त्रिलोचन गौतम , रेडिङ (युके)
‘अंग्रेजी वातावरणमा जन्मिएर हुर्किदै गरेका हाम्रा यी महान सम्भावना बोकेका बालबालिकालाई आफ्नो भाषा-संस्कृति सिकाएर सिपालु बनाउन किन कन्जुस्याई गर्ने?’ – मेरो लामो समयको स्वदेश र विदेशको अध्यापन अनुभवले उत्साहित बनाईरहन्छ । असम्भव भन्ने थाहा पाउँदा पाउँदै पनि एकै दिनमा बालबालिकाहरुलाई खरर नेपाली बोल्न, पढ्न र लेख्न सक्ने बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ। ‘के बिदेशमा बसेर पनि नेपाली सिकाएर बच्चाहरुलाई झंझट दिन आवश्यक छ र ?’ भन्ने तर्क पनि छ । मलाई लाग्छ आज हामीले जे जस्तो संस्कार र मौलिक भाषाका मूलजडी सिकायौं, त्यसले उनीहरुको भविष्य निर्धारण गर्न मुख्य भूमिका खेल्छ । औपचारिक कक्षाहरुमा स-शुल्क विभिन्न अरु भाषा सिक्न हामी तयार हुन्छौं भने आफ्नो मातृ भाषा किन नसिक्ने? त्यस्तै, जति धेरै भाषा जान्यो हामीले हाम्रो जीवनमा उतिनै बढी लाभ लिन सक्छौं ।

भाषा साधन हो भने संस्कृति र परम्परा साध्य हो, जो आफ्नो अस्तित्व पनि हो । हामी नेपालीहरु ठुलो संख्यामा गैरआवासिय छौ । आजको बढ्दो प्रवासको गति संगै आफ्नो अस्तित्व बचाएर अगाडी बढ्न भाषा र संस्कृतिले ठुलो भूमिका खेल्दछ । आफ्नो भाषा र संस्क्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफू वा आफ्ना बुवा-आमाको जन्म देशको बारेमा सुझबुझ राख्नका साथै, आउजाउ गर्न तथा अन्य सामाजिक, आर्थिक ब्यबाहारलाई सहजता अनि गतिशीलता दिन भाषा र संस्कृतिको ज्ञान आवश्यक हुन आउँदछ । नेपालको वर्तमान संविधानले पनि गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताका माध्यमबाट सामाजीक, आर्थिक लगायतका अधिकार प्रदान गर्ने प्रावधान राखेको कारणले पनि आज विभिन्न देशमा अनेक तरहले आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने गतिबिधि हुँदै आईरहेका छन, यो ज्यादै दुरदर्शी कदम हो ।
साँच्चै भन्नेहो भने आफ्नो मौलिक, साझा भाषाको प्रयोग र बुझाईले आफ्ना सन्तान र अभिभावक दुबैलाई मनमुटु बुझ्न सहज बनाउदै आत्मसन्तुष्टि दिन्छ । आफुलाई पालनपोषण गरि हुर्काउने नेपाली भाषी अभिभावक संग दैनिक प्रयोग हुने भाषाको बुझाइ र लगामले बालबालिकाको चौतर्फी व्यक्तित्व विकासमा अझ बल पुग्ने बिश्वास गरिन्छ । साथै विश्वव्यापीकरणको यो परिवेसमा वेलायत लगायत सम्पूर्ण संसार भर रहेका आफ्ना नेपाली इस्टमित्र संग सम्पर्क बढाई व्यक्तिगत र संस्थागत बिकासकालागि पनि भाषा र संस्कृतिको बिकाशले बढावा दिन्छ नै ।
उपर्युक्त मूल उद्द्येश्य संग सान्दर्भिक हुनेगरी रेडिङ नेपाली समाज (Greater Reading Nepalese Community Association; GRNCA) ले सन् २०१४ देखि हाम्रै पहलमा रेडिङमा पनि नेपाली भाषा कक्षा संचालन गर्दै आइरहेको छ । हरेक बर्ष विद्यालय बन्द रहेको केहि समय र ‘कोभीद – १९’ को कारण केहि समय अबरुद्ध हुन गएको सो भाषा कक्षा हाल भने अनलाईन संचालन गरिदै छ।
अंग्रेजी वातावरणमा हुर्किदै गरेका बालबालिकालाई नेपाली सिक्न प्रेरणा जगाउने चुनौतीलाई सामना गर्दै मैले सुरुका दिन देखि नै पूर्ण स्वयम्सेवीको रुपमा यो भाषा कक्षा अध्यापन गर्दै आएको मा आफू गौरव गर्दछु । आफ्ना बालबच्चालाई नेपाली सिकाई त्यहि वातावरणमा हाम्रो यस अभियानमा सदा साथ दिईरहने रेडिङबासी अभिभावक शेखर भट्टराई प्रति पनि हामी आभारी हुनै पर्दछ । रमेश कायस्थ, प्रकाश तिवारी, दुर्गा ढकाल लगायतका अभिभावाकहरुले पनि बिशेष चासोका साथ सहयोग गर्दै आउनु भएको छ । त्यस्तै बिगतमा झैं हाल पनि नेपाली समाज रेडिङका अध्यक्ष टेक बहादुर गुरुङले यस कार्यक्रमलाई जोड दिदै संस्थाको एक अभिन्न उद्देश्य रहेको जनाउँदै उत्साह प्रदान गरिरहनु भएको छ ।
आफ्नो पेशागत कामबाट केहि समय बचाएर चलाइएको भाषा कक्षामा केहि अनलाइन तथा आफूले तयार पारेका सामग्री प्रयोग गरिदै आइएको छ । बालबालिकाहरु आफूले कुराकानी गर्ने, नेपाली गीत गाउने, कथा भन्ने, नेपालसंग सम्बन्धित व्यक्ति तथा बस्तुका चित्र बनाउने आदि क्रियाकलाप गर्दछन । यी क्रियाकलापहरु उनीहरु बडो रमाइलोका साथ प्रस्तुत गर्दछन, जसले कक्षालाई अझ आकर्षक बनाइरहेको हुन्छ ।
यस माध्यामबाट कक्षाको मूल उद्देश्य – ‘नेपाली अक्षर र अंक चिनी, साधारण शब्द हुदै वाक्य पढ्न र लेख्न सक्ने सिप हासिल गराउने’ प्रयास गरिन्छ । यसका साथै उनीहरुले नेपालको संस्कार, संस्कृति लगायत अन्य क्षेत्रका ज्ञान पनि हासिल गर्नेछन । यद्यपि यी उद्देश्य प्राप्तिकालागि भने समय लाग्दछ, अभिभावक लगायत सबैमा धैर्यता आवश्यक पर्दछ । यहाँ महत्वपूर्ण कुरा के छ भने – बहुसंख्यक अभिभावकहरु आफैं पनि नानीबाबुहरुलाई ध्यान दिएर सिकाइ रहनु भएको छ र यसकार्यमा प्रत्यक्ष साथ दिईरहनु भएको छ ।
वास्तवमा बालबालिकाहरुको सच्चा शिक्षक अभिभावाक नै हो । अध्यापकले सामान्यतय सिमित समयमा बाटो देखाउने काम गर्दछ ।समय समयमा प्रोत्साहन स्वरूप उनीहरुलाई केहि आकर्षक पुरस्कार तथा सम्मान गरिनु आवश्यक छ । किनकि सिकाई रमाइलो, मनोरन्जनात्मक नभएमा बालबालिकाहरु यसबाट पछी हट्ने स्वभाविकै हो । त्यसै गरेर भाषा सिकाइको प्रयोग तथा संस्कृतिको ज्ञानको स्थाइत्व तथा परिपक्वताकालागि हामीले नेपाली समाज मार्फत विभिन्न चाड-पर्व, जस्तै: दशैँ, तिहार, तिज, सरस्वती पूजा, बुद्धजयन्ती, भानु जयन्ती इत्यादि मनाउँदा बालबालिकाहरुलाई सकेसम्म प्रत्यक्ष रुपमा सहभागी पनि गराउंदै आएका छौं ।
जसरी मलाई यो दुरगामी महत्वको क्रियाकलापलाई अध्यापक वा संयोजकका रुपमा रही निरन्तरता दिने मोह छ, त्यसरी नै यसलाई स्थाइत्व दिनकालागी संस्थाले अध्यापन समूह दर्बिलो बनाई अझ अनुसन्धान र प्रविधिको प्रयोगका साथ बिशेष कार्ययोजना बनाइ आगामी दिनमा अगाडी बढ्नु पर्दछ भन्ने मेरो बुझाई रहेको छ । यो नेपाली मोह ‘मेरो’ भन्दा पनि ‘हाम्रो नेपाली मोह’ हुन सकोस् ।
- अठार बर्षिया एमा राडुकानुको हातमा ३० करोड: हामीले के सिक्ने? - September 30, 2021
- मेरो नेपाली मोह - September 14, 2021
- The Joy of 14th Reading Cup by GRNCA - September 6, 2021