छोरा

मुजा परेका अनुहार मुसार्न खोज्यो हातमा छाला मात्र आउँछ । आँखा धमिला भैसके । घामको उज्यालोमा पनि मधुरो देख्छु । चस्मा लगाए पनि उस्तै । नलगाए पनि उस्तै । फेरि बुढेसकालमा त चस्मा पनि भारी लाग्ने रैछ । आफ्नो शरीर थेग्न नसक्ने भएपछि सबै कुरा बोझ लाग्दोरहेछ ।
फुलेका दारीले बिझाइरहन्छन् । चिलाइरहन्छ । पटक पटक दारीमा हात देखेर होला बुवा दारी फालिदिउँ भन्छ छोराले । आलस्य शरीरमा फुर्ति पटक्कै हुँदैन भैहाल्यो भोलि फालौंला नि । यसै टारिदिन्छु ।
शरीरको हेरचाह कसले गरिदिने ? उठ्यो जिउ थरथर काँप्छ । कपडा जस्तो पायो उस्तै लगाउँछु । कहीँ जानु भए पो जोडा मिलाएर लगाउनु । बाथरुम जाँदा लडिने हो कि भनेर डर लागिरहन्छ । चिप्लो टायल छ पल्टिएँ भने जीवन त्यतिबेलै सकिन्छ । हिड्यो कि खुट्टा लगलग हुन्छन् । शरीरको भार थेग्नै सक्दैनन् । भित्ता समातेर हिड्नुपर्छ ।
खाना दाँतले होइन गिँजाले चपाउनु पर्छ । सबैलाई पाकेको खाना गिँजाले चपाउन गाह्रो मान्छन् । जबर्जस्ती गरे दुख्न थाल्छन् । हातले मिच्न र गिँजाले फुटाल्न सक्ने मात्र खाना पेटमा पुग्छ । थालमा सधैं खाना फालिन्छ । घाँटीले ननिलेपछि पेट भोको भएर पो के गर्नु र ?
विस्तारा फोहोर भएर होला । हरहर गन्ध आइरहन्छ । बुहारीले फोहोर भयो तन्ना फेरौं बुबा भन्छिन् तर मलाई उठ्न मनै लाग्दैन । भैगो भोलि फेरौंला भनेर टारिदिन्छु । मेरो काम अरुले गरिदिउन जस्तो लाग्दै लाग्दैन । आफैंले गर्न चाहिँ सक्दिन । त्यसैले पनि म निकै फोहरी भएको छु ।
नातिनातिनी नजिक पर्न छाडिसके । माया भने गरिरहन्छन् साथै कचकच पनि गरिरहन्छन् ।
जे होस् घर परिवारले माया गरेकै छन् । छोराले त औधी माया गर्छ । मेरो जस्तो परिवार सबैलाई मिलोस् भनेर भगवानसँग विन्ती गरिरहन्छु ।
आज किन किन विस्तारामा सुतेको निद्रा परेन । टहलाउनका लागि कोठाबाट बाहिर निस्कें । सुतेका कसैलाई डिस्टर्व नगरुँ भन्ने सोंचेर बिस्तारै बाहिर निस्कन खोंजे । बत्ती कतै बलेको थिएन तर छोराको  कोठाबाट  मधुरो आवाज बाहिर आएको थियो ।

“बुबा निकै फोहोरी हुनुभयो । घर गन्हाउने भैसक्यो । पिसाब फेर्न चर्पी जानुहुन्न । भित्तो समाउँदै घर पछाडि जानुहुन्छ । झ्यालबाट गन्ध भित्र आइरहन्छ । बिस्तारा गन्हाएर हैरान छ । तन्ना त आफै फेर्न सकिहाल्नुहुन्छ नि । कपडा भिखारीका जस्ता भैसके । फेर्नै मान्नुहुन्न । देख्नेले पनि के भनेका होलान ।  बुढालाई कति दु:ख दिएका ? भन्ने भए । म त हैरान भैसकें ।” बुहारीले गुनासो पोखेको सुनें ।

भित्ता समातेर ढोका  नजिक पुग्दै थिएँ “कति पो बाँच्लान् र बुढा अब । सबै शरीर शिथिल भैसकेको छ । दु:ख सुख गर । मरेपछि टन्टै साफ ।” छोराको आवाज कानमा ठोकियो । मेरो धरातल भाँसियो । छाँगाबाट खसें ।

सुमित्रा न्यौपाने
कोहलपुर-१२, बाँके

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?