लण्डनमा बाह्रौ नेपाली मेला भब्य रुपमा सम्पन्न

फिचर फोटो: नरेन्द्र बस्नेत

बेलायतमा रहेको सबै भन्दा ठूलो नेपाली संगठन तमुधीं यूके र नेपाली दुताबासले संयुक्त रुपमा हरेक बर्ष आयोजना गर्ने नेपाली मेला गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ । बेलायतका लागि नेपालका महामहिम राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा लण्डनको केम्पटन पार्क रेस कोर्समा सम्पन्न यो नेपाली मेलाको बाह्रौं संस्करण थियो । उक्त कार्यक्रमको उट्घाटन राजदूत रेग्मी, एनआरएनएका अध्यक्ष्य प्रेम गाहामगर र अध्यक्ष्य हितकाजी गुरुंगले पानसमा बत्ति बालेर गरेका थिए । कोभिड-१९ को त्रासका बीच पनि दुई हजार भन्दा बढी नेपालीहरुको सहभागीता रहेको उक्त मेलाले मिनी नेपाल झल्काइरहेको कुरा प्रत्यक्ष सहभागीहरुको भनाई थियो ।

नेपाली मेलाका प्रमुख अतिथी राजदूत लोकदर्शन रेग्मीले “मेलामा सिंगो नेपाल उपस्थित भएको उल्लेख गर्दै प्राण भन्दा प्यारो देश नेपालको भाषा, संस्कृति, सभ्यता, भेषभूषा सहित नेपाल र नेपाली चिनाउने झलक बेलायतमा हेर्न पाउनु गौरव भएको” बताए । उनले भने- यस खालका कार्यक्रमले भाषा, संस्कृति र सभ्यतालाई थप मजबुत बनाउदै र बेलायत नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यो योगदान नेपाल सरकार समक्ष पुराउने कुरा बताए ।

तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले मेला आयोजनाको लागि सहयोग गर्नुहुने र सक्रिय सहभागी हुनुहुने सबैलाई धन्यबाद दिदै यो सबैको साझा कार्यक्रम भएको कुरा राखे । प्रवासमा नेपाली कला संस्कृति, परम्परा र नेपाली भेषभूषा परिचित राख्ने उद्देश्यले मेला गरिएको विचार व्यक्त गरे । कार्यक्रमको संचालन तमुधीका महासचिव परशु गुरुंगले गरेका थिए भने स्वागत मन्तब्य कार्यक्रमका संयोजक हरि गुरुंगले गरेका थिए ।

नेपाली मेलामा झाँकी र नृत्यतर्फ गरी दुई विधामा मूल्याङ्कन गरिएको थियो । आयोजकहरुका अनुसार सर्वोत्कृष्ट नांच देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार एक हजार एक सय पाउण्ड, एम्ब्यास्डर कप र एनआरएनए यूके कप जित्यो । त्यसै गरी दोश्रो हुने चार भन्ज्याङ तमु समाज यूकेले सात सय पाउन्ड जित्यो भने तेस्रो पुरस्कार किरात राई यायोक्खा यूकेले पांच सय पाउन्ड पायो । त्यस्तै गरी, झांकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भन्ज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भएर पाँच  सय र तीन सय पाउण्ड प्राप्त गरे । उक्त कार्यक्रमका निर्णायकहरुमा सुमलकुमार गुरुङ, पूर्णराज गुरुङ, डा. रुपक श्रेष्ठ र गोमा राना झाँकीतर्फ रहेका थिए भने सनम बैराग, कविता घर्तीमगर र सरु राना गुरुङ नृत्यतर्फ निर्णायक रहेका थिए ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?