एकजोर आँखा

  • 53
    Shares

अनिश्चित भविष्य लिएर
जन्मने छोरीहरु
कहिले भ्रुणबाट तुहिन्छन
कहिले पुर्ण शरीरबाट लुटिन्छन
यहिं समाजले
मनोरन्जनको साधन बनाउंछ
देह व्यापार गर्न लगाउंछ र
आफु पानी माथिको ओभानो बन्छ
उसैको कथा बेच्छ आँसु बेच्छ र पैसा कमाउंछ
शहरमा आलिशान महल ठडाउंछ
चोक चोकमा भन्दै हिंड्छ
आइमाईकमजोर शक्तिहीन हुन्छन
भर बिश्वाश हुंदैन क्षमता हुंदैन
यो गर्न हुंदैन त्यो गर्न हुंदैन
यो किन गरेको ?
त्यो के गरेको ?
किन नगरेको ?
प्रश्नै प्रश्न !

के उपभोगजन्य बस्तु मात्र हुन आइमाईहरु?
अथवा बच्चा जन्माउने मेशिन मात्र ?
गीत गजल सुन्नुहोस, कविता पढ्नुहोस
मन्दिरमा भगवानका मुर्तिहरु हेर्नुस
जताततै नारी पात्र भेटाउनुहुन्छ
जव यथार्थ जीवनमा फर्किनुहुन्छ
हत्या, हिंसा, बलत्कार र
लैंगिक विभेदको जांतोले
भौतिक र मानसिक रुपमा पिसिरहेको छ
जसरी शिशिरमा पात झरेर रुख सिख्रो हुन्छ

त्यसरी नै आइमाईका सपनाहरु
जिन्दगीबाट झरिरहन्छन
आंखाबाट बगिरहन्छन
भत्किरहन्छन मक्किरहन्छन र
सिसा जसरी झर्याम्म फुटिरहन्छन
जिन्दगी खोज्न परदेश हिंडेका
धेरै दिदीबहिनीहरु घरै फर्केनन
उज्ज्वल भविष्य किन्न
स्कूल गएका धेरै नानीहरु
रगताम्य भएर बाटोबाटै अस्ताए
यस्तै ह्रदयविदारक विभत्स चित्रले
हरेक आमाहरुको मन क्षतविक्षत भैरहेको छ
बलात्कृत भैरहेको छ
मलाई ती भगवानलाई विन्ति गर्न मन छ
आइमाइलाई पाठेघर नदिनु भगवान
आइमाईहुनुको आत्मसम्मान
आजसम्म थोरै मात्रले पाएका छन
सक्षम र सवल महिलामाथि पनि
बारबार प्रश्न उठाइरहन्छ औंला ठडाइरहन्छ समाजले
अग्नि परिक्षा दिइरहनु पर्छ आइमाईले
वास्तवमा नारी अस्तित्वलाई
कसैले रिलमा कसैले रियलमा
बारम्बार नंग्याइरहन्छन
अनेक अनेक बहानाले
शोसित गरिरहन्छन
आइमाईबाट शासित हुन
लज्जाबोध हुन्छ

मान्छे जन्माउने कारखाना मात्र होइनन् आइमाई!
आफ्ना हरेक सपनाहरुसंग सौदाबाजी गरेर
सन्तानलाई निस्वार्थ प्रेम दिन सक्ने
उनको स्वभाव नै साक्षात ईश्वरीय भाव हो
संसारका सबै जिवित मानव भित्र
आमाको अस्तित्व जिवन्त छ
संसारका सबै आइमाईहरु आमा हुन
जीवनदायिनी तिनै आमालाई
किन हेयको दृष्टिले हेर्छ समाजले ?
अवला विधवा असक्षम भनेर
बारबार तीर घोंच्छ समाजले
आफु जन्मेको घर नै सुरक्षित छैन
स्कुल कलेज अफिस सबै असुरक्षित
तिनैलाई वोक्सीको आरोप लगाउंछ
अनुहारमा एसिड छर्किदिन्छ
दाइजो,छाउगोठ यस्तै धेरै निहुमा
प्रत्यक्ष अप्रत्यक्ष रुपमा
शारीरिक र मानसिक हिंसा गरिरहन्छ
तिनै हिंसालाई पार गरेर
अलिकति अगाडि बढेकाहरुलाई
निकृष्ट आरोप लगाउंछ बदनाम गर्छ
आइमाइको चरित्र हत्या गरेर
आफु पवित्र बन्ने पैतृक नियत नै
आइमाईको नियति बनेको छ
स्त्री जातीलाई तुच्छ र कमजोर मान्ने
तिनीहरुलाई प्रश्न गर्न मन छ
आठ महिनाकी बालिका
बलत्कार गर्ने पुरुष बलवान हो ?
के वृद आमाको बलत्कारी पुरुष सक्षम हो ?

अथवा किशोरीहरुलाई बलत्कारपछि
मारेर फरार हुन सक्ने
कानुनको नजरमा लुक्न सक्ने
अथवा कानुनलाई नै किन्न सक्ने
उनीहरु नै सफल मान्छे हुन ?
के तिनीहरु नै असल मान्छे हुन ?
के यी सबै मान्छेहरु
आमाको गर्भबाट आएका हैनन् र ?
अहम र दम्भको रेलगाडी कुंदाएर
समाज चलाउने महाशयहरुको लागि
महिला हिंसा केही होइन रे !
समाजमा घट्ने सामान्य कुरा हुन रे !
के ती महिला तपाइंकी आमा हुन सक्दिनन् ?
तीनै अपमानित महिला तपाइंकी दिदी बहिनी
छोरी बुहारी भतिजी जो पनि त हुन सक्छिन
यी मध्य कोही नभए पनि
आमा मन भएकी एक महिला त हुन
महिला हिंसालाई सामान्य र सरल मान्ने
यस्तै यस्तै विचारको कैदी
तपाईहरुलाई प्रश्न गर्न मन छ
तपाईंहरुको यहिं चिन्तनले
समग्र महिलाहरुको विकास होला ?
समतामुलक समाजको निर्माण गर्न सकिएला ?
जनतालाई राम राज्यको सपना बांडेर
झुटको खेति गर्ने भ्रष्टाचार उमार्ने
अनि सत्यको अग्निदहन गर्ने प्रवृतिले
कस्तो खालको मार्गदर्शन गर्ला ?
कस्तो नागरिक उत्पादन गर्ला ?
सभ्य समाज र असल नागरिक बनाउन
मान्छेहरुको मनको गहिराइबाट
विचारको उचाइबाट हेरिनु पर्छ
अन्याय, अत्याचार, हत्या, हिंसा
लैंगिक विभेद फेरिनु पर्छ
नारी, नारीवादी मात्र होइन
मानव भएर बांच्न सकुन
संसारका हरेक आइमाइहरु
मान्छे भएको हेर्न मन छ

प्रकृतिले पनि नारी ह्रदय
कोमल र प्रेमिल बनाइदिएको छ
भौतिक रुपमा सुन्दर बनाइदिएको छ
बौद्धिक सुन्दर बन्ने कोशिस गरौं
आन्तरिक रुपबाट सवल बनौं
सबैमाथि दयालु भाव राखौं
बाहिर समानताको नारा लगाइ
भित्र सस्तो श्रमिक बनाउने
मान्छेहरुको चर्को एकाधिकारबाट
आफ्नो मानव अधिकार मागौं
मानवतावादी भएर बांच्ने अभ्यास गरौं

पैतृक चिन्तनको बाइपंखी घोंडा चढेर
जुंगाको लडाइं लड्ने यो कुरुक्षेत्रमा
समयको गांधारी पट्टी खोलेर
अचानो जस्तै बांचेका
आइमाई जिन्दगी
फेर्न मन छ
हो सांच्चै मलाई
संसारका हरेक आइमाइहरु
मान्छे भएको हेर्न मन छ

समाजले गर्दै आएका
सबै प्रश्नहरु फेर्न मन छ
सांच्चीकै भनौं भने मलाई
मेरा यी एकजोर आंखा
संसारका हरेक आइमाईहरु
मान्छे भएको हेर्न लालायित छन
हो सांच्चै सबै आइमाईहरु
मान्छे भएको हेर्न
लालायित छन
मेरा
एकजोर
आंखा !

धन्यवाद
नमस्कार
(८ मार्च २०२१)
१११औं अन्तराष्ट्रीय श्रमिक महिला दिवसको यहाँहरु सम्पुर्णमा मेरो हार्दिक शुभकामना!

Facebook Comments
कुमार केसी