बिदेशमा नेपालीका पर्व

भरत बहादुर रानाभाट

दशै आयो गयो
तिहार आयो गयो
न कुनै उमंग,
न कुनै उत्साह
उमंग र उत्साहको
गन्ध थाहा नपाई
पर्वहरु आए, अनि गए
विदेशकाे बास
परिश्रम नगरी
हात मुख जाेर्न नपाइने
मन भित्र
दशै र तिहार आएता  पनि
व्यवहारमा
कहिल्यै आउन पाउँदैन
बिरानो मुलुकमा
बिरानो बनेका सबै पर्वहरु
बिरानै छन् छिमेकी पनि
छिमेकी ,छिमेकी जस्ता हुँदैनन्
न मर्दा काम लाग्ने
न पर्दा काम लाग्ने
वल्लो घरकाले
पल्लो घर चिन्दैनन्
मन खाने आफ्नो कोही हुँदैन
एक्लै आफ्नो
परिवारसँग रमाउँनुकाे
अर्को विकल्प हुँदैन
यही हो दशै , यही हो तिहार
न बिदा पाइने ,न समय पाइने
न मखमली न सयपत्री
न भैली र देउसी
न टीका थाप्नेको लर्को
न आशिर्वाद
रातो टिका निधारमा लगाई
ऐनमा हेरे पछि खिचिक्क
फाेटाे खिचेर
फेस्बुकामा पोस्ट गरेपछि
सक्कियो यसपटकको दशै
सक्कियो यसपटकको तिहार
विदेशमा सधैं यसरी नै
बित्ने गर्छन् पर्वहरु
टीका पुछेर
काममा जादा होस् वा
काम बाट राति अबेर
फर्केर आई
टीका लगाउँदा  होस्
मन खिन्न हुन्छ
राैनक हराउँछ
तर पनि अब बानी परिसक्यो
न आफ्ना न आफन्त
न वल्लो घर न पल्लो घर
न भाषा बुझिने न संस्कार बुझिने
मान्छे मान्छे नै हुन
तर मान्छे जस्ता हुँदैनन्
आफ्ना जस्ता हुँदैनन्
छैन केही रौनक
छैन केही उत्साह
सबै कुरा मनमा राखेर
विरहका कुरा,
आँसुका कुरा ,
हाँसोका कुरा
मनभित्रै दबाएर
परिश्रमकाे पुजा गर्नु पर्छ यहाँ
जहाँ भएपनि
जसरी मनाए पनि
बडा दशै र भाइ टीका
खुसीले मनाएँ
परिश्रम र मेहनतकाे
कमाइमा रमाएर
आफ्नो परम्परालाई
जाेगाउदै
पर्वहरुलाई परिवार
भित्र मात्र
सिमित रखेर भएपनि
सात समुन्द्र पारी रहेका सबै
नेपालीले आफ्नो
परम्परा संस्कार र
संस्कृति यसरी नै
जाेगाएका छन्
मेराे देश मेराे मनमा छ
मेराे देशकाे माया
मेराे मुटु भित्र छ
मेराे पर्व र संस्कार
मेरो साथमा छ
आखिरी जहाँ भए पनि
गर्नु पर्ने  त्यही नै हो
नेपाली हुनुमा यसैमा गर्व  छ

नेपालगन्ज
हाल: फ्लोरिडा अमेरिका

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?