घात

छविलाल खड्का

कुर्सीले सधैं खाटलाई जिस्क्याउँथ्यो । “बोझारी  !”

एक दिन खाटले मालिक र मालिक्नीको कुरा सुन्यो । मालिक – “प्यारी ! आज म गाउँ जानू पर्ने भयो  । न्यास्रो  नमान्नू । भोलि त जसरी पनि फर्किन्छु ।” “नगए हुन्न र ?” मालिक्नी । “जानुपर्छ । अंश बण्डाको कुरो  छ ।” मालिक सम्झाउँदै थियो  । मालिक्नीले मुन्टो  हल्लाएर स्वीकृति दिइन् । मालिक्नीलाई अङ्गालोमा बेरेर एक चुम्बा खाँदै मालिक झोला बोकेर निस्कियो।

खाट खुसी हुँदै कुर्सीको  नजिक गयो । “के हो  ? आज त निकै खुसी छस् त ?” कुर्सीले सोध्यो। “सधैं मलाई बोझारी भन्थिस् नि । आज सिङ्गल । मालिक गाउँ गयो । कहिले काहीँ त हाम्रा पनि दिन फिर्दा रहेछन् । देखिस् त ।” खाटले खुसी मिश्रित गर्व पोख्यो । “लु बधाई छ !” कुर्सीलाई भित्र भित्रै रिस उठ्यो  तर बाहिर देखाएन ।

साँझ पर्यो ।बिहान झिस्मिसे भयो । खाट निन्याउरो मुख लाएर सुँक सुँक गर्दै थियो । कुर्सीले लक काट्यो  – “गधालाई भारी नपाएको पिरलो  !” खाटलाई झन् चोट पर्यो । क्वाँ क्वाँ रुन थाल्यो  । कुर्सीले सान्त्वना दिदै सोध्यो  – “के भयो ? किन रोएको ?” “मेरो  खुसीमा घात भयो  ।” “कसरी ?” “झन् यमानको जुँगामुठे पो  ल्याएर मरिछ !”

कोहलपुर

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?