घडीको एउटा सुई भएर

घडीको एउटा सुई भएर
(कविता)

नवीन अभिलासी

सूर्य भएर
मैले पृथ्वीलाई गरेको
प्रेम जस्तो भयो – सम्बन्ध ।
यस्तै भयो, हाम्रो भेट
बाढी भएर किनारलाई
सुम्सुम्याए जस्तो,
खुकुरीले अचानोलाई
चुम्बन गरे जस्तो ।
म बीच सडकमा खसेको औठी भएँ
तिमी अर्कैको हातमा पुगेको हात जस्तो ।
म भुईमा झरेको पात जस्तो भएँ-शिशिरको
तिमी बसन्तको पल्लव जस्तो
हतारै हतारमा, पिउँदा पिउँदै
कपमै छुटेको
कफिको म अन्तिम घुट्को भएँ
भन, तिमी के भयौँ ?
लुङ्दरको रंग जस्तो भएर म
तिम्रो स्मृतिको आँगनबाट
उडि जान चाहन्छु,
मध्यरातमा उल्का जस्तो खसेर
ब्रह्माण्डमा म कतै विलिन हुन चाहन्छु,
भाग्य यदि जिउँदो छ भने
नसिवकै रित्तो पानामा
म चिठ्ठी लेख्न चाहन्छु ।
म यतिबेला
स्याण्डलको तिखो कुर्कुच्चाले
बाटोमा छोडेको छाप हुँ ।
जुलुसबाट घर फर्किरहेको मानिसले
समाएको एक तुल ।
माटोमा गाडीएको घडीभित्र
विस्तारै छट्छटाइरहेको
एक मात्र सुई हुँ ।

हाल: कोहलपुर, बाँके

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?