“साहित्य समाजको ऐना हो” -प्रतिमा केसी

प्रतिमा केसी डायस्पोराको नेपाली साहित्यमा सुपरिचित नाम हो। गीत, गजल, मुक्तक तथा कविता विधामा निरन्तर कलम चलाउनु हुने साहित्यकार केसीको कविता संग्रह ‘पानीको बिद्रोह’ लाइ हालसालै सुप्रमा पुरस्कारबाट पुरस्कृत गरिएको छ।  उनै  साहित्यकार प्रतिमा केसी र लण्डन काठमाण्डौमा प्रधान सम्पादक रमेश कायस्थ बीच भएको साहित्यिक यात्रा सम्बन्धी भर्चुअल भलाकुसारीको सम्पादित सार संक्षेप:

  • सन्चै हुनुहुन्छ ? आजभोलि दिनहरु कसरी बितिरहेका छन ?

नमस्कार, सन्चै छु । रोजगारीमा नियमितता, परिवारका सदस्यहरुसंग रमाउने, कहिलेकाँही समय मिल्दा र मुड खुल्दा यसो कबिता मुक्तक लेख्ने । साथीभाइसँग समसामयिक बिषयहरुमा फोन कुराकानी यस्तै यस्तै त हो । कोभिडको कारण घर बाहिर त्यति गइदैन ।

  • सर्बप्रथम, हालै प्रकासित कविता संग्रह पानीको बिद्रोहको लागि सुप्रमा पुरस्कारबाट पुरस्कृत हुनु भएकोमा हार्दिक बधाई । यो पुरस्कार बारे केहि बताई दिनुहोस न ।

धन्यबाद । डायस्पोराका आदिकवि मानिनु हुने स्व.ईश्वर प्रसाद मानन्धर र वहांको बुवा स्व. सुन्दर प्रसाद मानन्धरको नाममा वहांको परिवारद्वारा स्थापित पुरस्कार हो सुप्रमा-इप्रमा पुरस्कार । यो हरेक बर्ष बेलायतका सर्जकहरुको प्रकासित कृतिहरु मध्य उत्कृष्ट एक जनालाई प्रदान गरिने रहेछ । यस बर्ष आठौँ संस्करणमा मेरो कविता संग्रह पानीको बिद्रोहलाई उत्कृष्ट कृति मानेर प्रदान गरिएको छ । म अनेसास र मानन्धर परिवार प्रति अत्यन्तै आभारी छु । यो अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले प्रदान गर्ने सब भन्दा ठुलो पुरस्कार मानिन्छ । यसको पुरस्कार राशि २५१ पाउण्ड र प्रमाण पत्र रहेको छ ।

  • थोरै पारिवारिक परिचयबाट कुराकानी शुरु गरौँ न ।

मेरो जन्मघर अहिलेको लुम्बिनी प्रदेश, गुल्मीको हालको मुसिकोट नगरपालिकाको बगाहा हो । मेरो स्थायी बसोबास रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा छ । हाल म मेरो श्रीमान कुमार केसी, जेठो छोरा गौरव केसी र कान्छो छोरा सौरभ केसीसंगै बेलायतको रेडिंगमा बस्छु । जेठो छोराले भर्खर स्वान्सी युनिभर्सिटीबाट सिभिल इन्जिनियरिंग पुरा गरेर काम गर्दै छ भने कान्छो छोराले पोर्ट्समाउथ युनिभर्सिटीमा कम्प्युटर साइन्स दोस्रो बर्षमा अध्ययन गर्दैछ । म रोयल बर्कसायर हस्पिटलमा र मेरो श्रीमान रेडिंग युनिभर्सिटीमा रोजगाररत छौं ।

  • साहित्यमा रुची कसरी बढ्यो ? यसको श्रेय कसलाई दिनु हुन्छ ?

बिद्यालय तहमा हुने हरेक साहित्यिक कार्यक्रमहरुमा मेरो नियमित सहभागीता र गुरुहरुको प्रेरणाले मेरो रुची बढेको हो । बिद्यालय तहमा अध्ययनरत हुँदा नै मैले पढेका महाकवि लक्ष्मी प्रसाद देबकोटाको मुनामदन, रास्ट्रकवि माधब प्रसाद घिमिरेको गौरी शोक काव्य, मेरो घरको अल्पज्ञानी पुरुषवादी वातावरण र निर्धा-निमुखाको आवाज बोल्नु पर्छ भन्ने मेरो अन्तर मनको आवाज मेरो साहित्य लेखनका श्रोतहरु हुन ।

भर्चुअल कुराकानी प्रतिमा केसी
भर्चुअल कुराकानीको क्रममा साहित्यकार प्रतिमा केसी
  • तपाई निकै गहकिला मुक्तक लेख्नु हुन्छ । आजको भलाकुसारीमा एउटा मिठो मुक्तक सुनौं न ।

मलाई त्यस्तो अब्बल मुक्तक लेख्छु जस्तो त लाग्दैन तर पनि कहिलेकाँही कोशिश गर्छु । हुन्छ, म तपाईलाई परदेशबाट घरदेश सम्झेर लेखेको एउटा मुक्तक सुनाउछु है:

झरी पर्दा बाढी आउंदा यता भत्किरहन्छु म

खडेरीमा उता आगो यता सल्किरहन्छु म

सपना र समाचारले एैठन पार्छन हरेक रात

उता देशमा चार्ड पर्व यता झस्किरहन्छु म

  • पहिलो कविता कुन थियो ? यसलाई प्रकासन पनि गर्नु भयो ?

मैले बिद्यालय तहमा नै थुप्रै पध्य कविताहरु लेखेको थिएँ तर ती सबै सुरक्षित राख्न सकिएन । त्यस बेला निकै प्रयोगमा आउने मयुर कपिमा लेखेर राखिन्थ्यो कुनै मिडियामा प्रकासन गर्न अवसर थिएन । मैले त्रिभुवन बहुमुखी क्याम्पस  पाल्पामा पढ्ने समयमा पाल्पाबाट निस्कने सत्य पत्रिकामा प्रकासित गरेको ‘हामी नारी’ कविता नै मेरो पहिलो प्रकासित कविता हो ।

  • तपाईलाई नारीवादी लेखिका भन्ने आरोप पनि छ नि के भन्नु हुन्छ ?

यसलाई मैले आरोपको रुपमा लिएको छैन । सायद मेरा कतिपय रचनामा पाइने नारीका बेदना र आवाजहरु पढेका र सुनेका श्रोताहरुको भनाई हो यो । मैले आफैले मेरो जन्मघरमा भोगेको थुप्रै पितृसत्तात्मक व्यवहार जस्तो कि छोरीलाई पढाउनु पर्दैन, छोरा जन्मेनन भनेर थुप्रै श्रीमती बिवाह गर्ने र छोरीलाई असमान व्यवहार गर्ने सोंचले मलाई निकै दुखी बनाउथ्यो । मैले क्याम्पस पनि निकै संघर्ष गरेर पढेकी हुँ । मैले देखेको हाम्रो सामाजिक परिवेश पनि महिलामैत्री थिएन अहिले केहि फरक भएको छ । यी सबै कुराले मलाई प्रभावित पार्यो र मेरो रचनामा ती कुराहरु झल्किएका हुन । साहित्य तत्कालीन समाजको ऐना भएको हुनाले यी बिषय मुखरित भएका हुन । म नारीको आवाज अबश्य लेख्छु तर नारीबादी मात्र चाहिं अलि हैन ।

  • एक समय त बेलायतमा भएको पार्टी र जातीको संगठनमा पनि निकै सक्रिय हुनुहुन्थ्यो । अहिले चुपचाप किन?

ठिकै भन्नु भयो । बिद्यालय पढ्ने समयदेखि नै बामपन्थी नेता र साथीहरुको संगत भयो । उनीहरुको त्यस बेलाको व्यवहार र विचार मन पर्यो र क्याम्पस जीवन हुँदै जीवनका महत्वपूर्ण समय बामपन्थी संगठनमा संगठित भैयो । बेलायत आएपछि पनि म एक कार्यकाल एमालेको भगिनी संगठन एनडीएफको केन्द्रिय सदस्य भएर काम गरें र पछी एक कार्यकाल ओएनफ (पछी एनडीएफलाइ ओएनएफ बनाइएको थियो) रेडिंग ईलाका कमिटिको अध्यक्ष्य भएर काम गरें । त्यहि बेला नेपालमा एमाले र माओबादी पार्टी एकीकरण भयो । समय क्रममा संगठनमा गुटबन्दी, सुस्तता र गडबडी शुरु भयो अनि फेरी अदालतले छुट्यायो। अहिलेको जुट्ने र फुट्ने अस्तव्यस्तता छ ।  जे भएको छ राम्रो भएको छैन त्यसैले मैले त्यहि समयदेखि राजनितीक संगठनमा मेरो संलग्नता र सक्रियता शुन्यमा झारेकी छु । जहाँ सम्म जातीय संगठनको कुरा उठाउनु भयो – हो म क्षेत्री समाज युकेको समितीमा ४ कार्यकाल काम गरें । कार्य समिति सदस्य, आपतकालीन राहत कोष संयोजक र  उपाध्यक्ष्यको कार्यकाल पुरा गरी बाहिरिएँ । क्षेत्री समाजलाई आर्थिक हिसाबले चुस्त पार्न सकेको योगदान पनि गरें । सुन्दा जातीय लाग्ने क्षेत्री समाज मुलत एउटा कल्याणकारी सामाजिक संस्था हो । ती संस्थाहरुमा काम गरेकोमा गर्ब नै गर्छु ।

  • कुन कुन साहित्यिक संस्थासंग आबद्ध हुनुहुन्छ ?

हाल म नेपाल मुक्तक प्रतिष्ठान युकेको उपाध्यक्ष्य, अन्तरास्ट्रिय नेपाली समाज (इन्स) को भाषा साहित्य समितिको सचिव र साहित्य संगम युकेको संस्थापक मध्यको एक हुँ । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको विशिष्ट सदस्य हुँ । यसका साथै हामीले गत २९ जुन २०१९ मा  प्रतिमा कुमार फाउन्डेसन गठन गरेका छौं र यसको माध्यमबाट नेपालमा ७ जना अनाथ तर जेहन्दार बिद्यालय तहका विद्यार्थीको अध्ययनमा सहयोग गरिरहेका छौं । पानीको बिद्रोह पुस्तक बिक्रिबाट उठेको रकम र केहि सहयोगी मनहरुबाट प्राप्त सबै  रकम पनि सोही कार्यमा लगानी गरेका छौं भने हालै पुरस्कारबाट प्राप्त रकम पनि यसमा योगदान गर्ने घोषणा सम्मानित हुने दिनमा नै सार्बजनिक गरिसकेकी छु ।

  • हाल सम्म कुन कुन विधाका कृतिहरु प्रकासित गर्नु भयो?

मेरो लेखनको सिलसिला केहि लामो भए पनि प्रकासनको इतिहास त्यहि धेरै छैन । मेरा केहि एकल प्रकासन छन भने केहि सामुहिक प्रकासन रहेका छन ।  एकल प्रकासनहरुमा ‘पानीको बिद्रोह’ (कविता संग्रह), ‘आगो बनेर जलायो’ (म्युजिक भिडियो)  र ‘हिम्मत’ (म्यूजिक भिडियो एल्बम) रहेका छन भने संयुक्त प्रकासनहरुमा ‘अक्षरहरुको पिरामिड’ (गजल संग्रह), ‘संयोग’ (गिती एल्बम), ‘प्रवासका अक्षरहरु’ (गजल संग्रह), ‘गजल गङ्गा’ (गजल संग्रह), ‘गीत गङ्गा’ (गीत संग्रह) ‘मुक्तक महक’ (मुक्तक संग्रह), ‘बेलायतका कवि र कविताहरु’ (कविता संग्रह), ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ (मुक्तक संग्रह) थेम्सका काव्यिक छालहरू (कविता संग्रह ), ई-प्रतिनिधी गजलहरु (गजल संग्रह) स्वच्छन्द सुसेली (इको कविता), प्रज्ञा नारी मुक्तक (मुक्तक संग्रह) र ‘प्रणय मुक्तक विशेषांक’ (शारदा विशेषांक) जस्ता संयुक्त प्रकाशन तथा विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरु प्रकाशित छन ।

  • आगामी दिनका प्रकासन योजना के छन?

यसबर्ष मैले मेरो मुक्तकहरुको एकल संगालो प्रकासन गर्ने अन्तिम तयारीमा छु । गत बर्ष प्रकासित मेरो कविता संग्रह ‘पानीको बिद्रोह’ लाइ प्रकाशक र अनुवादक ब्यबस्था गरेर अंग्रेजी संस्करण प्रकासन गर्ने पनि सोंच छ । एउटा सामाजिक उपन्यास मनको गर्भमा छ हेरौं समयले कत्तिको साथ दिन्छ ।

  • तपाईलाई खासमा मन पर्ने साहित्यिक विधा कुन हो ?

मलाई साहित्यको सबै विधा उतिकै मन पर्छ । मेरो पहिलो कृति गध्य कविता संग्रह पानीको बिद्रोह प्रकासन पछि अलि बढी मुक्तकमा समय दिएको छु । उपन्यास लेख्ने योजना पनि गर्भमा छदैछ तर पनि मलाई सबैभन्दा मन पर्ने विधा कविता नै हो । कवितामा पनि गध्य कविता ।

  • डायस्पोरामा रहेर नेपाली साहित्य सृजना बढी सजिलो कि नेपालमा ?

लेख्ने वातावरण, प्रबिधीको सुबिधा र समय ब्यबस्थापनको हिसाबले मलाइ डायास्पोरामा साहित्य सृजना अलि सजिलो हो कि जस्तो लाग्छ । जुन कुरा नेपालमा रहंदा मैले तालमेल मिलाउन अलिक गाह्रो भएको थियो । यद्यपी नेपालमा पनि पारिवारिक वातावरण र आआफ्नो सुगमता सबैको एकै नहुन सक्छ ।

  • परिवारका सदस्यहरु पनि साहित्यमा रुची राख्नु हुन्छ ?

मेरो परिवारमा मेरो श्रीमान पनि एउटा अब्बल साहित्य सर्जक हुनुहुन्छ । गध्य कविता, मुक्तक र कथा लेख्नु हुन्छ तर वहाँले कहिलेकाही मात्र लेख्नु हुन्छ तर राम्रो लेख्नु हुन्छ । छोराहरुको त्यति रुची देखिदैन तर पनि मेरा सृजनाहरु मन लगाएर सुन्छन, केहि बुझ्छन र हौसला पनि दिन्छन ।

  • कुराकानीको लागी समय दिनु भएकोमा धन्यवाद

अन्तरंग भलाकुसारी गर्ने अवसर जुटाउनु भएकोमा तपाई र लण्डन काठमाडौँ परिवारलाई धेरै धेरै धन्यबाद ।

तपाइको प्रतिक्रिया (Facebook )
रमेश कायस्थ

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?