होली पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष

कुमार केसी

होली पर्व मुख्य रुपमा दानवता माथि मानवताको विजयको जगमा उभिएको हिन्दु चाड हो । यो पर्व भारतीय उपमहादीप र त्यसको सेरोफेरोबाट संसारका बिभिन्न देशहरुमा बसोबास गर्ने मुख्यत हिन्दुहरुले हरेक बर्ष फाल्गुन पुर्णिमाको दिन धुमधामसंग मनाउने गरिन्छ ।  यद्यपि, यसको रमझममा गैर-हिन्दु पनि उत्तिकै रमाएर मनाएको पाइन्छ ।  होलीलाई रंगहरुको पर्वको रुपमा पनि चित्रण गरिन्छ ।  यो एउटा सद्भाव, सांस्कृतिक तथा प्रतिकात्मक चाडको रुपमा स्थापित भएको पाइन्छ ।  फाल्गुन पुर्णिमाको दिन मनाइने हुनाले यसलाई फागु पर्व पनि भनिन्छ । नेपालमा पनि यो फागु पर्व हजारौं बर्षदेखि धुमधामसंग मनाइदै आएको पाइन्छ ।  यस पर्वमा खानपान, नाचगान तथा मनोरन्जन त हुन्छ नै त्यो भन्दा बढी यसलाई सद्भावको पर्वको रुपमा मनाइन्छ ।  एकापसका कटुता तथा वैमनस्यता भुलेर सुमधुर सम्बन्ध कायम गर्ने अवसरको रुपमा लिएको पाइन्छ ।  नेपालमा हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्नेहरुले पहिलो दिन र तराई क्षेत्रमा बसोबास गर्नेहरुले दोस्रो दिन गरि दुई दिनसम्म यो पर्व हर्सोल्लासका साथ मनाइन्छ । ती दिनहरुमा सार्बजनिक बिदा नै दिने गरिन्छ ।  यो छोटो लेखमा होली पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

बिभिन्न धार्मिक ग्रन्थ तथा लेखहरुमा होली पर्वको धार्मिक पक्ष बारेमा बिभिन्न तर्कहरु पेश गरेको पाइन्छ ।  खासगरी बिष्णु पुराणमा उल्लेखित वर्णन अनुसार त्रेतायुगमा कश्यप ऋषि र उनकी कान्छी श्रीमती दितीका जेष्ठ पुत्र हिरण्यकश्यपु (कतै हिरण्यकश्यप पनि उल्लेख भएको पाइन्छ ) नाम गरेका एक अत्यन्तै घमण्डी  असुर राजा थिए ।   उनका एक भाइ हिरण्यअक्ष र एक बहिनी होलिका थिए ।  हिरण्यकश्यपुले ब्रह्माको कठोर तपस्या गरेर “न कुनै मान्छेले न कुनै पशुले, न कुनै अस्त्रले न कुनै शस्त्रले, न दिनमा न रातमा र न घरभित्र न त घर बाहिर मार्न सक्ने” वरदान प्राप्त गरेका थिए ।  यस्तो शक्ति प्राप्त गरेपछि उनी उन्मत्त भए, सबै मठमन्दिर भत्काए, आफ्नो राज्यका प्रजालाई बिष्णु पुजा गर्न बर्जित गरे र आफुले आफैलाई भगवान घोषणा गरे ।  उनले आफ्नो वरदानको दुरुपयोग गरेर तीनै लोकमा हाहाकार सृजना गरे । उनका प्रजालाई आफ्नो पुजा गर्न अनिवार्य गरे तर उनकै एक सन्तान प्रल्हाद अत्यन्तै धार्मिक स्वभावका निस्के जो भगवान विष्णुका परम भक्त थिए ।  प्रल्हाद, बिष्णुको कठोर तपस्वी र भक्त भएपछी हिरण्यकश्यपुले उनलाई मार्न सबै प्रपन्च गरे तर उनलाई मार्न असफल भएपछि अन्तिम प्रयास स्वरूप आफ्नी बैनी  होलीकालाई प्रयोग गरेर प्रल्हादलाइ आगोमा जलाएर मार्ने योजना बनाए ।  होलीकाले पनि ब्रह्माबाट आगोमा जल्न नसक्ने सशर्त (अरुको अहित नगर्ने) वरदान पाएकी थिईन ।  हिरण्यकश्यपु र होलीकाको योजना अनुसार प्रह्लादलाइ काखमा राखेर अग्नी बेदीमा बसेकी होलिका ब्रह्माको वरदानको दुरुपयोग गरेकाले जलिन तर बिष्णु भक्त प्रह्लादलाइ केहि भएन ।  विष्णुले आफ्नो भक्तलाइ बचाएका कारण उनी सकुशल रहे ।  यही खुसीमा त्यसै युगदेखि खुसियाली  मनाउन शुरु गरिएको धार्मिक ईतिहास ग्रन्थहरुमा उल्लेख छ ।  हिरण्यकश्यपुको चरम अत्याचारको कारण भगवान विष्णुले आफ्नो चौथो अवतार नरसिंह (आधा मान्छे र आधा सिंह) अवतार लिएर उसलाई मारेको उल्लेख छ ।  कालान्तरमा यो खुसियाली मनाउने तरिकाले होलीको रुप लियो । होलीको यो नै मुख्य धार्मिक आधार मानिएको छ यद्यपि श्रीकृष्णलाई मार्न आएकी पुतना नामकी राक्षसलाइ बालक कृष्णले मारेको प्रसंग पनि यसैसँग सम्बन्धित मानिन्छ ।  यसरी पौराणिक र धार्मिक पक्षबाट हेर्दा यो चाड असत्य माथि सत्यको जितको पर्वको रुपमा स्थापित भएको मान्न सकिन्छ ।  हरेक दम्भ र घमण्ड बोकेका शासकहरु आफ्नै कारण पतन हुन्छन भन्ने प्रतिकात्मक संदेश यस कथामा अन्तर्निहित देखिन्छ । त्यस्तै, निशर्त समर्पण र भक्तिभावले सफलता प्राप्त हुने कुरा पनि प्रह्लादबाट शिक्षा लिन सकिन्छ ।

बसन्तपुरमा चीर खडा गरिएको तस्बीर

युगको बर्गीकरण अनुसार अहिले हामी कलि युगमा भएको मानिन्छ । समय क्रममा हामीले मानी आएका धर्म रीतिरिवाज पनि परिवर्तन भएका छन । माथि चर्चा गरिएको धार्मिक पृष्ठभूमिबाट शुरु गरिएको यो पर्व अहिले हिन्दुहरुको एउटा प्रमुख चाडको रुपमा स्थापित भएको छ । यसलाई एउटा मैत्री, करुणा, भक्ति  र श्रद्धाको चाडको उपमा  पनि दिने गरिन्छ । यो फागु, फागुवा वा होली पर्वको दिन नेपालमा सार्बजनिक रुपमा बिदा दिने चलन रहेको छ । ऋतुहरुको राजाको रुपमा चिनिने बसन्त ऋतुको आगमनसंगै यसलाई धुमधामसंग स्वागत गरिन्छ । वर्षभरिका रीसरागलाई बिर्सेर नयाँ सम्बन्धहरु शुरु गर्ने दिनको रुपमा यसलाई  मानिन्छ । यो पर्व साना बालकदेखि बृद्धसम्म उत्तिकै लोकप्रिय रुपमा सबैको चाड बनेको छ । यसदिन रंगीबिरंगी रंगहरु दलेर आत्मियता साटासाट गरिन्छ ।  यी रंगहरुले हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख पाइन्छ ।  होली विकिपिडियामा खास गरी रातो रंग शक्ति र शौभाग्यको सूचक, हरियो रंग  प्राण र जीवनशक्तिको प्रतिक, पहेंलो रंग भक्ति र धर्मपरायणताको प्रतिक, नीलो रंग शान्ती र सन्तुलनको प्रतिक, कालो रंग इर्श्या र स्वार्थको प्रतिक (यसलाई होलीमा कमै प्रयोग गरेको पाइन्छ) र सेतो रंग शुद्धता र आकर्षणको प्रतीक मानेर यी सबैको मिश्रण गरेर अनुहारमा मायालु तरिकाले लगाएर रंग साटासाट गरिन्छ ।  यस पर्वमा बिभिन्न मिष्ठान्न तथा परिकार बनाएर खाने चलन छ । यसलाई मनाउन फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ भने देशका अन्य भागहरुमा पनि घैटो फुटाउने तथा चीर गाड्ने गरेको पाइन्छ । यस्तो पवित्र पर्वमा पनि कालो रंग दल्ने, मोबिल दल्ने, अण्डा फ्याक्ने, लोला हान्ने, जबरजस्ती रंग दल्ने, भांग धतुरो खाने आदी जस्ता बिकृतिहरु पनि यदाकदा देखिन्छ ।

काठमान्डौमा होली कन्सर्ट

यो एउटा सद्भाव संगसंगै प्रतिकात्मक चाड पनि हो ।  यसले एकातिर रीसराग बिर्साएर करुणा, भक्ति  र मैत्रीभाव जगाएर नयाँ सम्बन्ध स्थापित गराउन प्रोत्साहित गर्छ भने अर्कोतिर आफुले कठोर मेहनत गरेर प्राप्त गरेका बैभव र शक्तिलाइ दुरुपयोग गरियो भने आफ्नै बिनास पनि उत्तिकै अबश्यमभावी छ भन्ने कुरा इंगित गर्छ ।  संसारका बिभिन्न कालखण्डका शक्तिशाली देश र नेताहरुले समयले दिएको कठोर सजाय भोगेको कुरा पनि यो प्रतीकात्मक चाडमा जोडेर हेरियो भने धेरै पाठ सिक्न सकिन्छ ।  नेपालमा पनि धेरै टाढा नगएर मल्लकाल, शाहकाल, राणा शासन, पंचायती ब्यबस्था, राजतन्त्रात्मक बहुदलीय व्यवस्था र अहिले अभ्यास गरिरहेको लोकतान्त्रिक गणतन्त्रमा पनि हिरण्यकश्यपु स्वभाव बोकेका पात्रहरुका कारण यी ब्यबस्थाहरु समय समयमा धरमराएका दृष्टान्त छन ।  आशा गरौँ, यो पवित्र सांस्कृतिक पर्वले नेपालका राजनेताहरुमा जनतालाई केन्द्रमा राखेर राज्य सत्ता संचालन गर्ने विवेक र जनतामा आपसी मैत्रीभाव जागृत होस ।  सुखी जनता र सुन्दर देश बनोस होली पर्वको हार्दिक शुभकामना !

Facebook Comments
कुमार केसी