मेरो लागि अध्यक्ष बाहेक अर्को ठाउँ छैन-प्रेम गाह मगर

गैर आवासीय नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ युके (एनआरएन युके) को आगामी नवौं कार्य समितिको लागि ३१ जुलाई २०२१ मा सम्पन्न हुन गैरहेको निर्वाचनको लागि १९ जुलाईमा सम्पन्न उमेदवारहरुको मनोनयनसंगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उमेदवारहरु आफ्नो जीत पक्का गर्न लागिपरेका छन। यसै क्रममा लण्डन काठमाण्डौले अध्यक्ष्यको तीनै उमेद्वारहरुलाइ तीन प्रश्न सोधेको थियो। लण्डन काठमाण्डौको प्रश्नमा अध्यक्ष पदका प्रत्यासी प्रेम गाह मगरको प्रतिक्रिया :

प्रश्न १ : आसन्न एन आर एन ए यूके को चुनाबमा तपाइको उमेदवारी किन ?

म दुई कार्यकाल उपाध्यक्षका रुपमा समितिमा रहेर काम गरेँ । अब मेरो लागि अध्यक्ष बाहेक अर्को ठाउँ छैन । अध्यक्षमा मेरो दाबी स्वभाविक हो भनेर बुझ्नु राम्रो हुन्छ । अध्यक्ष भएर के गर्ने भन्ने कुरा यो सँगै आउँछ । मैले धेरै ठूला कुरा गरेको छैन । मुख्य ७ वटा अजेण्डा यसअघि नै सार्वजनिक गरिसकेको छु । तपाईं लगायत बेलायतवासी नेपालीहरुले यसबारेमा जानकारी पाइसकेको हुनुपर्छ । मेरो मुख्य कुरा संस्थालाई पारदर्शी बनाउने नै हो । संस्थालाई पारदर्शी बनाउनकै लागि हामीले दुई वर्ष निरन्तर प्रयास गर्यौं । तर, नेतृत्वमा नभएकैले यसलाई उपलब्धिमा रुपान्तरण गर्न सकेनौं । एनआरएनलाई साँच्चै नै यसको उद्देश्यमा केन्द्रित गर्नुपर्ने भएको छ । विदेशमा रहेका नेपालीहरुको साझा संस्थाका रुपमा यसलाई स्थापित गर्नु पर्ने छ । नयाँ पुस्तालाई पनि संस्थामा सक्रिय रुपमा सहभागी गराउनुपर्र्ने छ । युवा पुस्तालाई नेपाली कला संस्कृति र भाषासँग जोड्दै मातृभूमिको सेवाभाव जगाउनुपर्ने छ । पूर्व गोर्खाहरुको समस्या पनि छन् । म आफैं पनि पूर्व गोर्खा भएकाले ती समस्याका बारेमा म राम्ररी जानकार छु । नेपाली नागरिकता निरन्तरताको मुद्दा छ । दोश्रो पुस्तापछिका नेपालीहरु नेपालसँग बिच्छेद हुने हो कि भन्ने चिन्ता छ । सम्पत्तिको अधिकारको सवाल पनि छ । महिला सहभागिताको कुरा छ । अब सहभागिताको कुरा मात्रै होइन, नेतृत्वको पनि कुरा छ । नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने थुप्रै संस्थाहरु छन् । ती संस्थाहरुसँग सहकार्य गर्दै हातेमालो गरेर अगाडि बढ्नुपर्ने छ । यी काम म गर्न सक्छु भन्ने विश्वास छ । समुदायको अपेक्षा अनुसार काम गरेर नै संस्थाको विश्वास बढाउने हो । नेपाली समुदायको सुख दुःखको साथी एनआरएन हो । हरेक सदस्यले ‘मेरो एनआरएन’ छ भन्ने विश्वास जगाउने छु । मेरो आग्रह छ, यसपाली विश्वास गर्नुस्, तपाईंहरुलाई घात गर्ने छैन । मेरो धरालत नै यही समाज हो भने मैले कसरी आफ्नै धरालतलाई विश्वासघात गर्न सक्छु ?

प्रश्न २: बिगत एन आर एन ए अभियानमा तपाइको भूमिका के कस्तो रह्यो ? तपाइको अग्रसरतामा एन आर एन ए यूकेले के कस्तो उपलब्धि हाँसिल गरेको छ ?

झण्डै २६ वर्ष बेलायत बसाइका क्रममा म यहाँको नेपाली समुदायसँग राम्रोसँग घुलमिल भएको छु । एनआरएनको स्थापनादेखि हालसम्मका सबै गतिविधिहरुमा कुनै न कुनै रुपमा सहभागी छु । पछिल्लो दुई कार्यकाल म उपाध्यक्ष भएर काम गरेको छु । यसबीचमा के के गरियो भन्ने त स्पष्ट नै छ । सबै काम त भनेर संभव पनि छैन । केही कुरा बुँदागत रुपमा बताउन चाहन्छु । जब म २०१७÷१९ कार्यकालमा पहिलो पटक उपाध्यक्ष भएँ, मलाई च्यारिटी डिपार्टमेन्ट प्रमुखको जिम्मेवारी प्राप्त भयो । जिम्मेवारी अनुसार काम त गर्नै पर्यो । मैले पहिलो नै निश्चित समय दिने छु भनेर वाचा गरेको थिएँ । समयले मात्रै भएन, आइडिया पनि चाहियो । मैले त्यतिबेला नेपाली कला संस्कृतिको प्रबद्र्धन र नेपाली कलाकारलाई प्लाटफर्र्म उपलब्ध गराउने भनेर भ्वाइस अफ नेपाल कन्सर्टको आयोजना गरेँ । मैले भनेको थिएँ, घाटा भए मेरो, फाइदा भए संस्थाको । नेपाली कलाकारहरुको व्यापक सहभागितामा कार्यक्रम सम्पन्न भयो । अपांगता भएका वृद्ध वृद्धा गोर्खाज र तिनका परिवारका सदस्यहरुको सहयोगका लागि डिजाबिलिटी एड कार्यक्रम ल्याएँ । यो कार्यक्रम पनि व्यापक सफल भयो । त्यस्तै च्यारिटी डिनर विथ बक्सिङ कार्यक्रम पनि गरियो । नेपाली र विदेशी बक्सरहरुको सहभागितामा कार्यक्रम सम्पन्न भयो । दोश्रो कार्यकालमा भने भने जिम्मेवारी फेरियो । मलाई गोर्खा डिपार्टमेन्ट प्रमुखको जिम्मेवारी दिइयो । म आफैं पनि पूर्व गोर्खा सैनिक भएकाले मलाई यो जिम्मेवारी झनै उपयुक्त थियो । तपाईंलाई पनि थाहा छ, यहाँ पूर्व गोर्खाजको समस्या कति छन् कति । गोर्खाजहरुका पनि आ आफ्नै संगठन छन् । ती संगठनहरुलाई एकजुट बनाउँदै संयुक्त आवाज र पहल गर्नुपर्ने थियो । एक हदसम्म हामी यसमा सफल भयौं । गत अप्रिलमा हामीले एनआरएनकै ब्यानरमा बेलायती प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीलाई तेह्र्र बुँदे प्रतिवेदन कार्यान्वयन गर्र्न आग्रह गर्दै पत्राचार गर्यौ । हालैै बेलायती रक्षा मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । हामी अब नेपाल सरकारको धारणाको प्रतीक्षा गरिरहेका छौं । नेपालको वर्तमान र निवर्तमान दुवै सरकारसँग सम्पर्कमा रहेर गोर्खाजहरुका बारेमा पहल थाल्न आग्रह गरिरहेको छु । हाम्रो दोेश्रो कार्यकाल कोभिड महामारीको चपेटामा पर्यो । बेलायतवासी नेपालीहरु पनि महामारीमा नपर्ने कुरै भएन । केही दुःखद घटना पनि भयो । हामी कोभिडबाट परेको असर न्यूनीकरणमा लागिरह्यौं । बेलायतमा एउटा कुरा थियो, मातृभूमिमा पनि महामारीको प्रकोप उस्तै थियो । दोश्रो लहरमा त नेपाल निकै प्रभावित भयो । हामीले सहयोग संकलन गरेर विभिन्न स्वास्थ्य सामग्री र उपकरण नेपाल पठाएका छौं । महामारीका कारण धेरै काम गर्न सकिएन होला, तर, हामी त्यसै बसेका छैनौं । कुनै न कुनै रुपमा हामी सक्रिय नै रहिरहेका छौं ।

प्रश्न ३ :तपाइको जीतको आधार के के हुन् ?

मैले भनिरहेको छु कि अबको हाम्रो पहिलो प्रयास संस्थामा पारदर्शिता कायम गर्ने नै हो । लेखा प्रणालीलाई चुस्त बनाउने नै हो । संस्था कसरी चलिरहेको र के भइरहेको छ भन्ने बारेमा आम सदस्यहरुलाई खुला रुपमा देखाउन सकियो भने सबैको विश्वास जागिहाल्छ । हामीले जुन प्रयास गरेका छौं, त्यसले पनि देखाउँछ कि अब कसैले पनि अनियमितता गर्ने दुष्प्रयास गर्ने छैन । म जुन अभियान लिएर अगाडि बढिरहेको छु, नेतृत्वमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्ने छु । विगतमा कोही कसैले बदमासी गर्यो भनेर हामी पनि त्यही बाटोमा लाग्ने कुरै आउँदैन । हामीले त विगतका कमजोरी पनि सच्याउने हो । म आग्रह गर्छु, संस्थाको उद्देश्य र सदस्यहरुको चाहना विपरीत आगामी कार्य समितिलाई जान दिने छैन । मेरा हरेक काम पारदर्शी हुने छन् र सामूहिक निर्णयका आधारमा हुने छन् । कार्य समितिका सबै पदाधिकारी र सदस्यहरुलाई जवाफदेही बनाउने छु । प्रश्न सोध्ने र उत्तर खोज्ने प्रणालीको विकास गर्ने छु । अनि मेरो उम्मेदवारी समाजलाई जोड्न हो, तोड्न होइन । विभिन्न कारणले उत्पन्न निराशा हटाउन हो, निराशा बढाउन होइन । एनआरएनप्रतिको विश्वास जगाउन हो, भड्काउन होइन । मेरो कार्यशैली, विगतमा गरेका काम र आगामी कार्यकालका लागि मैले अघि सारेका अजेण्डामा अधिकांश पन्जीकृत सदस्यहरुले सहमति जनाएका छन् । यत्ति मात्रै होइन, निराशाका बीच पनि मेम्बरशिप ड्राइभका क्रममा मैले जति जनालाई भेटेँ, उहाँहरु सबैले शुभेच्छा प्रकट गर्नु भएको छ । मेरो जितको आधारमा उहाँहरु नै हुनुहुन्छ, जो संस्थालाई माया गर्दै सदस्यता लिनु भएको छ । सदस्यहरुले संस्था बलियो बनाउने हो, नेतृत्वले सदस्यहरुमा विश्वास जगाउने हो । अहिले ११ हजार तीन सयको हाराहारीमा पन्जीकृत सदस्यता लिनु भएको छ । अधिकांश सदस्यहरुसँग कुनै न कुनै माध्यमबाट म जोडिएको छु । उहाँहरुको अजेण्डा र चाहनालाई मैले उठाएको छु । एनआरएनएको भावना र मर्म अनुसार अगाडि बढ्ने छु । यो सँगै अधिकांश एनआरएनए अभियन्ताहरु, समाजका अगुवाहरु, सामाजिक संस्थाका प्रमुखहरुको पनि शुभकामना पाएको छु । विगत दुई कार्यकाल निरन्तर संस्थामा रहेर काम र आगामी कार्यकालका लागि उठाएका मुद्दामा जुन समर्थन देखिएको छ, जितको पहिलो र प्रमुख आधार यही हो । शक्तिको श्रोत सदस्यहरु नै हुन् । सदस्यहरुको मन जितिसकेको छु भन्ने लागेको छ । अब मतको प्रतीक्षा गरिरहेको छु । मलाई विश्वास छ, विगतमा जस्तै साथ, सहयोग, माया र विश्वास यस पटक पनि प्राप्त गर्ने छु ।

 

सबै अध्यक्ष पदका प्रत्यासीहरुको प्रतिक्रिया एकै ठाउँमा हेर्न यहाँ क्लिक गर्नुहोस 

तपाइँकको प्रतिक्रिया (Facebook )
रमेश कायस्थ

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?

Sponsered Advertisement