हवाई छाप चप्पल (लघु कथा)

कुमार केसी

“हाम्रो पार्टीको सरकार बन्यो भने यो देशका सबै दीनदुखीहरुको छाना, खाना र नानाको ग्यारेन्टी गरिनेछ”

कुरा २०४२ सालतिरको नेपालको मध्य तराईको एउटा सुन्दर गाउंको हो। सायद हुने खाने होईन कि हुँदा खाने सबै नेपाली गरीब बस्तीको लगभग प्रतिनिधि बस्ती हो त्यो। ती बस्तीमा प्राय: आइरहने दुब्लो पातलो शरीर, पलेटी कसेर बस्दा खुम्चिएको जस्तो देखिने पाईन्ट र बाक्लो भकुले हवाईछाप चप्पल लगाउने तर मुखमण्डलमा गजबको तेजिलो आभा भएको मान्छेको कुरा हो। उनको नाम राहुल हो भन्ने बाहेक थप परिचय कसैलाई भएन। उनले ती बस्तीहरुमा नाना र खानाको कुरा गर्दै झण्डै एक दशक बिताए। भुमिगत पार्टी संगठन बनाए। राती रातीमा कैयौं बैठक गरे। गाउँका लगभग सबैका प्यारा थिए। त्यो गाउँमा आउँदा प्राय: चन्द्रे दाईको घरमा बस्थे। घरमा जे पाकेको छ त्यही खान्थे। उनी प्रति सबैको बिश्वास पनि थियो।

समयले छलाँग मार्यो। ०४६ मा पार्टीहरु फुकुवा भए। देशमा बहुदलीय ब्यबस्था पुनर्स्थापना भयो। सिंगो गाउँ र देशले अबीर लगायो। उनी कुनै पार्टीका केन्द्रिय नेता रहेछन।चर्का भाषणबाजी भयो। त्यसयता उनी प्राय: सधै चुनाबमा त्यो गाउँमा आउछन, भोट माग्छन, चुनाव पनि जित्छन र पटक पटक मन्त्री पनि भैरहन्छन। राजधानीमा ठुलो घर छ भन्छन। पोहोरसाल पनि राहुल सुकिला मुकिला भएर ठुलो चिल्लो गाडीमा दलबल सहित गाउँमा खानेपानी आयोजना सिलान्यास गर्न आएका रे! उनले लौरो टेकेर नजिकै उभिएका सेल्टरदाता चन्द्रे दाईलाई चिनेन रे! चिनुन पनि कसरी? चन्द्रे दाईको घरको छानाले अहिले घाम पानी केहि छेक्दैन। राहुलको गाडीले उडाएको धुलो बिना रोकतोक चन्द्रे दाईको घरको सबै भागमा पुग्छ। बुर्जुवा शिक्षा बहिष्कार गरेर पार्टीमा लागेको चन्द्रे दाईको छोरा अहिले नाना र छानाको खोजीमा अरबमा श्रम बेच्दैछ छ। सरकारले यता पढेलेखेका लागि प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने भएछ। चन्द्रे दाईको सहारा, भाउजुलाई पनि ६ महिना पहिले कोरोनाले लग्यो। उनको घरको पालीमा कोपेको, राहुलको फित्ता चुँडेको पुरानो हवाई चप्पलले ती बुढा चन्द्रे दाईलाई भने अहिले पनि उही खाना, नाना र छानाको सपनाहरु बाँडिरहेको छ। निरन्तर बाँडिरहेको छ।

(घटना सत्यको नजिक छ तर पात्रको नाम कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ।)

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?