दुई गजल

पुष्प अधिकारी अञ्जलि

गजल १

आमा पनि छोरा गाको हेरिरहनुहुन्छ
पर नपुगुन्जेलसम्म काँहो हेरिरहनुहुन्छ

उमेरले डाँडा काटे पछि के नै लाग्छ र
आमा निभेको उज्यालो हेरिरहनु हुन्छ

छातिमा देश बोकेर गएको छोरालाई
उ कहिले फर्कन्छ बाटो हेरिरहनु हुन्छ

बा मर्दा लाश उठाउने कोही भएनन्
आमा कसले दिन्छ आगो हेरिरहनुहुन्छ

यहाँ भोकले मरिरहेका छन् नानीहरु
आमा को पराइ को आफ्नो हेरिरहनुन्छ

गजल २

मान्छे हो कि त्यो ईश्वर कहिलेकाहीँ झुक्किन्छु।
मूर्ति हो कि त्यो पत्थर कहिलेकाहीँ झुक्किन्छु।

दिनेहरूले त सधैं माया गरेर प्यून दिन्छन् यार
तर अमृत हो या जहर कहिलेकाहीँ झुक्किन्छु।

मैले बेचेको मेरो जिन्दगीको हरेक कथाहरुले
कसलाई गर्छ धेरैअसर कहिलेकाहीँ झुक्किन्छु।

देखेर प्रियाको आँखामा गाजल र निधारमा टिका
जून हो कि उनको अधर कहिलेकाहीँ झुक्किन्छु।

मलाई हौसला दिनेहरू दुश्मन थिए या मित्र थिए
यहि कुराले म अक्सर कहिलेकाहीँ झुक्किन्छु।।

भरतपुर, चितवन

तपाइँकको प्रतिक्रिया (Facebook )