कमरेड राहुलको ‘अखिल’ यात्रा

  • 16
    Shares

कुमार केसी

राहुल, शालिक र ओमप्रकाश पशुपति माबिका कक्षा आठका अति मिल्ने साथी थिए ।  पढाइमा पनि उस्तै अब्बल । कुरा बि.सं. २०४० फाल्गुनतिरको हो । सदा झैँ नेपाली बिषयको अन्तिम पिरियड पढाइ पछी उनीहरु स्कुलको मूल गेट हुदै बाहिरिए । सफा आकाशमा सुर्य बिस्तारै पश्चिमतिर ओरालो लाग्दै थिए । कपिलबस्तु र रुपन्देहीको सिमाना कोठी जंगलको ठिक माथी भने सानो सेतो फुर्के बादल घामलाइ जिस्क्याउदै थियो । उनीहरु  हातभरी किताब र कपि च्यापेर गफिदै बस स्टपमा पश्चिमबाट आउने बसको पर्खाइमा थिए। स्कुलको अगाडीपट्टिबाट बग्ने सफा कन्चन नदी सधै झैं आफ्नै गतिमा नाम अनुसार अविरल बगिरहेको थियो । सिरसिर बतासको एक झोक्काले राहुलको किताबको माथिल्लो पाना फर्लक्क पल्टाउदै गयो ।

त्यहि बेला नजिकैको बनकट्टीको बजारतिरबाट दुइजना युवाहरु एउटा थोत्रो देखिने हिरो साइकलमा आएर उनीहरुको अगाडी टक्क रोकिन्छन । “तपाइको नाम राहुल हो” ? साइकलमा पछाडी बसेर आउने अलि चुच्चो नाक हुने अग्ले चाहिंले राहुललाई सोध्यो ।  राहुलले हो भन्दै प्रति प्रश्न गर्यो – “किन होला” ? ऊ अलि अचम्भित पनि भयो ।  नचिनेको मान्छेले उसको नामै लिएर कुरा गर्दैछ । सायद राहुलको प्रति प्रश्नले उनीहरुलाई बिषय प्रवेश गर्न सहज भयो । दुवै जनाले पुर्ब परिचित जस्तै बडो हार्दिकतापुर्बक उनीहरु  तिनैजनासंग पालैपालो कसिलो गरी हात मिलाए । परिचय साटासाट गरियो । कन्चन नदीको पुल छेउबाट गणित पढाउने खाँ सरले साइकलमा रोकिएर नजानिदो तरिकाले उनीहरुको  सबै गतिबिधि निगरानी गरिरहेका थिए ।

जीवन ले “तपाईसंग एकैछिन गफगाफ गर्नु छ” भनेर उनको तेजिला आँखा राहुलतिर तेर्स्यायो । राहुलले साथीहरुको अनुहार पढ्दा उनीहरुले स्वीकृति जनाएपछि उनीहरु त्यहाँ भरखर आइपुगेको बस पनि नचढेर पक्की बाटैबाटो भएर बनकट्टीतिर लागे ।  उनीहरु अलि पर महेन्द्र राजमार्गको छेउको चारैतिर देखिने अग्लो ढिस्कामा चढेर बसे । गाढा नीलो पाइन्ट र आकासी रंगको कमिज लगाएका राहुल, शालिक, ओमप्रकाश तीन र उनीहरु दुइजना बसेर कुरा शुरु गर्नासाथ प्रहरीको भ्यान त्यहि बाटो भएर हुइकियो । नीलो भ्यान र खैरो ड्रेस लगाएका प्रहरीहरु सालझण्डी बजार नपुग्दासम्म उनीहरुले एकनास हेरीरहे । जीवन र रमेश केहि आतिएको देखिए । अलि हतास मनस्थितिमा जीवनले कुरा शुरु गरे – “हामी अखिल हौँ, हामीले यो पंचायती ब्यबस्था फाल्न चाहन्छौं, गरीबको राज्य ल्याउन चाहान्छौं, महिला पुरुषको समानताको ग्यारेन्टी गर्ने ब्यबस्था चाहान्छौं, हाम्रो संगठन देशव्यापी छ, यस जिल्लामा पनि हाम्रो निकै बलियो संगठन छ” । उनले थपे – “जिल्ला भरिका माबि तहका पहिलो, दोस्रो र तेस्रो हुने लगायतका सबै अनुसाशित बिद्यार्थीलाई संगठित गर्ने लक्ष्य छ, तपाइँहरु पनि हाम्रो यस गौरबशाली संगठनमा सदस्य बन्नु पर्यो” ।

त्यहि नै बेला एउटा महिन्द्रा जीप छतमा माइक तेर्स्यायर  निकै जोड जोडले “आउनुहोस आउनुहोस बुटवल चलचित्र मन्दिरमा भब्यताका साथ चलिरहेछ नेपाली कथानक चलचित्र पच्चीस बसन्त” भन्दै गयो ।  रमेशले पिच्च भुइमा थुक्दै पंचायती व्यबस्थाको जयगान गाउने फिल्म हो यो भन्यो । आज यहाँ बस्न त्यति सुरक्षित छैन ।  प्रहरी ओहोर दोहोर गरेका छन ।  कसैले हाम्रो बारे सुराकी दिएको पनि हुनसक्छ । हामी सबैजना प्रहरीबाट मारिन पनि सक्छौं । अर्को बसाई बसौला मित्रहरु भनेर कुराको बिट मार्यो राहुले । रमेशले हातले बुनेको मैलो मैलो खैरो झोलाबाट अनेरास्ववियुको बिधान निकालेर उनीहरुलाई एक एकवटा दिदै यो अध्ययन गर्नुहोस मित्रहरु भन्दै निकै दह्रो संग हात मिलाएर त्यहाबाट ओझेल परे ।  त्यतिबेला सुर्य रातो गोलो हुँदै पश्चिम क्षितिजमा अलप हुनै लागेका थिए । राहुलहरुले  फेरी सडक छेउमा घर जाने बस कुर्न थाले ।

त्यतिबेला देशमा पंचायती व्यवस्था थियो । स्कुलमा हरेक दिन बिहान राजाको स्तुतिगान गरेको श्रीमान गम्भीर … र हट्ने होइन डटी लड्ने……गाउनु पर्थ्यो । राजारानीको जन्मदिनहरु रास्ट्रिय पर्बको रुपमा धुमधामसंग मनाउनु पर्थ्यो । पुस्तकको पहिलो  पेजमा राजाको भनाइ हुन्थ्यो । जिल्लाको राजा सिडियो र अंचलको राजा अन्चलाधीश हुन्थ्यो । राहुललाइ पंचायत बिरोधि कुनै गतिबिधि गर्ने पार्टी वा संगठन छ जस्तो केहि छनक सम्म पनि थिएन । कुनै नेता वा कसैसंग भेटघाट वा कुराकानी गर्ने अवसर पनि थिएन । जीवन  र रमेशसंगको छोटो भेटले राहुल कता कता रोमान्चित भयो ।

त्यतिबेलासम्म राहुलले कुनै पंचायत बिरोधी किताब वा दस्ताबेज कहिल्यै पढेको थिएन तर बिभिन्न कार्यक्रममा “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, ……. राजा अमर रहुन” जस्ता जयगान गाएको नाराहरु किन हो उसलाई भित्रैदेखि मन पर्दैनथ्यो । तर पुष २७ गते मनाईने “पृथ्वी जयन्ती तथा रास्ट्रिय एकता दिवस” भने उसलाई मन पर्दथ्यो किनकी त्यो दिन बाइसे तथा चौबिसे राज्यहरु मिलाएर पृथ्वीनारायण शाहले सिंगो नेपाल निर्माण गरेको पर्वको  रुपमा बुझेको थियो ।

उनीहरुसंगको छोटो भेटमा राहुलको मनमा अनेक कुराहरु खेल्न थाल्यो । कता कता स्वतस्फूर्त रुपमा पंचायत बिरोधी राहुलको  मनमस्तिष्कमा जोशिला अखिलहरुसंगको छोटो बसाईले निकै मलजल पुगेको अनुभब गर्यो ।

झन्डै दुइ हप्तापछिको कुरा हो, चारबजेतिर रमेश र जीवन  सहित थप दुइजना केटाहरु आएर स्कुल बाहिर गेटमा राहुललाई कुरेर बसेका रहेछन । उनीहरु पनि संगठनमा लागेका अखिल नै थिए । लेखा पढाउने लेखनाथ सरले “स्कुल सकिएपछी  तिनीहरुलाई भेट्नु” भन्नु भयो । राहुललाइ चासो भयो कि लेखनाथ सर पनि अखिल हुनुहुँदो रहेछ र उनीहरुले राहुलको  नाम पनि वहाँबाट नै जानेका रहेछन भनेर ।

राहुलले आफ्नो भरखर किनेको नयाँ हर्कुलिस साइकलको पछाडि किताब र कपि च्यापेर बाहिर निस्कदा उनीहरुले पर्खी रहेको देख्यो । राहुलले उनीहरुसंग हात मिलाइयो र केहि पर पुगेर अझै धेरै साथीहरुसंग सम्पर्क बढाउने, अखिलको बिधान पढ्ने र अर्को हप्ता कमिटि बनाउने कुराकानी गरे । त्यो दिन राहुलसंगै शालिक, ओमप्रकाश, मोहन  र केदार पनि संगै थिए । उनीहरुले सबैलाई एक एकवटा रातो किताब र कलम र तारा भएको किताब दिदै “यो गोप्य राखेर पढ्नु होला” भने । अहिले घर जाँदा बाटोमा पनि कसैलाई नदेखाउनु भनेर हातै चुडाउने हुन कि झैँ गरी हात मिलाएर बिदा भए । कसैलाई पनि नदेखाउनु भन्ने कुराले राहुललाई मनमा कता कता भय र कौतुहलता दुवैले घर गर्यो ।

घरमा पुगेर सधै झैँ राहुललाइ होमवर्क गर्नु भन्दा पनि त्यो किताब पढ्न हतार भयो । आमाले दिएको खानेकुरा खाएर ऊ अखिलको बिधान पढ्न बस्यो । बिधार्थी हकहितको बारेमा निकै  जोशिला चर्चा गरेको रहेछ । एकै बसाइमा सबै पढेर सक्यो । बुवा भारतीय सैनिकको जागिरे अनि अनपढ राहुलको  आमालाई राहुलले स्कुलको किताब पढ्यो  कि अरु नै थाहा हुने कुरै भएन । राहुलले पढेर सक्दा रात छिप्पीई सकेको थियो भने पारी गाउँमा एकनासले कुकुर भुकिरहेको थियो ।

उसले केहि कहिल्यै नसुनेका शब्दहरु बुझ्दै बुझेन ।  धेरै कुराहरु बुझ्यो । जोशिला कुराहरु उसलाई निकै मन पर्यो । त्यसमा लेखिएका “बीर सहिदहरु लालसलाम” र “आदरणीय कमरेडहरु” भन्ने शब्द निकै रोमान्चक लाग्यो उसलाई । दोहोर्याएर पढ्यो । लाग्यो अब ऊ पनि अखिल हुँदै कमरेड हुने भयो । अर्को दिन राहुलले शालिक र ओमप्रकाशलाई सोद्धा घरको काम गर्दा पढ्न नपाएको कुरा बताए ।  ओमप्रकाशले त त्यति रुची पनि नभएको कुरा बताए । राहुलका साथीहरु युधिर थापाका “लुकेको समाज” जस्ता उपन्यासहरु लुकीलुकी पढ्थे त्यतिबेला ।

जीबनहरुले राहुल लगायत कक्षा नौ र दशका केहि बिद्यार्थीसंग पनि सम्पर्क बढाएका रहेछन । त्यस्तै दुइ हप्तापछि होला राहुललाइ सानो पानामा “कमरेड, हार्दिक अभिबादन आगामी शनिबारका दिन हाम्रो गौरवशाली संगठन अनेरास्ववियू एकताको पाँचौको पशुपति माबि प्रारम्भिक कमिटी (प्राक) गठन गरिने भएकोले हाम्रा पक्षधर सकेसम्म धेरै साथीहरुलाई समेत लिएर आउनु होला”  भनेर लेखि पठाए छन ।

शनिबारको दिन सूर्य पूर्ण राप र ताप सहित मध्य आकाशमा चम्किरहेका थिए ।  सधै सयौ बिद्यार्थी उफ्रने कम्पाउण्ड सुनसान थियो । सबैजना गरेर पन्ध्रजना जति भाबी अखिलहरु एक एक गरेर जम्मा भए । अनुहार र थर अनुसार सबै क्षेत्रीबाहुन मात्र थिए । केटी सहभागीहरु त झन दुइजना मात्र भए । पियन दाइलाई भनेर स्कुलको सबभन्दा छेउको एउटा कोठा खोलेर बस्ने भए । त्यसमा लेखा पढाउने लेखनाथ सर र बिज्ञान पढाउने धर्म सर पनि देखिए । भित्तामा कलम र तारा अंकित झन्डा टाँसियो । सधै स्कुलको ड्रेसमा बसेर पढ्ने कोठामा आज बिना ड्रेस सबैसंग बस्दा अनौठो मानिरहेका थिए उनीहरु ।

तिनीहरु मध्यका भुवनले उठेर जोशिएर भाषण गर्न शुरु गरे । जीवन, रमेश, लेखनाथ सर र धर्म सर सबैलाइ आसनग्रहण गराएपछि जीवन लाई बोल्न अनुरोध गरे । जीवन ले करिब एक घण्टा भासण गरे । भाषणमा साम्राज्यबादी, प्रभुत्वबादी, नोकरशाह …. जस्ता थुप्रै के के शब्दहरु प्रयोग गरे उनले । उनीहरु  धेरैले त्यसको अर्थ बुझेनन । भासण सुन्दा सुन्दै केदार र राधा त झुल्दै थिए । बुझेका कुराहरुमा “संसारमा धनि र गरिब दुइ जात मात्र हुन्छ, धनीले गरिबलाई सधै हेप्छ तर हाम्रो संगठनले जहिले पनि गरीबको पक्ष लिन्छ”। तपाइहरुलाई थाहा छ – “रुपन्देहीमा एक जना चौधरीको दुइसय बिगाहा जग्गा छ र एकसय बिगाहा जग्गा हुने त थुप्रै  छन र उनीहरुले गरीबलाई शोषण गर्छन” । तपाई हाम्रो – “हेर्नोस त दशकट्ठा जग्गा पनि छैन” ।

जीवनले थपे – “पंचायती व्यवस्थाले यस्तै हुने खानेको मात्र पक्ष लिन्छ । गरिबलाई शोषण दमन मात्र गर्छ । अहिले भर्खर पनि बाहिर सिआइडीहरु हुन सक्छन र हामीहरुलाइ पंचायती व्यवस्थाका भाडाका गुन्डाहरुले पक्रिन सक्छन । हामी  यस्तो व्यबस्थाको अन्त गरेर सबैलाई समान हुने ब्यबस्था ल्याउन चाहन्छौ” । भासणको अन्तमा उसले अखिलमा हुनुपर्ने स्वच्छ चरित्र र नैतिकता बारे पनि केहि कुराहरु राख्यो ।

किन हो किन राहुललाइ उसको यो कुराले छोयो । कोहि साथीहरु हतास भए । कोहि भने उसको भासणले निकै सुरिएको पनि देखियो ।

अखिलको जिल्ला अध्यक्ष जीवनको जोशिलो भासण पछी कमिटि गठन गर्ने कुरा आयो । लेखनाथ सरले इसारा गरे ।  राहुलको नाम अध्यक्ष्यमा प्रस्ताब  गरियो । केदार उपाध्यक्ष र मोहन सचिब भएको ९ सदस्यीय कमिटि बन्यो । ओमप्रकाश आउदै आएनन भने शालिकले कमिटीमा बस्न डराए । कमिटिका सबैलाई मुट्ठी उठाएर सपथग्रहण गराइयो । पुलिसहरुले पक्रिने र घरमा आमाबुवाले गाली गर्ने डरले केहिले कमिटीमा बस्न मानेनन ।

अखिल भनेको कम्युनिस्ट र कम्युनिस्टको कमिटि पशुपति माविमा गठन भयो भन्ने खबर चारैतिर सनसनीपूर्ण रुपमा फैलियो । आइतबार स्कुलमा आउँदा त सबैले राहुल र कमिटीमा बस्नेलाई हेर्छन । मुखामुख गर्छन । कक्षाको पहिलो हुने विद्यार्थीको रुपमा सरहरूबाट राहुलले पाउने माया आज एकाएक गायब छ ।  कक्षाका केहि साथीहरु पनि खुलेर बोल्न चाहेनन जस्तो आभास भयो उसलाई । परिचित डेस्क, बेन्च र कोठाका भित्ताहरु पनि आफ्नो बिरोधी भएजस्तो लाग्यो ।

त्यतिबेला राज्यको बिरुद्धमा बोल्नु अपराध जस्तै मानिन्थ्यो । सरहरुले “अब तिमीहरुलाई पुलिसले पक्रेर लैजान्छ र जेलमा हाल्छ” जस्ता कुराहरु पटक पटक सुनाउन थाले  । दिनभर कहिले कुन सरले त कहिले कुन सरले एकान्तमा लगेर नानाथरी डरका कुराहरु सुनाइ रहे उनीहरुलाई । गणित पढाउने खाँ सरले त बाहिर बोलाएर “मेरो सबसे प्यारो बिद्यार्थी तँ गधा गलत बाटोमा लागीस ।  मलाई  बहुत दुख लागेछ” भनेर रातो मुख बनाए ।

राहुल र साथीहरु पढाई सकेर बाटोमा के निस्केका थिए एउटा बढेमानको शरीर भएको मान्छेले “ओइ केता एता आइज” भनेर बोलायो । राहुल र केदार उसको नजिक गए तर उसले त एकदम सुन्नै नसकिने शब्दहरु उच्चारण गरेर गाली गर्दै “कमनिस्टहरु यहाँ आउने हैना उतै तेरो रामापुरमा पढ” भन्यो । उनीहरुका  वरिपरी भर्खर स्कुल छुट्टी भएका केटाकेटी पनि घेरा हालेर गाली गरेको रमाइलो मानेर हेर्न थाले । ऊ झन मच्चिएर गाली गर्न थाल्यो । राहुल र केदार केहि नभनेर साइकल चढेर बाटो लागे । राहुलले अर्को दिन थाहा पायो – उ बिद्यालय संचालक समितिको अध्यक्ष, पंचायतको जल्दोबल्दो नेताको मान्छे र पंचायती व्यबस्थाको कट्टर समर्थक रे । दिनभर सबैले भनेको कुरा राहुलको मनमा खेलिरह्यो ।

त्यो बैठकमा भएका सबै साथी बाटो लागी सकेछन तर ओमप्रकाशले अलि वर आएर कुरेर बसेको रहेछ । उसले भन्यो – “हेर राहुल मलाई त यो अखिल सखिल मन परेन, सबै केटिहरुलाई दिदि बहिनि मान्नु पर्छ भन्छ, मलाई  त राधाले प्रेम पत्र पठाइसकेको छ, उसको अटो भर्न छ, आउने शनिबार कालिका चलचित्र मन्दिरमा कुसुमे रुमाल फिलिम हेर्न जाने सल्लाह भैसकेको छ” ।  यो सबै अखिलमा लागेर गर्न नमिल्ने रहेछ । किन हो कुन्नि भर्खरको कुरकुरे जवानीमा पनि उसको कुराले राहुललाइ खासै काउकुती लगाएन ।

छोटा दिन भएकोले घर पुग्दा झमक्क रात पर्न लाग्यो । केहीबेरमा आमाले भात खान दिनु भयो र राहुलले टुकी बालेर होमवर्क गर्न बस्यो । तर, दिनभरिका कुराहरु मनमा खेलेर ध्यान केन्द्रित हुनै सकेन । किताब बन्द गर्यो र फेरी त्यहि अखिलको बिधान पढ्न थाल्यो  । जोशिला र आशाबादी कुराहरुले भरिएका छन तर यो व्यवस्था ल्याउन त्यो मोटे र गौतम सर जस्ता मान्छेहरुले दिदैनन भन्ने लाग्यो ।  मानौ कि अहिले नै त्यो ब्यबस्था आउंदैछ । होमवर्क गर्न सकेन टुकी निभाएर ओछ्यानमा पल्टियो तर अबेर रातीसम्म पटक्कै निद्रा लागेन । धेरैबेर सिलिंग र भित्ता हेरिरह्यो  । कतिबेला निदायो थाहै भएन उसलाई ।

अर्को दिन स्कुल गयो । सधै माया गर्ने खाँ सरले “पहिलो पिरियडमा नै यति राम्रो बिध्य्यार्थी राजनीतिमा लाग्यो, खतम भयो अब त गणितको होमवर्क गर्न पनि छोड्यो”  भन्नुभयो यसले उसको मनमा चस्स भयो । पंचायतका समर्थक सरहरू, उसका शुभचिन्तक सरहरू र केहि साथीहरुको  व्यवहार र सुझावले उकुसमुकुस भएर राहुलको दिन बित्यो । पाल्पा क्याम्पसबाट भर्खर आइएस्सी सकेर आएका र अस्तिको कमिटि गठन कार्यक्रममा पनि बसेका सरलाई भेट्ने विचार गर्यो । सालझण्डी बजारको अलि भित्र पर्ने पौडेलको चियापसलमा गएर कुरा गर्ने तय गरे उनीहरुले । लेखनाथ सर पनि आए । साप्ताहिक हाटबजार लाग्ने ठाउँ र साँझ पर्न थालेकोले किनमेल गर्नेहरुको घुइचो देखिन्थ्यो र चर्को चर्को आवाज सुनिन्थ्यो त्यहाँ । केहि बनियाहरु भन्दै थिए- “लौ हजुर एक रुपिया किलो जेरी खाइलिनुस”।

सरहरुले चिया र नमकिन पनि मगाए । गफ शुरु भयो । सरहरुले राहुललाइ भने –“तिमीलाई कसले के भन्यो हामीलाई सबै थाहा छ, तिमि त यो स्कुलकै बिध्यार्थीहरुको अखिलको अध्यक्ष्य हो, तिमि भविष्यको नेता कमरेड हो, तिमीलाई धम्क्याउने छन्त्याल र निरुत्साहित गर्ने खाँ सर, नारायण सर, गुरुसरहरू सबै पंचायतका भरौटे हुन” । लेखनाथ सरले थपे – “हेड सर पनि हाम्रै समर्थक हुन तिमि डराउनु पर्दैन तर पढाई नबिगार्नु” । अखिलको मान्छेले गर्नुपर्ने आचरण, अध्ययन गर्नुपर्ने पुस्तक तथा पुलिसहरुसंग साबधान हुनुपर्ने धेरै कुराहरु बताउदै हामी पनि छौं तर हामी  प्रत्यक्ष देखिन मिल्दैन भने । राहुललाई निकै  हौसला मिल्यो । सरहरूले पनि उसंग  कसिलो हात मिलाएर आँखामा आँखा जुधाएर मुसुक्क हाँसेर बिदा भए । सरले आफुसंग हात मिलाएको र हामी पनि छौ भनेको कुराले ऊ निकै दंग पर्यो ।

अखिलका जिल्ला कमिटिका साथीहरुको पटक पटकको भेटघाट र प्रशिक्षणले राहुल अलि दृढ निश्चयी भैसकेको थियो । जिल्लामा पंचायतको सामान्य बिरोध गर्ने जो कोहीलाई पक्रिने र जेल हाल्ने सम्मका गतिबिधि भैरहेका थिए ।

अखिलको रुपन्देही जिल्ला सम्मेलन हुने भएको थियो ।  दिनभर हुस्सु लाग्ने निकै जाडो समय थियो ।  सायद पुष महिना थियो ।  अखिलको जिल्ला सम्मेलन फर्साटिकरमा भूमिगत रुपमा चल्दै थियो । करिब १२५ जनाजतिको सहभागीता थियो होला । कार्यक्रम चल्दै थियो सायद कसैको सुराकीमा होला रातीको आठ बजेतिर सम्मेलन हुँदै गरेको घरलाई पुलिसले चारैतिरबाट घेरा हालेर सबैलाई निर्मम तरिकाले पिट्न र लखेट्न थाले । भागदौड मच्चियो । राहुल, केदार, जीवन  लगायत नौ जनालाइ पुलिसले पक्रेर नीलो भ्यानमा कोच्यो । उनीहरुलाई सिधै भैरहवा जिल्ला प्रहरी कार्यालयमा लग्यो र एउटा कोठामा बन्द गर्यो । प्रहरीले बाटोभरी छन्त्यालले गरेको भन्दा पनि तथानाम गाली गर्यो । दुइ दिन राखेर जीवन  बाहेक उनीहरु आठ जनालाई कागज गराएर छोड्यो ।

पंचायत, प्रहरी र पंचायत समर्थकको व्यवहार प्रति  राहुलको  झन बितृष्णा बढेर गयो । पुलिस हस्तक्षेपको कारण जिल्ला सम्मेलन हुन नसके पनि राहुललाइ अखिलको जिल्ला कमिटी सदस्यमा मनोनित गरियो । ऊ निरन्तर रुपमा अखिलमा सक्रिय रह्यो । सबैको आखाँ लाग्ने चिटिक्क मिलेको शरीर, कक्षाको पहिलो बिध्यार्थी  र लवाईले धेरै केटीहरुले राहुललाई निकै मन पराउथे । आफ्नै कक्षामा पढ्ने सीमाले दुइ तीनवटा प्रेम पत्र पनि लेखिन तर उसले त्यसको उत्तर कहिल्यै लेखेन ।

राहुलले पशुपति माबिमा ३ बर्ष बिताई सकेको थियो  । यस बिचमा दर्जनौ भूमिगत बैठक र प्रशिक्षणहरुमा सहभागीता जनाइसकेको थियो । २०४३ सालको एसएलसी परिक्षाको समय आयो । सेन्ट अप परिक्षामा सधै झैँ ऊ पहिलो भयो ।  पुरा तयारीका साथ अन्तिम परिक्षामा सहभागी भयो । दुर्भाग्यबश, सबै बिषयमा उच्च अंक आयो तर अतिरिक्त गणितमा फेल भयो ।

सबैको नजरमा पढ्नमा राम्रो बिद्यार्थी तर परिक्षा बिग्रिए पछी उसका  विरोधीहरुले “देखेउ त राजनीतिमा लागे पछी के हालत हुन्छ” भनेर खुच्चिंग गर्दै नमुना देखाउन थाले । केहि साथीहरुले पंचायत बिरोधि भएकाले खोजी खोजी फेल गरायो भने । माया गर्ने धेरै सरहरुको आँखामा आँसु देखियो ।  संसारको सबैभन्दा दुखि कोहि भयो भने राहुलको  बुवा भए । जसले जे भने पनि राहुलले आफ्नो भबिस्य माथी नै एउटा भयंकर कालो बादल मडारिएको देख्यो । एक किसिमले राहुलको  मनोबिज्ञानमा आफ्नो अखिल प्रतिको संलग्नता प्रति प्रश्न चिन्ह समेत लाग्यो । “कतै मलाई व्यवस्थाले नै षडयन्त्रपुर्बक फेल त गराएन” निकै पटक सोच्यो ?

राहुलको समाज, साथीभाई र उत्साही बिगतमा ठुलो निरासाले भरिएको थियो । ऊ पहिलो पटक एक्लै हरियो रंगको साझा बस चढेर बुटवल हुँदै काठमान्डौ हानियो । परीक्षा नियन्त्र कार्यालय गएर निबेदन दिई पुनर्योग गरायो । दुइ महिनामा नतिजा आयो तर उही प्राप्तांक ।

राहुलको  बारेमा दुवै थरी मान्छेहरुले नानाथरी कुराहरु गरिरहे । राहुलले कसैको वास्ता नगरी त्यहि बिषय मात्र आंशिक परिक्षा दियो । उच्च अंक सहित पास गर्यो । उसलाई नजिकको नियमित अखिल सम्पर्कबाट टाढिन मन लाग्यो । पृथ्वी नारायण क्याम्पस पोखरामा आइएस्सीमा भर्ना भयो । राहुलको  अखिलमा सक्रियता कम तर संलग्नता यथाबत रह्यो । देशका भूमिगत पार्टीहरुले फाल्गुन ७ गतेबाट देशब्यापी रुपमा आन्दोलनको घोसणा गरेका थिए । २०४५ साल फाल्गुन १ गते पृथ्वीनारायण क्याम्पसमा भएको ठुलो पंचायती प्रहरी दमनसंगै ऊ फेरी जेल पर्यो र बहुदलीय व्यबस्थाको घोषणासंगै रिहा भयो ।

आइएस्सीको पढाईसंगै अखिलको राजनीतिबाट पूर्ण रुपमा ओझेलमा पर्ने बिचारले घर गर्यो। राहुलले अध्ययनलाई निरन्तरता दियो । अहिले राहुलमा जुन राजनीतिक चेत छ त्यो उसको अखिल यात्राको कमाइ सम्झन्छ ।  उच्च नैतिकता र साधा जीबनयापन गर्न आबश्यक क्षमताको जस अखिल र अखिल बनाउने जीबनहरुलाई दिन्छ । ओम प्रकाश बर्दियामा ठुलो ब्यापारी भएर बसेको छ, शालिक अस्ट्रेलियामा स्थायी बसोबास गर्छ अनि जीवन त दुइ पटक मंत्री पनि भैसक्यो । उसका तत्कालिन धेरै अखिल सहकर्मीहरु पार्टीको दोस्रो दर्जाका उदियमान नेताहरु छन । राहुल अहिले पनि बाम दर्शनको नजिक छ र स्कुले जीबनमा अखिल भएकोमा कहिल्यै पछुतो पनि छैन तर “राजनीतिमा लागेर फेल भएको” भन्ने आरोप भने सधै राहुलको  मानसपटलमा  अपुष्ट भएर गुन्जिरहन्छ ।

(बेलायतका लागि पूर्ब राजदुत तथा बरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीद्वारा सम्पादित “बेलायतमा नेपाली कथा” संग्रहमा संग्रहित)

Facebook Comments
कुमार केसी