नियत

महानन्द ढकाल

“अनलाइन” कक्षा सुरु हुने भएपछि राजमतीले बाबुलाई मोवाइल किन्न पठाइन् । सत्र हजार छ सय चालिसको मोबाइल राजमतीको हातमा सलबलाउन आइपुग्यो । शिक्षकहरूले “फेसबुक एकाउन्ट” खोलिदिए । “म्यासेन्जर ग्रुपमा” जोडिदिए राजमतीलाई । फोटाहरू “पोष्ट” गर्न सिकाइदिए । “लाइक”, “कमेन्ट” र “म्यासेज” गर्ने तरिका सिकाइदिए । “फ्रेण्ड रिक्वेष्ट” पठाउन र “एसेप्ट” गर्न सिकाइदिए ।

फेसबुकमा “फ्रेण्ड रिक्योइष्ट” आउन थाले राजमतीका । सबैलाई “एड” गर्दै गइन् । प्रिन्स नाम गरेको केटोलाई पनि एड गरिन् राजमतीले । “एड गर्नु भएकोमा आभारी छु ।” प्रिन्सले म्यासेज पठायो । खुसी हुँदै राजमतीले पाँच मिनेट लगाएर “धन्यवाद” लेखिन् ।

दोस्रो दिन प्रिन्सले फेरि म्यासेज लेख्यो । “हजुरले पोष्ट गरेका तस्बिरका सिनहरू मन पर्यो । कहाँको हो ?” “राजमतीले आफ्नै घर नजिकैको हो” भनेर जवाफ दिइन् । “हजुरको घर कहाँनिर छ ?” पुन: प्रश्न गर्यो । राजमतीले ” बर्दिया, बाँसगढी” भनेर साँचो ठेगाना बताइन् । “एक दिन घुम्न आउनु पर्ला” प्रिन्सले म्यासेज लेख्यो । “हुन्छ” भनेर जवाफ दिइन् राजमतीले ।

प्रिन्ससङ्ग कुराकानी हुन थालेको एक हप्ता जति भएको थियो । प्रिन्सले एका बिहानै म्यासेज लेख्यो ” बाँसगढी, लक्ष्मणा अन्टी हुनुहुन्छ । आज बाँसगढी आउँदैछु ।” “हजुरको घर कहाँनिर हो ?” “राजमार्गदेखि उत्तर ।” राजमतीले छोटो जवाफ दिई । ” हजुरको कता नि ?” राजमतीले प्रिन्सको घर सोधी । “बल्ल आज सोध्यौ त ? अँ कोहलपुर ।” अक्मकाउँदै उत्तर दियो प्रिन्सले । “के हाम्रो भेट हुन सक्छ ?” प्रिन्सले राजमतीसङ्ग भेट्ने इच्छा राख्यो । राजमती अक्मकाई । “आज त मेरो काम छ ।” भेट्न अप्ठ्यारो मानेकोले झुट बोली राजमती । “ठिक छ नि म भोलि नै आउँला ।” प्रिन्सले जसरी पनि भेट्न कर गर्यो । राजमतीले नाइनास्ति गर्न सकिन ।

भेट्ने स्थानको छनौट र समय आफैले तय गरेकी थिई राजमतीले । प्रिन्स घरसम्म नआओस् भन्ने चाहन्थी ऊ । मन मिल्ने साथी देवकासङ्गै आधि घण्टा पहिले पुगी तोकिएको स्थानमा राजमती । प्रिन्स साइकिलमा आयो । तोकिएको समयमै आयो । इमान्दार रहेछ भनेर मख्ख परी राजमती ।

साइकल बाटाको छेउमा राखेर जङ्गलको थोरै भित्र गए उनीहरू । बाटोमा हिड्नेले झ्याप्प नदेखुन् भन्ने नै थियो जङ्गलमा छिर्नुको कारण । कालो चस्मा, रातो टिसर्ट र जिन्स पाइन्टमा आएको उ खाइलाग्दो देखियो । मास्क लगाएर आएको प्रिन्सले मास्क भने खोलेन । मास्क खोलोस् भन्ने लागेको भए पनि राजमतीले मास्क खोल्न कर गर्न सकिन। केहीबेर कुराकानी गरे । प्रिन्सको मन स्थिर नभए जस्तो लाग्यो । मोबाइल निकाल्यो र फटाफट नम्बरहरू डायल गर्यो । प्रिन्सले खै कस्को नम्बर डायल गर्यो राजमतीलाई जाकारी भएन । मोबाइलबाट” तपाईंको व्यालेस्स सकिएको छ पुन: रिचार्ज गर्नु होला ” भन्ने आवाज सुनियो ।

“राजमती हेर न, साथीलाई फोन गर्नु थियो “व्यालेन्स” सकिएछ तिम्रो मोबाइल लेऊ न” भनेर मोबाइल माग्यो । राजमतीले मोबाइल दिई । नम्बर डायल गर्दै ऊ बाटोतिर आयो । साइकिल नजिकै पुग्यो । राजमती र देवकाले जङ्गलको छेउबाटै हेरिरहेका थिए । प्रिन्सले दुबै मोबाइल गोजीमा हाल्यो । साइकलमा चढ्यो । राजमती र देवकाितिर नफर्की सुइकुच्चा ठोक्यो । राजमती र देवकाले रोक्न खोजे प्रिन्सलाई । पछ्याउँदै अगाडिसम्म गए । एकै छिनमा ओझेल पर्यो राजमतीको प्रिन्स । राजमती र देवका मुखामुख गरे । राजमती एक्लै आएको भए एकान्त जङ्गलमा प्रिन्सले के गर्थ्यो होला ?

कोहलपुर, बाँके

तपाइँकको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?