गृहमन्त्रीको गृह जिल्लामा गोली र कर्फ्यु

गृहमन्त्री बालकृष्ण खांडको गृह जिल्ला रुपन्देही यतिबेला अशान्त भएको छ । त्यहाँ प्रहरीले गोली चलाउनु परेको छ भने प्रशासनले कर्फ्यु आदेश गरेको छ ।  लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकामा  प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवादमा सुरक्षाकर्मी र जग्गामा जबरजस्ती बसोबास गर्न खोज्ने सर्बसाधारण बीच ठुलो झडप भयो । त्यहाँ प्रहरीले गोली चलाउँदा आइतबार चार सर्बसाधारणको मृत्यु भएको छ । मृतकमध्ये कपिलबस्तुका रमेश परियार बाहेकको सनाखत हुन सकेको छैन ।

दोहोरो झडपमा परी ५० जनाभन्दा जना भन्दा बढी घाइते भएका छन् । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेका अनुसार “घाइतेमध्ये १६ सर्वसाधारण र ३० सुरक्षाकर्मी छन् । सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका १४ र सशस्त्र प्रहरी बलका १६ जना घाइते छन् ”। भैरहवा मेडिकल कलेजमा उपचाररत ९ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

रूपन्देही प्रहरी प्रमुख मनोज केसीले औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नका लागि बाहिरबाट आउने समूहलाई सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको बताए । मगरघाटको पुलमा पहिलो झडपपछि हरिहरपुरको पीपलको रूखनिर दोस्रो ठुलो झडप भएको थियो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले थप अतिक्रमण गर्न नदिने प्रयास गर्दा सुरक्षाकर्मीमाथि नै ढुंगामुडा र पेट्रोल बम हान्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको बताए । जिल्ला प्रशासनले स्थिति नियन्त्रणमा लिन अर्को सूचना जारी नहुँदासम्म आइतबार अपराह्न ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

पछिल्लो समय बाहिरबाट आई कब्जा गरेर बस्नेको संख्या बढ्दै गएपछि स्थानीय जनप्रतिनिधि, समाजसेवीको समेत सल्लाहमा सुरक्षा निकायले बल प्रयोग  गरेरै उनीहरूलाई भगाउने रणनीतिमा लागेको थियो । मर्ने मान्छेको पहिचान नहुनुले पनि धेरैजना बाहिरबाट आएर कब्जा गर्न खोजेको पुष्टी हुन्छ ।

कान्तिपुर दैनिकका अनुसार औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न दुई सातायता लुम्बिनीसँगै कर्णाली, गण्डकी र वाग्मतीका केहि जिल्लाबाट  समेत मानिस आउन थालेपछि स्थानीय बासिन्दा चिन्तित थिए । त्यसैले स्थानीय प्रशासनले बढी चासो दिएर नियन्त्रण प्रयास सुरु गरेको थियो । भदौ २९ मा प्रहरीले झन्डै ४ हजार अस्थायी घरटहरा भत्काएको थियो । तर पनि अतिक्रमण रोकिएन । स्थानीयका अनुसार दिनमै दुई/तीन सय जना जग्गा कब्जाका लागि आउन थालेका थिए । असोज ४ मा कब्जा गर्नेलाई हटाउन पुगेको प्रहरीमाथि नै पेट्रोल बम प्रहार गरिएपछि नयाँ रणनीतिका साथ आइतबार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

के हो मोतिपुर औद्योगिक क्षेत्र र यसमा नै किन आँखा ?

कान्तीपुर दैनिकले थप बिवरण दिएको छ कि औद्यागिक क्षेत्रका लागि छुट्याइएको जग्गा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासँग जोडिएको तिनाउ नदी उकास क्षेत्र हो । त्यहाँ धेरै जग्गा ऐलानी थियो । स्थानीयले वर्षौंदेखि त्यही ऐलानी जग्गामा घर बनाएर बस्दै आएका छन् । त्यही ऐलानी जग्गा समेटेर सरकारले औद्योगिक क्षेत्र बनाउने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र घोषणा गरेको थियो । त्यति बेला ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने भनिएको थियो ।

औद्योगिक क्षेत्र बनाउन सरकारले जग्गा अधिग्रहण गरेर काम थाल्ने क्रममा गत फागुन २१ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक करिडोरको शिलान्यास गरेका थिए । स्थानीयको माग सुनुवाइ नै नगरी करिडोर निर्माण प्रक्रिया अघि बढाएको भन्दै विरोध भएको थियो । त्यतिबेला विरोध गर्ने धेरै स्थानीय नै थिए । पौडेल र भट्टको त्यति बेलाको कार्यक्रम बिथोल्न खोजेका ५ जनालाई शनिबार रातिदेखि नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सरकारले उक्त क्षेत्रको जग्गा औद्योगिक क्षेत्र लिमिटेडका नाममा २०७३ सालमै दर्ता गरिसकेको छ । दुई वर्षभित्रै न्यूनतम पूर्वाधार निर्माण गरी उद्योग खोल्न दिने योजनाअनुसार काम अघि बढाइएको छ । ठूला उद्योगका लागि १ सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका ९२ वटा प्लट निर्माण गर्ने तयारी छ । औद्योगिक क्षेत्र ९ सय ४६ बिघामा फैलिएको छ । त्यसमध्ये १ सय ३३ बिघाको जग्गाधनी पुर्जा भने औद्योगिक क्षेत्रसँग छैन ।

सबै दलको सहमतिमै २०७३ वैशाख २९ मा यहाँको ८ सय १३ बिघा मोतीपुर औद्योगिक क्षेत्र परियोजनाका नाममा पुर्जा बनेको छ । घनाबस्ती छाड्ने र बाँकी क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने सहमति छ । त्यसअनुसार बुटवल उपमहानगर र शुद्धोधन गाउँपालिकालगायतको करिब १ सय बिघा क्षेत्रफलमा बसेको पुरानो बस्तीको तथ्यांकसमेत संकलन गरिएको छ । ठूला संरचना र बस्ती त्यहीं व्यवस्थापन गर्ने र साना बस्ती स्थानान्तरण गर्नेबारेमा तीन तहकै सरकारबीच छलफल चलिरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन विभागले गत वर्ष १२ अर्ब लागतमा औद्योगिक क्षेत्र बनाउन डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेको थियो । उक्त डीपीआरका आधारमा तारबार गर्न रकमसमेत छुट्टिएको थियो ।

पहिलेदेखि नै विवादित बन्दै आएको यस जग्गामा दशैको मौका पारेर १५/२० दिनदेखि यहाँ जग्गा छेक्न भन्दै दिनदिनै दाङ, रुकुम, रोल्पा, म्याग्दी, धादिङबाट पनि मान्छे आइरहेका थिए । स्थानीयका अनुसार म्याग्दी र नारायणगढबाट त बस नै रिजर्भ गरेर मान्छे आएका थिए । आज मोतीपुरको रानीगन्ज, पत्थरगन्ज, हरिहरपुर, मगरघाट क्षेत्रमा एक हजारभन्दा बढी नै प्रहरी थिए । अझै पनि यहाँ लडाइँ र गोली चल्ने सम्भावना भनिएको छ । अतिक्रमण भएको त्यस प्रस्तावित औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको देखिन्छ तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?