हिन्दू धर्ममा कृष्णजन्माष्टमीको महत्व

हिन्दु धर्ममा कृष्ण जन्माष्टमीको महत्व  

  • कुमार केसी

गत शनिवार म बेलायतको अल्डरसट स्थित शिब कल्चर एण्ड कम्युनिटी सेन्टरमा कृष्ण जन्माष्टमी मनाउने कार्यक्रममा आमन्त्रित थिएँ र ब्यस्तता बीच पनि सहभागी हुने अवसर पनि मिलेको थियो । नेपालीहरुको आफ्नो लगानीमा बनाईएको परदेशको एउटा हिन्दू मन्दिरमा कृष्ण भक्तीमा लीन भएका दर्जनौं भक्तजनहरु देखेर मलाई मनमा एक खालको श्रद्धाभाव  जाग्यो । श्रीकृष्णको जन्म बारे केहि अध्ययन गर्ने, बुझ्ने  र सम्भब भएमा केहि लेख्ने मनोभाव जाग्यो । उपलब्ध गुगल, युट्युब र मसंग उपलब्ध श्रीकृष्णसंग सम्बन्धित केहि पुस्तकहरुको हरफहरु पढें र केहि हरफ लेख्ने प्रयास गरें । निश्चित रुपमा यो मेरो सतही अध्ययन र लेखाई यसका विद्वत  बर्गको लागि प्रयाप्त छैनन तर पनि जनसाधारणको लागि केहि न केहि ज्ञानबर्द्धक हुन सक्छ भनेर यसलाई छोटो लेखको रुप पनि दिएँ । यसलाई भविष्यमा थप अध्ययन सहित अगाडी ल्याउने बाचा सचित यो छोंटो लेख पस्किएको छु ।

शिब मन्दिरमा सहभागी भक्तहरु

बिष्णु पुराणका अनुसार जब जब धर्तीमा आसुरी प्रवृतिको बिगबिगी हुन्छ र देवगण तथा मनुष्यहरुमा बिकराल समस्या आई पर्छ तब तब जगतका पालक श्रीहरि भगवान बिष्णुले बिभिन्न अवतार लिएर असुरहरुको बिनास गरी शान्ती स्थापना गर्नु हुन्छ । कृष्ण जन्माष्टमी पनि मूलतः भगवान बिष्णुको कृष्ण अवतारसंग सम्बन्धित रहेको पाइन्छ । कृष्ण अष्टमी, भगवान विष्णुको आठौँ अवतारको रूपमा श्रीकृष्णको जन्म भएको दिनको अवसरमा हिन्दूहरूले मनाउने बिशेष पर्व हो । पुराणहरुका अनुसार श्रीकृष्ण द्वापर युगमा देवकी र बासुदेबको आठौ सन्तानको रुपमा भाद्र कृष्ण अष्टमीका दिन जन्मेको हुनाले यस दिनलाई श्री कृष्णाअष्टमी भनिन्छ । उनको जन्म र पालनपोषण सम्बन्धी अनेकन भनाईहरु पुराण तथा अन्य धार्मिक ग्रन्थहरुमा वर्णित छन । विकिपिडियालाइ आधार मान्ने हो भने ईसापूर्ब ३२२८  मा उनको जन्म भएको थियो भने ईसापुर्ब १९०१ मा उनले आफ्नो अवतार पुरा गरी मर्त्यलोक छोडेका थिए । श्रीकृष्ण जन्मअष्टमीलाई श्रीजयन्ती, अष्टमी रोहिणी, गोकुलाष्टमी आदी नामहरुले समेत सम्बोधन गरेको पाईन्छ । श्रीकृष्णको अवतारलाई लीला अवतार पनि भनिन्छ उनले पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता भयानक दानव र दानवी प्रवृत्तिको समूल नष्ट गरेर मर्त्यलोकमा अमन चयन कायम गरेका थिए । यही मान्यताको आधारमा हिन्दु धर्म मान्ने हरेक व्यक्ति तथा देशहरुले कृष्ण अष्टमीको दिनमा कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजन तथा कीर्तन गर्ने गर्दछन भने  महिलाहरूले उक्त  दिनभर निराहार ब्रत बसी रातभर जाग्राम समेत बस्ने चलन छ । भगवान कृष्णलाइ कर्मयोग, भक्तियोग र ज्ञानयोगको प्रणेता मानिन्छ ।

ऐतिहासिक पाटनकृष्ण मन्दिर

नेपालमा हिन्दुधर्मालम्बीहरुले कृष्ण जन्माष्टमीलाई निकै धुमधामसंग मनाउने गरेको पाइन्छ  । यस बिशेष दिनमा पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो धार्मिक मेला लाग्छ । यसै उपलक्ष्यमा काठमाडौं लगायत मुलुकका विभिन्न हिन्दू मन्दिरमा भब्य रुपमा श्रीकृष्णको बिशेष पूजा गरिन्छ भने धार्मिक सङ्घसंस्थाहरूले श्रीकृष्णको झाँकी सहित शोभायात्रा निकाल्ने समेत गरेको पाइन्छ । भारत, भुटान, श्रीलंका, म्यान्मार, बंगलादेश लगायतका देशहरुमा त्यहाँका हिन्दू धर्मावलम्बीहरूले  कृष्णाष्टमी निकै हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । यस बाहेक संसारभर छरिएर बसेका हरेक हिन्दूहरुले सम्भब भए हिन्दू मन्दिरमा र नभए आफ्नै घरमा यस पर्वलाई जे सम्भव छ त्यही अनुसार भक्तिपुर्बक मनाउने गरेको पाइन्छ । संविधानत: नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएता पनि सायद अधिकांश नेपालीहरु हिन्दू धर्मालम्बी भएका कारण होला नेपालमा यस दिनलाई राष्ट्रिय पर्वको रुपमा मानिन्छ र सरकारी बिदा नै दिने गरिन्छ ।

हिन्दू धर्म मान्नेहरुले मात्र कृष्ण अष्टमी मनाउछन र उनीहरुको गहिरो बिश्वाश छ कि अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण र कल्याण गर्न भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले उनको मर्त्यलोक कालभर सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । महाभारतको लडाईमा  कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरू मध्येका सर्वश्रेष्ठ धनुर्धर अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त बाणी श्रीमद्‍भागवत गीता जन्मिएको थियो जुन हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो आफैमा एउटा महान बैज्ञानिक दर्शन मानिन्छ र संसारभर यो चर्चित छ ।

महाभारत युद्धमा कृष्णले अर्जुनलाई उपदेश दिदै

गत बर्ष जस्तै यस बर्ष पनि कोरोनाको कारण पाटनको कृष्ण मन्दिर लगायत नेपालका प्रमुख मन्दिरहरु खुलेनन तर भक्तजनहरुले जहाँ जे सम्भब छ त्यसरी यसलाई मनाएको पाइयो । यसले हिन्दु धर्ममा कृष्ण जन्माष्टमीको महत्व वारे प्रष्ट पार्दछ । कृष्ण अष्टमी यो केवल श्रीकृष्णको जन्मदिवश मात्र नभएर हिन्दुहरुको आस्थाको प्रतीकको रुपमा स्थापित परम्परा बनेको छ ।

 

तपाइँकको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?