देश, दशैं र मन

प्रतिमा केसी

युद्ध र आन्दोलनले गलेको वेला

भुकम्पको व्यथामा ढलिरहँदा

राष्ट्रीयता र स्वाभिमानको

संजीवनी पिएर

कतै सवल कतै दुर्बल

वैशाखीहरुको साहारामा

उठ्न खोज्दै छ

तंग्रिन खोज्दै छ देश

दक्षिणबाट बग्ने बेमौसमी हावा

हिमालमा ठोक्किई

पहाड बगेर

तराइ डुवाउंदा

रमितेहरुको अगाडि

कत्ति पनि घुँडा टेक्नु हुँदैन भन्दै

शिर छामेर पाउ थामेर

उत्रिन खोज्दै छ देश

महामानवको खोजीमा हिंडिरहेछ

दशकौं दशकसम्म लडिरहेछ

फलामे चिउरा चपाउनु,पचाउनु र

कौरव पान्डवको पासा अनि

सीताको अग्निपरीक्षा जस्तै छ समय

हो यही विषम परिस्थितिमा

देश अल्झिएको बेला दशैं आउंदा

मनको क्यानभास रंगहीन छ

 

रोकिंदै रोकिन्न ऊ आउँछ आउँछ

मीठो खाना,राम्रो नाना,आशीर्वाद र

दान दक्षिणा पुनर्मिलन मात्र हैन

एक थुन्से दुख,दर्द र अभाव वोकेर

मृगतृष्णारुपी सपना देखाउंदै

हुनेहरुको लागी दशैँ र

नहुनेहरुको लागी दशा भएर

वल्झिन्छ अल्झिन्छ दशैं

कुरीति र कुसंकारका

वनमाराहरू मास्दै मास्दै

हिंसात्मक पशुवलिको सट्टा

काम,क्रोध,लोभ,मोह र अहंकारको

पन्चवलि पर्खिरहेछन

दशैंका कोटहरू

 

छताछुल्ल छरिएका

युगौं दुख्ने भुकम्पका घाउहरु

चहराइरहेका मधेशका आला पीडाहरु

घर आगनमा भित्रिएको दशैं

छुटेका आफन्त र बाल्यकाल

अनि सम्झनाका धुमिल तस्वीर मात्र

यही बाध्यता र विचलित मनको पिंगमा

यो प्रवासी मुटु नतमस्तक छ

रोग र शोकलाई थाँती राखेर

मनका रिक्तता र तिक्तताको समायोजनमा

निधारमा टिका कपालमा जमरा उनेर

विजयीको प्रदर्शन  गर्नुपर्ने छ

मनका दुस्भावहरुको वली चढाइ

दुर्गा माताको अगाडी शिर निहुराएर

शक्तिको झोलि थाप्दै

अझै झुक्नुपर्ने छ, दुख्नु पर्ने छ

किनकी कि यो वेला

मनको राज्य

देश र दशैंले

कव्जा गरिसकेको छ

 

(प्रतिमा केसीको कविता संग्रह “पानीको बिद्रोह”बाट साभार)

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?