कस्तो कविता लेखुँ म ?
वाशु शर्मा

हाँसेको कविता लेखुँ कि
मन रोएको लेखुँ
आशा गरेको लेखुँ
या, मन मरेको लेखुँ
कस्तो कविता लेखुँ म ?
वतास जस्तै भाव तरंग
आकाशभरि यत्रतत्र उडान भर्न खोज्छ
धर्तीभरि वर र पर विचरण गर्न खोज्छ
मिठो सपना सजाएर आखाँमा
सुख शैयामा निदाउन खोज्छ
हर्षका बुँदहरु खसाउॅदै तप तप
सिंगो मनलाई भिजाउन खोज्छ
परन्तु
भावनाको प्रवाह अवरुद्ध हुँदा भने
सपनाहरु थुनेर गतिरोध आउँदा भने
आँधी झैं मन विद्रोह मच्चाउन थाल्छ
सगरमाथाको थाप्ला माथि उक्लिएर
दुनियॅालाई थर्काउॅदै चिच्याउन थाल्छ
तब म,
मिठो स्पर्श गर्ने वतासको कविता लेखुँ
कि, विद्रोह ओकल्ने आँधीको कविता लेखुँ
उत्साही सपनाको लेखुँ
या, घायल विपनाको लेखुँ
कस्तो कविता लेखुँ म ?
मान्छेहरु
आफ्नो अभिष्ट पुरा गर्ने हेतुले
मान्छेलाई नै कज्याउन पोख्त छन्
निर्लज्ज भएर नांगो हुन अभ्यस्त छन्
न बोलीको ठेगान
न त भरपर्दो ईमान
लाग्छ, विश्वास र भरोशालाई टुकी बालेरै खोज्नु पर्ने भो
सत्कर्म र सद्भावलाई पनि कुना काप्चामा खोज्नु पर्ने भो
जनभावना र जनहीतका कुरा
गफै गफको जादूगरी तमाशा बनिरहेको देख्दा
‘सर्वे भवन्तु: सुखिन’ को कुरा पनि
केवल अक्षरहरुको जडसुत्र बनिरहेको देख्दा
आशा र अपेक्षाहरुको कविता लेखुँ
कि, बेइमानी र निर्लज्जताको लेखुँ
आशातित भविष्यको लेखुँ
वा, पतित मान्छेहरुको लेखुँ
कस्तो कविता लेखुँ म ?
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021