नागरिकहरूले  निर्धक्क भएर  फाराम भर्न   सक्छन् ।
  5. फाराम २१ मार्च २०२१ का दिन  भरिसक्नु पर्नेछ । कुनै कारणबस सो दिन बुझाउन नसकेमा छिट्टै वा एक हप्ता भित्र भरि बुझाई सक्नु पर्नेछ ।
  6. जात/पहिचानसँग सम्बन्धित व्यक्तिगत प्रश्नावलीहरूमा नेपालीहरूले निम्न बमोजिम भर्नु उपयुक्त हुने यहाँ रहेका प्रतिनिधि मुलक नेपाली संस्था हरूको आम धारणा रहेको छ।

)  बुँदा १४ मा नेशनालिटी सम्बन्धी प्रश्न छ। दोहोरो तेहोरो नागरिकताको सिद्धान्तअनुसार यो प्रश्नमा एक भन्दा बढी उत्तर दिन पाइन्छ । जसमा बृटिस, इंग्लिस, वेल्स, स्कटिस र नर्दन आइरिस र अन्य विकल्प दिइएको छ । आफ्नो नानागरिकता  अनुसारको कोठामा  टिक लगाउने अनि Other मा पनि टिक लगाएर दिएको कोठामा NEPALI लेख्न सकिन्छ 

)   बुँदा १५ मा जातीय सम्बन्धि प्रश्न छ; यो हाम्रो जातीय पहिचानको लागि अत्यन्त महत्त्वपूर्ण प्रश्न हो । त्यसको C मा Asian or Asian British अन्तर्गत Any other Asian Background मा NEPALI लेख्ने ।

)   बुँदा १६ मा धर्म सम्बन्धी प्रश्न छ जसमा आफूले मान्दै आएको धर्मको कोठामा टिक लगाएर वा नभए अन्यमा गएर लेख्नु पर्दछ । यद्यपि यो प्रश्न  ऐच्छिक रहेको छ ।

)  बुँदा १८ मा मुख्य भाषा सम्बन्धी प्रश्न छ । यो बुँदामा बिशेष ध्यान आवस्यक छ । अन्य Other  मा टिक लगाएर NEPALI लेखने ।

)  नेपालीहरूमा प्रायः NEPALI वा NEPALESE लेख्ने प्रचलन छ । यो डिजिटल वा पेपर फाराम दुवै मेसिन रिडेवल भएकोले सबैले एकरूपता कायम गरेमा प्रभावकारी हुनेछ । सीएनएसयुके, एनआरएन लगायतका संस्थाहरूले नेपाली नै लेख्न प्रवर्धन गरिरहेको अहिलेको परिप्रेक्ष्यमा सबैले नेपाली “NEPALI” लेख्न बढी उपयुक्त देखिन्छ ।  

संघसंस्थाको भूमिका :

बेलायतमा नेपाली समाजमा धेरै प्रतिनिधिमूलक पेसागत, धार्मिक, जातीय, क्षेत्रीय संघसंस्थाहरू छन् । ती संस्थाहरूको सञ्जालमा प्रायःजसो नेपालीहरू आवद्ध छन् । यी संघसंस्थाले जनगणनामा धेरैभन्दा धेरै नेपालीलाई सहभागी गराउन भूमिका खेल्न सक्नेछन् । नेपालीको पहिचानलाई प्राथमिकता दिइ आफ्नो सञ्जालमा रहेकाहरूलाई सम्पर्क गर्ने, सूचना प्रदान गर्ने र आवश्यक पर्नेलाई फाराम भर्न समेत सहयोग गर्न सक्छन्  । त्यसको लागि सरकारले पनि आह्वान गरेको छ र तपसिलका उपायहरू सिफारिस भएका छन् ।

  

  1. आफ्नो समुदायमा जनगणना सम्बन्धी सचेतना कार्यक्रमहरू आयोजना गर्ने । यस सम्बन्धमा आफ्ना समुदायलाई सुसूचित गर्ने । यस्को लागि सामाजिक संस्थाहरूले आफ्ना सदस्यहर लाई टेलिफोन बाट जानकारी दिने, पम्फ्लेट , पोस्टर हरू उपलब्ध गराउने। सम्भव भए जूम आदि मीटिङ आयोजना गर्ने। विशेषज्ञहरूसँग सम्वाद कार्यक्रम गरी जानकारी दिने ।
  2. फाराम भर्नका लागि समुदायका सदस्यहरूलाई सहयोग गर्ने। यदि लकडाउन खुकुलो भएमा संघसंस्थाहरूले शिविर सञ्चालन गरी सुविधा दिएमा विशेष गरेर गोर्खा परिवारका वृद्ध आमाबुवाहरूलाई धेरै सुविधा हुनेछ ।
  3. विभिन्न क्षेत्रमा स्वएम सेवक खटाएर आवश्यक परेका व्यक्तिहरूलाई टेलिफोनबाट भए पनि सम्पर्क राखी  फारम भर्न सहयोग गर्ने।
  4. जनगणना सम्बन्धी वा यस प्रकृयामा कुनै असुविधा भएमा वा प्रश्न भएमा ओएनएसका स्थानीय सेन्सस इन्गेजमेन्ट मेनेजरलाई सम्पर्क राख्ने वा आफ्नो समुदायका स्वयंसेवक समाजसेवीहरूको सम्पर्क सुलभ बनाउने ।सामान्य सोधपुछको लागि ०८००१४१२०२१ र भाषा सम्बन्धी सेवाको लागि०८००५८७२०२१ टेलेफोनमा निशुल्क संपर्क गर्न सकिन्छ ।     

बेलायतको यस पालिको जनगणनामा बढीभन्दा बढी नेपालीहरूलाई सहभागी  गराई बेलायतको तथ्यांक तथा सरकारी अभिलेखमा नेपालीको छुट्टै पहिचान स्थापित गर्न यहाँ रहेका हरेक नेपाली लागि पर्नुपर्ने हुन्छ। त्यसमा पनि यहाँ अवस्थित संघ संस्था हरूको आफ्नो समुदाय, सदस्य हरूमा राम्रो सन्जाल रहेकोले   संघ संस्था हरूको अहम भूमिका रहन्छ। 

जनगणना आफूलाई अभिलेखमा सूचीकृत गर्ने महान र दुर्लभ अवसर हो । त्यसमा पनि बेलायतमा नेपालीहरूको पहिचान स्थापित गर्न सुवर्ण मौका भएकोले यसमा आफू पनि नछुटौँ र आवश्यक पर्ने व्यक्ति वा समुदायलाई सक्दो सहयोग गरौँ । हाम्रो सानो प्रयास र योगदानले बेलायतको तथ्याङ्कमा नेपाल र नेपालीको छुट्टै पहिचान स्थापित हुनेछ र हाम्रा भावी सन्ततीहरू यसमा हामीप्रति गौरवान्वित हुनेछन् ।

 सन्दर्भ :

  1. Adhikari, K.P. (2011).‘Why should we write ‘NEPALI’ in 2011 UK Census?’15 March. Available at:  (www.cnsuk.org.uk (Accessed : 20 Feb 2021))
  1. Adhikari, K.P., & Laksamba, C.K. (2018). ‘Counting Ourselves: CNSUK’s Survey of Nepalis in the UK’ 2008. In D.N. Gellner and S.L. Hausner (eds.), Global Nepalis: Religion and Culture in a New Diaspora, Delhi: Oxford University Press, pp. 303–31.2.
  1. Adhikari, K.P. (2011). ‘Census’, Centre for Nepal Studies UK,  Newsletter,1, (1) 
  1. Adhikari, K.P., Gellner, D.N. 2012. Conclusions: Pathways to Integration. In K.P. Adhikari (ed.) Nepalis in the United Kingdom: An Overview. Reading: Centre for Nepal Studies UK, pp. 123–50.
  2. GOV.UK (2021). Ethnicity facts and figuresAvailable at www.ethnicity-facts-figures.service.gov.uk/style-guide/ethnic-groups  (Accessed: 21 Feb 2021).
  3. Khatri, K (2021). ‘किन बेलायतको राष्ट्रिय जनगणनामा नेपालीको सहभागिता आबश्यक ?’, Londonkathmandu.com, 18 Feb. Available at https://www.londonkathmandu.com/2021/02/18/ (Accessed : 21 Feb 2021)
  4. Magar, N.K., (2021). ‘बेलायतको राष्ट्रिय जनगणना नेपालीको सहभागिता’, Everest Time, UK , 9 Feb. Available at http://everesttimes.net/archives/21262?fbclid  (Accessed : 21 Feb 2021). 
  5. Office for National Statistics UK (2016). ‘ONS Census Transformation Programme’ Available at file:///C:/Users/Family/Downloads/topicreport04ethnicityandnationalidentitypostreleaseversion….pdf (Accessed: 21 Feb 2021)
  6. Office for National Statistics UK (2021). ‘Household Questionnaire’ Available at https://www.ons.gov.uk/ (Accessed: 21 Feb 2021).
Facebook Comments