दशैं

दशैं

त्यसो त दशैं चट्याङ बनेर खस्छ
दु:खका निधार हरूमा
दशैं खुसीका देउराली हरूमा बस्छ
शासकको आँगनमा गीत गाउँछ
यहाँ ओठका काप- कापहरूमा दशैं आउँछ
कसैका खुट्टाका छाप- छाप हरूमा दशैं आउँछ
पहिरो जसरी दशैं भोकको अनुहारमा आउँछ
घाउको सिमाना मिचेर दशैं चोटको निधारमा आउँछ
दशैं घरघरमा आउँछ बगरमा फाँटमा आउँछ
एउटा झुपडपट्टिमा
दशैं नदि किनारमा झोक्राएको डुङ्गा बनेर आउँछ
सेतीको पुलमुनि दशैं
केवल पोपलरको टुप्पोमा झुन्डिएको कंकाल बनेर आउँछ
वर्षाभरि खेतमा भासिएका खुट्टाहरूमा दशैँ
पुरानै तुना फाटेको चप्पल बनेर आउँछ
आलिमा चोबिएका औंलाहरूमा
रित्ता हातहरू बोकेर हरेक साल दशैं आउँछ
दशैं कालो रिबन खल्तीमा बोकेर आउँछ
हावाले हल्लाई रहेको पुरानो झण्डालाई
खतराको संकेत दिएर जान्छ ।
दशैँ जीवनको क्यानभासमा
नखुइलिने विभेदका बुट्टाहरू भरेर जान्छ
आहो ! निधारको आयतनमा
निर्भर छन् यहाँ आशीर्वादका स्वरूपहरू
वर्गचक्रका भित्ताहरू फुटाउँदै
घर- घरमा आगँन- आगँनमा उन्मादमा ओर्लिरहेछ दशैं
जब पेटलाई जिस्काउँदै झुल्न थाल्छन्
तिनीहरूका कित्तामा धानका पहेंला बालाहरू
तब कुनै माइक्रोअर्गानिज्म झैँ
दशैं भोको बोरामा पस्छ र उतै बिलाई जान्छ
बरफको टुक्रा जसरी आज सोध्न मन छ
कहिले आउँछ चुरापोते सँगसँगै
ओठबाट मुस्कान खोसिएकी बहिनीको दशैं
फोहोरको थुप्रोमा निदाएर
फूलहरूको सपना देख्दै गरेको बालकको दशैं
कुन क्यालेन्डरको कुन मितिमा पर्छ ?
खोइ मोहनाको किनारमा दशैं जहाँ आगो बग्छ ?
खोइ ती प्राचीन झुपडी हरूमा
दशैं जहाँको गरिबी जासुसी गर्दै
जुनले रात काट्छ
आउँदैन दशैं सुदूर किल्लाहरूमा
जहाँबाट पुराना जुत्ता हरूको एउटा मोर्चा
हरेक दिन सैपालको फेदबाट कालापहाड तिर झर्छ
जो सधैं नाना, खाना र छानाको अभावमा
सर्तक छ आफ्नै देशसँग
ओहो ! सिंहदरबारका खल्ती – खल्तीमा
हरेकदिन दशैं बालुवाटारका गेट- गेटमा
हरेक दिन दशैं लुकामारी खेल्दै -खेल्दै
दशैं नागार्जुनमा पनि आउँछ
आँखा चिम्लिदा मनभरि आफ्नै दशैं आउँछ
आँखा खोल्दा गाउँभरि अरूकै दशैं आउँछ
हो बाढी आउँछ पहिरो आउँछ
जस्तो कि दशैं आउँछ ।

हेमन्त शिशिर
कोहलपुर, बाँके

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?