अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक अनावरण भएको छ ।
शनिबार २३ सेप्टेम्बरको दिन बौद्ध परम्परा अनुसार लामा र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेपछि बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणीकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेक थिए ।

को हुन् त कुलवीर थापा
कुलबीर थापा बेलायत सरकारको सम्मानित पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली हुन् । सन् १८८८ मा पाल्पामा जन्मिएका थापाले प्रथम विश्वयुद्धमा जर्मनी बिरुद्धको लडाइमा देखाएको अदम्य शाहस र बहादुरीको लागि २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाएका थिए ।
लुको युद्धको शुरुमा २५ सेप्टेम्बर १९१५ मा उनी फ्रान्समा तैनाथ थिए । उनको सैनिक टोलीमाथि विपक्षी जर्मन सैनिकहरुले गोलाबारी शुरु गरे । लड्दै जांदा उनी जर्मन नियन्त्रित क्षेत्रमा पुगे । उनी घाइते पनि थिए ।
यस्तैमा उनले लेस्टरशायर पल्टनको एक जना सिपाहीलाई ढलेको अबस्थामा फेला पारे । ती सैनिकले उनलाई आफ्नो ज्यान जोगाउन सुझाव दिएपनि कुलवीरले उनलाई काँधमा बोकेर अलिक सुरक्षित ठाउँमा लगेर गोली लागेको चोटबाट रगत बग्न नदिन मलमपट्टी बाँधी दिए । अनि फेरि आफ्नो ज्यानको प्रबाह नगरी उनी फेरि जर्मनी फौज बसेको ईलाकामा गई अन्य २ जना घाइते गोर्खाली सिपाहीहरुलाई अलिक सुरक्षित स्थलमा ल्याए । उनीहरुको प्राथमिक उपचार गरे । यति गर्दा–गर्दै बिहान हुन लागेको थियो । उनले यसरी ३ जना सहपाठीलाई सुरक्षित साथ ब्रिटिश फौजको ईलाकामा उतारे ।
यही बहादुरीका लागि बकिङघम राजदरबारमा आयोजित एक समारोहमा ब्रिटिश नरेश किङ जर्ज पांचौंले थापालाई भिक्टोरिया क्रस तक्मा प्रदान गरेका थिए ।सन् १८५७ बाट दिन शुरु गरिएको ब्रिटिश साम्राज्यको यो सर्बोच्च पदक बिदेशी फौजलाई दिएको यो नै पहिलो थियो ।
हुलाक टिकटमा कुलवीर
सन् २०१५ मा बेलायती हुलाक सेवा रोयल मेलले राइफलम्यान कुलवीर थापाको फोटो सहितको प्रथम दर्जाको हुलाक टिकट प्रचलनमा ल्याएको थियो। प्रथम विश्वयुद्धको सम्झनामा कुलवीर थापा को फोटो रहेको सहित अन्य छ ओटा हुलाक टिकट प्रकाशन गरेको थियो।
नेपालीहरुकै पहलमा शालिक अनावरण
१५ प्रतिशत गोर्खालीहरु बसोबास गर्ने फार्नबरो र अल्दर्शट क्षेत्रस्थित प्रिन्सेस गार्डेनमा झण्डै ३ करोड रुपैयाँको लागतमा उनै कुलबीर थापा मगर भीसीले घाइते ब्रिटिश सिपाही, बिल केह्टली, लाई काँधमा बोकेर सुरक्षित ठाउँमा लग्दै गरेको पूर्णकदको मूर्ति स्थापना गरेको छ । यस पटक भने गोर्खालीहरुको आफ्नै प्रयासमा यो कार्य भएको हो ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा संकलन गरि सालिक बनाइएको हो ।
प्रोजेक्ट म्यानेजर क्याप्टेन रिटायर्ड ग्यारी घलेका अनुसार सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको छ । मूर्ति बनाउन मात्र कलाकार एमी गुडम्यानलाई करिब ७५ हजार पाउण्ड दिइएको थियो ।
रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा प्रोजेक्ट शुरु भएपनि कोभिड महामारीले केही समय लम्बिएर अहिले अनावरण सम्भव भएको हो ।
काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लिज दिएको छ । सालिक मर्मत सम्भार पनि काउन्सिलले नै गर्छ ।
- कुलवीरको कदर - October 1, 2021
- माता पितामा समर्पित ५ मुक्तकहरु - September 7, 2021
- “सबैको साझा उम्मेदवाररुपमा अघि बढ्ने प्रयासमा छु” – रामशरण सिम्खडा - August 29, 2021